बागलुङ/ नेपाली कांग्रेस बागलुङ नगरपालिकाको नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा सम्मान गरिएको छ । नेपाली कांग्रेस बागलुङ नगरपालिका १३, पैयुँपाटा र १४, नारायणस्थानले सभापतिसहित पदाधिकारी र सदस्यहरुलाई बधाइ तथा सम्मान गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेस बागलुङका सभापति हरिप्रसाद श्रेष्ठले नवनिर्वाचित समिति नगरपालिकामा बलियो कांग्रेस निर्माण गर्न जुझारु नेतृत्व स्थापित भएको बताए । उनले अधिवेशनका समयमा जे जस्तो भएर पनि कांग्रेसलाई पहिलो बनाउने अभियानमा सबै एक जुट हुनुपर्ने बताए ।
नवनिर्वाचित नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ले कांग्रेसलाई बलियो संगठनको रुपमा स्थापित गर्नका लागि आम कार्यकर्ताकै दरिलो साथ आवश्यक रहेको बताए । ‘अधिवेशनको समयमा २ भएर प्रतिस्पर्धा भए पनि त्यो प्रतिस्पर्धा अधिवेशनसँगै अन्त्य भएको छ,’ उनले भने । उनले सवैको सल्लाह बमोजिन नै संगठन विस्तार र पार्टीका गतिविधि सञ्चालन गर्ने बताए ।
जैमिनीमा पदस्थापन
नेपाली कांग्रेस जैमिनी नगरपालिकाको नवनिर्वाचिन कार्यसमितिलाई पदस्थापन गरिएको छ । शनिबार निवर्तमान सभापति काशिराम आचार्यले नवनिर्वाचित सभापति प्रेम सापकोटालाई जिम्मेवारी हस्तान्तरण गरेका छन ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला पूर्व जिल्ला सभापति हरिप्रसाद श्रेष्ठले अधिवेशनको समयमा समूह भएर निर्वाचन भए पनि त्यही समयबाट भुलेर कांग्रेसलाई थप ससक्त बनाउन लाग्नुपर्ने बताए । उनले संगठन बलियो बनाउनका लागि सवैको साथ अपरिहार्य रहेको बताए ।
कार्यक्रम नवनिर्वाचित सभापति प्रेम सापकोटाले निवर्तमान सभापतिले गरेका कामलाई निरन्तरता दिँदै जैमिनी नगरपालिकामा काँग्रेसको संगठनलाई थप जुझारु बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले सवै सँगको सहकार्यमा पार्टीलाई चलयमान गराउने बताए ।





