पोखरा/ नेपाल फिफा वरियताको १ सय ६९ औं स्थानमा झरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको वरियतामा नेपालको वारियता खस्किँदा एक स्थान तल झरेको हो । यसअघि भदौ ३१ गते सार्वजानिक ग्रिएको फिफा वरियतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको थियो ।
माल्दिभ्समा सम्पन्न साफ च्याम्पिनसिपमा नेपालले कुल ५ खेल खेलेको थियो । जसमा दुई खेलमा जीत, एक बराबरी र दुई खेलमा हार बेहोरेको थियो । एक महिनाअघि भदौमा घरेलु मैदानमा नेपालले भारतविरुद्ध २ मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा एउटा बराबरी र अर्कोमा हार ब्यहोरेको थियो ।
साफ च्याम्पिनसिपमा पनि नेपाल भारतसंग फाइनलसहित दुई पटक हार्न पुगेको थियो । नेपालले साफ च्याम्पियनसीपको फाइनलमा असोज ३० गते ३–० को हार ब्यहोरेको थियो भने त्यसअघि राउन्ड रोविनअन्तर्गत असोज २४ गतेको खेलमा १–० को हार ब्यहोरेको थियो । असोज १५ मा माल्दिभ्सलाई १–०, असोज १६ मा श्रीलंकालाई ३–२ ले हराएको नेपालले असोज २७ गते बंगलादेशसँग १–१ को बराबरी गरेको थियो ।फिफा विश्व वरियतामा बल्जियम शीर्षस्थान र ब्राजिल दोस्रो स्थानमा कायम रहेका छन् । फ्रान्स तेस्रो र इटाली चौथो स्थानमा उक्लँदा इग्ल्यान्ड पाँचौं स्थानमा झरेको छ । अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र डेनमार्क दसौं स्थानमा रहेको छ ।





