पोखरा/ वाइवाई यु १९ गण्डकी प्रदेश क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिता आइतबारदेखि पोखरा रंगशालामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले स्याङ्जामाथि ३ विकेटको जित निकालेको छ ।
टस जितेर ब्याटिङ गरेको स्याङ्जाले ३८ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ३२ रन जोडेको थियो । स्याङ्जा विष्णु पाण्डेले ३० तथा सुजन गौतमले १९ रनको पारी खेले । कास्कीका बलरहरु अभिषेक थापा र किरण पौडेलले ३÷३ विकेट लिए ।
जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको कास्कीले ३० ओभरमा ७ विकेट गुमाएर जित हासिल ग¥यो । कास्कीको तर्फबाट म्यान अफ द म्याच अर्जुन कुमालले ७० बलमा ६९ रनको महत्वपूर्ण योगदान दिए । उनको पारीमा ११ चौका सामेल थियो ।
स्याङ्जाका सन्दीप खत्रीले ३, करण पंगेनीले २ तथा टीकाराम गौतम र तुल्सीराम भण्डारीले १÷१ विकेट लिए । राउण्ड रोविनको आधारमा छ दिनसम्म चल्ने प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर र स्याङ्जा गरी चार टिमले भाग लिएका छन् ।
यसअघि प्रतियोगिताको गण्डकीका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले उद्घाटन गरेका थिए । उनले अन्य खेलको तुलनामा क्रिकेट खेलमै बढी सम्भावना देखिएको बताए ।





