तनहुँ/ऋषिङ गाउँपालिकाले आयोजना गरेको खुला अन्तर पालिकास्तरीय अध्यक्ष कप भलिबलको उपाधि बाग्लुङको गल्कोट नगरपालिकाले उचालेको छ । बुधबार ऋषिङको झापुटार खेल मैदानमा भएको फाइनल खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै गल्कोटले उपाधि उचालेको हो ।
निकै प्रतिष्पर्धात्मक खेलमा गल्कोटले ३–२ को सेटमा पराजित गर्दै शुक्लागण्डकीलाई दोस्रो ऋषिङ अध्यक्ष कपको विजेता बन्ने अवसरबाट वञ्चित गराएको छ । शुक्लागण्डकी गत बर्ष भएको पहिलो संस्करणको ऋषिङ अध्यक्ष कपको उपाधि विजेता हो ।
फाइनल खेलको पहिलो सेटमा गल्कोट शुक्लागण्डकी माथी हावि भयो । गल्कोटले शुक्लागण्डकीलाई पहिलो सेटमा २५–२१ को स्कोरमा पराजित गर्दै विजयी यात्रा सुरु ग¥यो । दोस्रो सेटमा खेल सुर्धादै शुक्लागण्डकी विजयी भयो । शुक्लागण्डकीले गल्कोटलाई २५–२२ को स्कोरमा पराजित गरेको हो । तेस्रो सेटमा गल्कोटले शुक्लागण्डकीलाई २५–२१ को स्कोरमा पराजित गर्दा चौथो सेटमा शुक्लागण्डकीले निकै उत्कृष्ट प्रर्दशन गर्दै २५–१५ को स्कोरमा जित दर्ता ग¥यो । पाँचौ सेटमा गल्कोटले शुक्लागण्डकीलाई १५–१२ को स्कोरमा पराजित गर्दै ऋषिङ अध्यक्ष कपको उपाधि रक्षा गरेको हो ।
गत चैतमा शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको मेयर कपको फाइनलमा गल्कोटसँग घरेलु मैदानमा भोगेको पराजयको बदला लिने अवसरबाट शुक्लागण्डकी चुकेको छ । उपाधिसँगै गल्कोटले नगद एक लाख ४० हजार रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता शुक्लागण्डकीले एक लाख रुपैयाँमा चित्त बुझाएको छ ।
मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा शुक्लागण्डकीले तनहुँकै भिमाद नगरपालिकालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । गल्कोटले स्याङजाको विरुवा गाउँपालिकालाई बुधबार विहान भएको दोस्रो सेमिफाइनलमा पराजित गर्दै शुक्लागण्डकीसँगको फाइनल भेट पक्का गरेको हो ।
सेमिफाइनलमा पराजित विरुवाले भिमादलाई हराउदै तेस्रो स्थान प्राप्त गरेको छ । विरुवाले भिमादलाई ३–२ को सेटमा पराजित गरेको हो । विरुवाले भिमादलाई २५–१७,२१–२५, ३०–२८, १३–२५ र १५–८ को स्कोरमा पराजित गर्न सफल भएको हो । विरुवाले ६० हजार र भिमादले ३० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र पाएको छ ।
विधागततर्फ गल्कोटका प्रकाश सुनार बेस्ट प्लेयर घोषित भए । शुक्लागण्डकीका प्रदिप गुरुङ बेस्ट स्पाइकर, विरुवाका सन्दिप खड्का बेस्ट डिफेन्डर, शुक्लागण्डकीका प्रेम कुमाल बेस्ट ब्लकर, गल्कोटका मिन नेपाली बेस्ट लिफ्टर र राजु विक बेस्ट सर्भर घोषित हुदैँ पुरस्कृत भए । विजेता समुह र खेलाडीलाई ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनुमाया थापाले पुरस्कृत गरेका हुन् ।
शनिबार सुरु भएको दोस्रो संस्करणको ऋषिङ अध्यक्ष कपमा गण्डकी प्रदेशका १६ समुह सहभागि भएका थिए ।





