आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

समयमै काम सुरु भएन, लगानी गुम्ने खतरा !

समयमै काम सुरु भएन, लगानी गुम्ने खतरा !

प्रदेश सरकार आफ्नो दायित्व पूरा गर्छ, भाग्दैन : मुख्यमन्त्री


  • विजय नेपाली
  • कार्तिक ७ २०७८, आइतबार

टेक्निकल सेन्टरमा ५ हजार दर्शक क्षमतासहितको प्यारापिटयुक्त मुख्य फुटबल मैदान, प्राकृतिक मैदान, स्विमिङपुल, रेस्टुरेन्ट,पुस्तकालय, जिमहल, सभाहललगायत बन्ने योजनामा उल्लेख छ ।

पोखरा/कास्कीको माछापुच्छे« गाउँपालिका ६, भेंडाबारीमा बन्न लागेको एन्फा टेक्निकल सेन्टर सरकारी प्रक्रियाका कारण अझै बन्न सकेको छैन । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को लगानीमा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको एन्फा टेक्निकल सेन्टरको काम ३ वर्षदेखि ठप्प भएको हो ।

दक्षिण एसियामै सबैभन्दा ठूलो नमुना प्रोजेक्टको रुपमा फिफाले नेपालमा लगानी गर्न लागेको हो । परियोजना ठूलो भएको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्ने भएको छ । मूख्य फुटबल एरिनासहितको एन्फा टेक्निकल सेन्टरको डिपिआर २ वर्षअघि नै बनेको थियो । तर, तर, सरकारले समयमै इआइए प्रक्रिया अघि नबढाउँदा ३ वर्षमा पनि योजना अघि बढ्न सकेको छैन ।

२०७६ सालमा नेपालले प्रोजेक्ट पाएको थियो । दक्षिण एसियामै फिफाको यो सबैभन्दा ठूलो लगानी हो । जसका लागि फिफाले १७ अर्ब रुपैयाँ सहयोग गर्दैछ । सहयोग पाउने भएपछि अखिल नेपाल फटबल संघ (एन्फा) ले संघमा आबद्ध ४८ जिल्लामा परियोजना बनाउनेबारे जानकारी गराएको थियो । जसमा कास्की जिल्लाले आवश्यक जग्गा उपलब्ध गराउन सक्ने भएपछि टेक्निकल सेन्टर बनाउने योजना अघि सरेको थियो ।

फिफाअन्तर्गतको उक्त परियोजनाका सम्पूर्ण काम सकिए पनि वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनमात्रै एन्फाको हात पर्न बाँकी छ । प्रतिवेदन आएसँगै परियोजना टेन्डर प्रक्रियामा जानेछ र शिलान्यास हुनेछ । फिफा ड्रिम प्रोजेक्ट कोर्डिनेटर गोकुल थापाले वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनका कारण काम अघि बढ्न नसकेको बताए । उनले शुक्रबार परियोजनाबारे जानकारी दिँदै उक्त कुरा बताएका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले ड्रिम प्रोजेक्ट निमार्ण हुने स्थानको स्थलगत निरीक्षण गरेका थिए । सोही क्रममा थापाले ड्रिम प्रोजेक्ट कसरी बनाउने र कस्तो बन्ने भन्ने विषयमा प्रकाश पारेका थिए । ‘हाम्रो तर्फबाट सबै काम सम्पन्न भएका छन् । सरकारी तवरबाट कागजपत्र आउने काममात्रै बाँकी रहेको छ,’ थापाले भने, ‘यो निकै सुन्दर स्थानमा पनि बन्न लागिरहेको छ । फिफाका प्रतिनिधिहरुले पनि यसलाई मन पराएका छन् ।’

फिफा सहयोग गुम्ने खतरा !

परियोजना २०२२ भित्रै सुरु हुनुपर्नेछ । अन्यथा यो लगानी नेपालले गुमाउने खतरा छ । परियोजना पहिलो, दोस्रो, तेस्रो र चौंथो चरणमा गरी सम्पन्न हुने उनले जानकारी दिए । उनका अनुसार यो वर्षभित्रै शिलान्यास हुने जानकारी आएको बताए ।

केही व्यक्तिले बाढीपहिरो आउने स्थान भन्दै उजुरी फिफालाई दिएका पनि थिए । यद्यपि, पदाधिकारी स्वयं उपस्थित भएर मूल्यांकन गरी बिहीबारमात्रै उक्त विषयको प्रतिवेदन फिफामा पुगेको उनले सुनाए । ‘बाढी आउने ठाउँ भन्दै उजुरी दिएका थिए । तर, अनुसन्धान गरी हिजो बेलुका मात्रै फिफामा प्रतिवेदन पुगेको छ,’ उनले भने ।

‘स्थानीयको अवरोध छैन, काम सुरु भएन’

उता, माछापुच्छे« गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङले परियोजनाको भौतिक काम सुरु नहुँदा स्थानीयले आफूलाई बारम्बार प्रश्न गर्ने गरेको बताए । उनले स्थानीयको कुनै अवरोध नभए पनि बेलैमा काम सुरु हुन नसकोको सुनाए ।
‘स्थानीयबाट केही अवरोध छैन । बरु परियोजनाका लागि केहीले जग्गा दानसमेत गरेका छन् । मलाई स्थानीयवासीले किन बनेको छैन भनेको भन्यै छन्,’ अध्यक्ष गुरुङले भने, ‘यो परियोजना हाम्रो लागि स्वागत योग्य रहेको छ ।’ उनले गाउँपालिकाको तर्फबाट ५० लाखको तट्बन्धको काम सकिइसकेको सुनाए ।

‘तटबन्धका लागि कुल ४ करोड ५० लाख रुपैयाँ लागत निस्किएको छ । गाउँपालिकाबाट ५० लाख रुपैयाँ र निर्वाचन क्षेत्र विकास कोषबाट ५० लाख रुपैयाँ छुट्टिएको हो’, गुरुङले भने । प्रदेश सरकारले पनि यसका लागि आवश्यक सहयोग गर्नपर्ने उनले बताए ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले परियोजना सफल पार्न प्रदेश सरकारको साथ आवश्यक रहेको बताए । उनले मर्दी र इदी खोलाको बीचमा पर्ने भएकाले तट्बन्ध लगाउन सहयोग गरिदिन आग्रह गरे । ‘यो धेरै ढिला भइसक्यो । अब पनि ढिला हुन गयो भने स्थानीयले हामीलाई नै लखेट्छन्’, उनले भने ।

एन्फाले ४ चरणमा काम सक्नेछ । पहिलो चरणमा १७ करोड ५५ लाख रुपैयाँ छुट्टिएको छ । पहिलो चरणअन्तर्गत अभ्यास मैदान, छात्रवास, अभ्यास ब्लक, कार्यकारी क्वार्टर ब्लक, अतिथि क्वार्टर ब्लक, ओपन फुट कोर्ट, सुरक्षा गार्ड भवन, शौचालय तथा चौतर्फी बार लगाउने काम रहेको छ ।

टेक्निकल सेन्टरमा ५ हजार दर्शक क्षमतासहितको प्यारापिटयुक्त मुख्य फुटबल मैदान, प्राकृतिक मैदान, २ कृत्रिम मैदान, २ बालुवा मैदान, स्विमिङपुल, रेस्टुरेन्ट,पुस्तकालय, जिमहल तथा सभाहल रहने योजनामा छ ।

प्रदेश सरकारको दायित्व पूरा गर्छौंः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रस्तावित परियोजनाका लागि प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने सहयोग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्थलगत निरीक्षण गर्ने आफ्नो चाहाना ढिला भएपनि पूरा भएको सुनाउँदै प्रदेश सरकारको दायित्वभित्र पर्ने काम पूरा गर्ने बताएका हुन् ।

‘गण्डकी सम्भावना बोकेको प्रदेश हो । सम्भावनामध्ये पर्यटन प्रमुख हो । विश्वकै लोकप्रिय खेल फुटबलले यहाँ पर्यटन भित्राउन ठूलो भुमिका खेल्छ । यो परियोजनालाई हामीले लौरोको रुपमा लिएका छौं,’ उनले भने, ‘प्रदेश सरकारको सिंगो दायित्व हो । यसबाट प्रदेश सरकार भाग्दैन । हामीले यसलाई सहर्ष स्वीकार्छौं ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->