आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भलिबलकी कप्तान अरुणा शाहीलाई शेरबहादुर खड्का स्पेसल अवार्ड

भलिबलकी कप्तान अरुणा शाहीलाई शेरबहादुर खड्का स्पेसल अवार्ड


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०७८, आइतबार

म्याग्दी/शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई शेरबहादुर खड्का स्पेसल अवार्ड–२०७७ बाट शनिबार सम्मान गरेको छ । प्रतिष्ठानले अरुणालाई ५० हजार रुपैयाँ र ट्रफीसहित गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरेको हो ।

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, प्रतिष्ठानकी संरक्षक गमली खड्का, प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का, नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, पेन्ट डिलर्स एसोसिएसनका अध्यक्ष रामचन्द्र खत्री र यानलग इंकका सीएफओ सन्तोष पाण्डेले अरुणालाई सम्मान गरे ।

अरुणालाई यानलग इंकबाट स्मार्ट वाच र इटालियन सुट पिस, सुलक्स सेन्टरबाट टिसर्ट र घडी तथा धुलिखेल लज सिसोर्टबाट एकदिनको प्याकेज प्रदान गरिएको थियो । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्ले निवासी अरुणा शाहीले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन् ।

राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी अरुणाको कप्तानीमा नेपालले बंगलादेशको ढाकामा भएको प्रथम बंगमाता एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबलमा स्वर्ण तथा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेको थियो भने गतबर्ष स्पोर्ट अवार्ड तथा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री महिला भलिबल उपाधी समेत दिलाएकी थिईन् ।

प्रतिष्ठानले खेलकुद क्षेत्रमा भलिबल खेलाडी सम्मानका साथै महिला भलिबल प्रतियोगिता आयोजना र भलिबल खेलाडीलाई छात्रवृत्ति पनि प्रदान गर्दै आइरहेको छ । त्यस्तै प्रतिष्ठानले महिला राष्ट्रिय भलिबल टोली र न्यु डायमन्ड स्पोर्टस् क्लबलाई खेल पोशाक पनि प्रदान गरेको थियो । सामाजिक र खेलकुद क्षेत्रमा गरेको कार्यको मूल्यांकन गर्दै नेपाल सरकारले प्रतिष्ठानलाई विभूषित गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->