पोखरा/ पोखरा रंगशालामा सोमबारदेखि जुनियर आइटिएफ वल्र्ड टेनिस टुर सर्किट २ सुरु हुने भएको छ । रंगशालास्थित लन टेनिस कोर्टमा हुने प्रतियोगिता मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ ।
शनिबारमात्रै पोखरा रंगशालामा जुनियर आइटिएफ वल्र्ड टेनिस टुर सकिएको थियो । उक्त खेलमा नेपालले महिलातर्फको व्यक्तिगत र सामूहिक तर्फ स्वर्णपदक जित हात पार्न सफल भएको थियो । पहिलो सर्किट सकिएसँग दोस्रो सुरु हुन लागेको हो ।
प्रतियोगितामा नेपालसहित ११ राष्ट्र सहभागी छन् । सर्किट २ मा नेपालका २९ सहित कुल ८८ खेलाडीले व्यक्तिगत तथा सामूहिकतर्फ प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिता डाइरेक्टर अजय विष्टले नेपालका २९ सहित अमेरिकाबाट ६, बेल्जियम, ब्राजिल, इजरायल र रसियाबाट २÷२ खेलाडी, भारतबाट ४१ र हंगेरी, स्विडेन, पोल्यान्डबाट १÷१ जना खेलाडीको सहभागी हुने जानकारी दिए ।
कोरोना महामारीका कारण प्रतियोगिताका लागि १ सय ८० भन्दा बढी विदेशी खेलाडीले अन्तिम समयमा नाम फिर्ता लिएको कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङले जानकारी दिए । उनले टेनिस खेलको विकासले पोखराको पर्यटनमा समेत ठूलो टेवा पुग्नेमा विश्वास रहेको बताए ।
गुरुङले विश्वकै भविष्यका नम्बर एक खेलाडीहरुको उपस्थिति रहेको कार्यक्रममा कसैको अभिभावकत्व नपाएको गुनासो पोखे । ‘हामीलाई आवस्श्क सहयोग कसैको पनि छैन । विश्वका जुनियरमा पनि उत्कृष्ट खेलाडीहरुको मात्रा सहभागिता भएको यो खेलमा आफैं खेलाडी, आफैं दर्शक र आफैं सहयोग दातामात्रै छन्,’ उनले भने, ‘हामीले अन्तराष्ट्रिय प्रतियोगिता गरिरहँदा विदेशबाट खेलाडीसँग कम्तिमा पनि उनका परिवारहरु आएका छन् । यसलाई हामीले राम्रो सुविधा दिन सक्यौं भने भावी दिनमा टेनिस हेर्न टिकट काटेर आउनेछन् ।’
गण्डकी प्रदेशका सदस्य सचिव तेज गुरुङले टेनिस खेललाई लोकप्रियता बनाउन आवश्यक रहेको बताए । गण्डकी प्रदेशलाई खेल पर्यटनको राजधानी बनाउनका लागि यस्ता किसिमका अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताले नै खेलकुदका साथसाथै यहाँको पर्यटनबारे खेलाडी र उनका परिवारहरुले स्वदेश गएपछि अरुलाई सुनाउँदा पर्यटनको सम्भावना बढ्ने बताए । नेपालमा अधिकांश सार्क राष्ट्रहरुबीचको मात्रै प्रतियोगिता हुँदै आउँदा टेनिसमा भने विश्वका विकसित मुलक देखिसमेत खेलाडी आएको बताए ।
दोस्रो सर्किटको व्यक्तिगत तथा सामुहिक तर्फका खेलाडीले विश्व टेनिस वारियताका लागि अंक जोड्ने छन् भने स्वर्ण पदक प्राप्त गर्नेछन् ।





