पोखरा\यतिबेला पोखरामा यु–१८ आइटिएफ विश्व वारियता टेनिस भ्रमण जे–५ प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा आयोजक नेपालसहित विश्वका ९ राष्ट्र सहभागी छन् ।
अमेरिका, ब्राजिल, रसियालगायत १९ राष्ट्रका १ सय १९ जना खेलाडीसहित उनका परिवार सदस्यसमेत उपस्थित छन् । प्रतियोगितामा विकसित राष्ट्रमात्रै नभई टेनिसमै विश्वकै अब्बल राष्ट्रहरुको सहभागिता भइरहँदा पनि दर्शक संख्या कम छ ।
लनटेनिस विश्वकै महंगो खेलमध्येको एक हो । अधिकांश देशमा टेनिसको लोकप्रियता निकै छ । तर, नेपालमा भने टेनिस रुचाउनेको संख्या कम छ ।
तर, टेनिस खेल गण्डकी प्रदेशकै खेल पर्यटनको विकास गर्न एक दरिलो आधार हुने सम्भावना देखिएको छ । गण्डकी प्रदेश खेलकुद मन्त्रालयले भने टेनिसमा पर्यटनको प्रचुर सम्भावना खोज्न थालेको छ ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको राजधानीको रुपमा विकास गर्न चाहिरहेको खेलकुद मन्त्रालयले यहाँका शाहसिक खेलबाहेक टेनिसलाई पनि पर्यटनको सम्भावना देखिरहेको छ । युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले पर्यटनमा ठूलो भुमिका खेल्ने खेल टेनिस रहेको बताए ।
मन्त्री गुरुङले टेनिसले पोखरा मात्र नभइ प्रदेशकै पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्न सहयोग गर्ने बताए । ‘पोखरामा यति राम्रो यति ठूलो प्रतियोगिता भइरहेको रहेछ तर हामीलाई पत्तै छैन । यो प्रतियोगिता मात्रै होइन यो त यहाँको पर्यटन व्यवसायीको आर्थतन्त्र वृद्धि गर्ने खेल हो,’ उनले भने, ‘यो खेल धनीहरुले खेल्ने खेल हो । त्यसैले यो खेलमा आउने साना खेलाडीहरु भए पनि पर्यटक हुन । नेपालको प्रचार गर्न सकियो भने हाम्रो पर्यटन क्षेत्रको ठूलो प्रचार हुन्छ ।’
प्रतियोगितामा सहभागि खेलाडीसहित उनीहरुका परिवार गरी करिब ३ सय भन्दा बढी विदेशी हाल पोखरामा छन् । खेलकुदमन्त्री गुरुङका अनुसार पोखरामा अझ स्तरीय मैदान बनाउन सके विश्वको सिनियर खेलाडीको प्रतियोगिता आयोजना गर्न सकिने बताए ।
‘टेनिसको यो कोर्ट विश्वमै राम्रो मध्यमै पर्ने रहेछ । मैले खेल हेरें, त्यहाँ साना खेलाडीले समेत निकै राम्रो खेल खेलेका थिए,’ उनले भने, ‘आखिर भविष्यमा त यिनीहरु नै विश्वका टप खेलाडी हुने हुन् । हामीले यहाँ टेनिस कोर्ट निमार्णका लागि थोरै भएपनि सरकारको तर्फबाट सहयोग गर्नेछौं ।’
प्रदेश खेलकुद सदस्य सचिव तेज गुरुङले विश्वभरका खेलाडी सम्मिलित प्रतियोगिताको प्रचार हुन नसकेको स्वीकारे । प्रचुर सम्भावना बोकेका खेल आम नागरिकसम्म पु¥याउनुपर्ने उनको धारणा यिो ।
‘सम्बन्धित खेलसंघले टेनिसलाई अब आम रुपमा लैजान सक्नुपर्छ,’ उनले भने, ‘अब टेनिस संघले केही नभएपनि हप्ताको एकदिन निशुल्क टेनिस प्रशिक्षण राखेर खेलबारे सबैलाई जानकारी दिनुप¥यो ।’
पोखरा रंगशालामा चलिरहेको प्रतियोगिता डिसेम्बर ११ सम्म चल्ने आइटिएफ प्रतियोगिता डाइरेक्टर चिफ अजय विष्टले बताए ।





