पोखरा/खेलाडीले १ खेल खेलेपछि आरामको समय भनेको थोरैमा पनि २४ घण्टा हो । लगातार खेल्दा खेलाडीमा उर्जा रहँदैन । खेल स्तर घट्छ । फाइनल खेल र सेमिफाइनल खेलमा खेलाडी मानसिक र शारीरिक रुपमा बलियो रहन पर्दछ । सेमिफाइनल र फाइनल खेल सामान्य हुँदैन । खेलाडीले आफ्नो भएको सम्पूर्ण शक्ति लगाएर खेलेकै हुन्छ । उनीहरुको लागि आराम निकै महत्वपूर्ण हुन्छ ।
तर, नेपालकी सलोनी तामाङले भने २४ घण्टामा ४ खेल खेलिन् । त्यो पनि २ सेमीफाइनल र ४ फाइनल खेल । लगातार खेल्दै च्याम्पियन बन्न सफल रहिन् । शुक्रबार व्यक्तिगत प्रतिस्पर्धामा भारतसँग भिड्दै फाइनल प्रवेश गरेकी सलोनीले शनिबार व्यक्तिगत स्पर्धामा फाइनल तथा सामुहिक तर्फको सेमिफाइनल र फाइनल खेल खेलिन् । उनले सबै खेलमा जित निकाल्दै उपाधि हात पारिन् ।
उनी जुनिएर आइटिएफ वल्र्ड टेनिस टुरको व्यक्तिगत तथा सामूहिक तर्फ च्याम्पियन बन्न सफल भइन् । व्यक्तिगत महिला प्रतिस्पर्धामा सलोनीले भारतकी हान्नह नागपाललाई हराउँदै स्वर्णपदक हात पारिन् । सनोली सामु नागपाल निरीह बनिन् । सलोनीले पहिलो सेट ७–५ ले आफ्नो पक्षमा पारिन् । एक समय ५–२ ले पछि परेकी सलोनीले खेलमा एकाएक हाबी हुँदै उल्टै ७–५ ले जित आफ्नो नाम गराइन् । दोस्रो सेटमा भने नागपालले कुनै अंक जोड्न सकिनन् । दोस्रो सेटमा सलोनीले ६–० को सेटमा हराउँदै स्वर्णपदक आफ्नो पक्षमा पारिन् । नागपालले रजत पदक प्राप्त गरिन् । विजेतासंगै सलोनीले ३० अंक बटुलेकी छिन् । नागपालले भने १८ अंक प्राप्त गरिन् ।
यसअघि शुक्रबार सलोनीले सेमिफाइनल खेलमा भारतकी सुकमणी भण्डारीलाई हराउँदै फाइनलको यात्रा तय गरेकी थिइन् । नागपालले भने सेमिफाइनलमा मेहेर मिश्रलाई हराउँदै फाइनलमा सलोनीसंग भेट गरेकी थिइन् ।
सलोनीले चार खेल खेल्दा निकै थाकेको बताइन । भारतसँग व्यक्तिगत प्रतिस्पर्धामा च्याम्पियन बन्नका लागि खेल्दा नै उनले कम्ब्याक गरेकी थिइन् । ‘हिजो पानी परेर हाम्रो खेल हुन पाएन । हिजो खेल नहुदाँ आज खेल्न प¥यो’, सलोनीले भनिन्,‘ आयोजकलाई पनि खेल आजै सक्नुपर्ने बाध्यता थियो । धेरै थकान हुँदाहुँदै पनि जित्नु मेरो लागि महत्वपूर्ण थियो र सफलता पनि पाएँ ।’ उनले फाइनल र सेमिफाइनलमा भारतको सामना गर्नुपरेको थियो । ‘सबै टिम भारतसँग हारिरहेको थियो । निकै डर लाग्यो तर, आत्मबल हारिन् थकाइको वेवास्ता गरँे’,उनले थपिन्,‘नेपालमा टेनिसको सम्भावना छ । यसको प्रचार प्रसार हुन सकिरहेको छैन् प्रचार प्रसार भए लोकप्रियता हुन्छ अनि खेलको महत्व अझ बढ्छ ।’
उता महिला समूहगततर्फ नेपालकै खेलाडीबीच फाइनलमा भिडन्त भएको थियो । उक्त खेलमा अभिलाषा विष्ट र सलोनी तामाङकै जोडीले इशाश्री शाह र श्रवणी श्रेष्ठको जोडीलाई हराउँदै स्वर्ण जितेका हुन् । अभिलाषा र सलोनीको जोडीले शनिबार नै भारतकी दिव्या भाटिया र मेहेर मिश्रको जोडिलाई सेमिफाइनलमा हराउँदै फाइनल प्रवेश गरेका हुन् ।
पुरुष व्यक्तिगततर्फ स्विडेनका इमिलियो गिएलोस्कीले स्वर्णपदक हात पारे । उनले भारतका दकस प्रसादलाई ६–२, ५–७ र ७–६ को सेटमा हराउँदै उपाधि चुमेका हुन् । पुरुषतर्फको सामूहिक प्रतिस्पर्धामा अमेरिकाका एमेथ्रि बारोट र सिद्धार्थ लामाको जोडिले स्वार्ण जिते ।





