आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फुटबल लिगको पोखरामा तालिका सार्वजनिक

फुटबल लिगको पोखरामा तालिका सार्वजनिक


  • विजय नेपाली
  • मंसिर २९ २०७८, बुधबार

पोखरा/ नेपालमा फुटबलको एउटामात्रै राष्ट्रिय लिग हुन्छ । ए डिभिजन क्लबहरु बीच हुने राष्ट्रिय लिग देशको राजधानी काठमाडौंमा मात्रै खेलाइन्छ । तर, यो वर्षदेखि लिगमा धेरै परिवर्तन भएको छ । अघिल्लो संस्करणमा रेलिगेसनसमेत नभएको भन्दै आलोचना खेपिरहेको एन्फाले अहिले होम एण्ड अवे (घर र बाहिर )को अवधारणा सुरुवात गर्ने प्रयास गरेको छ ।
र, एन्फाले यो अभियानको सुरुवात पोखराबाट गर्ने भएको छ ।

एन्फाले सोमबार पाँचौ चरणदेखि नवौँ चरणको खेल तालिका सार्वजानिक गरेसँगै पोखरामा ३ खेल हुने पक्कापक्की भएको छ ।एन्फाले सार्वजानिक गरेको खेल तालिका अनुसार घरेलु टोली मनाङ मस्र्याङ्दीले पुस ३ गते नेपाल पुलिससँग पाँचौ चरणको खेलमा पोखरा रंगशालास्थित फुटबल एरिनामा भिड्ने छ । यस्तै सातौँ चरणअन्तर्गत पुस १७ गते मनाङले बिग्रेड ब्वाइजसँग खेल्दै छ भने तेस्रो तथा लिगको आठौँ चरणको खेलमा च्यासल युथ क्लबसँग खेल्दैछ ।
यतिबेला पोखरा फुटबल मैदान लिग खेलका लागि तयार पारिँदै छ । कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले पोखरामा हुने खेलका लागि मैदान तयार भएको र खेल पर्खिएर बसेको सुनाए । जारी लिगमा १४ टिमको सहभागिता रहेको छ । लिगबाट २ टिम रेलिगेसनमा पर्नेछन् । मनाङ जारी लिगे तालिकाको दोस्रो स्थानमा रहेको छ । मनाङले ४ खेलमा ३ जित र एक बराबरी खेल्दै १० अंक जोडेको छ ।

पोखरा तानिँदै फुटबल

पछिल्ला समय नेपाली फुटबलका ठुला खेलहरु पोखरा केन्द्रित हुँदै गइरहेका छन् । पोखरा रंगशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल एरिना बनेसँगै खेलहरु भइरहेका छन् । १३ औँ साफमा महिला फुटबल प्रतियोगिता निमार्णाधीन फुटबल रंगशालामा नै भएको थियो । पोखराले जुनियरदेखि राष्ट्रिय सिनियर टोलीसम्मको बन्द प्रशिक्षण गर्दै आइरहेको छ । मैदानको स्तरोन्नतिले यो सम्भव भएको हो । फुटबल गतविधि बढाउनुमा कास्की जिल्ला फुटबल संघको नयाँ नेतृत्वको पनि योगदान देखिएको छ । पोखरामा महानगर लिग, जिल्ला लिग हुँदै प्रदेश लिगसमेत सम्पन्न भएका छन् । नेतृत्व आलोचित छ तर काम पनि गरिरहेको छ ।

केन्द्रदेखि नै सुधारका काम हरुपनि भइरहँदा अहिले नेपालका ए डिभिजन क्लबहरुले एएफसी (एशियन फुटबल संघ) बाट क्लब लाइसेन्स लिने जस्ता कामहरु पनि गरेका छन् । सोही लाइसेन्सका लागि आवश्यक मापदण्डमा क्लबको आफ्नै खेल मैदान र एकेडेमी हुनुपर्ने बाध्यकारी नियमका कारण क्लबहरुले सोही अनुरुप अघिबढ्न थालेपछि मनाङ मस्र्याङ्दी क्लबले पोखरालाई घरेलु मैदान लिएको छ । पोखरा मनाङको घरेल्ु मैदान हो । क्लबको कार्यसमितिमा रहेर काम गरेका राजिव गुरुङ (दिपक मनाङे) पनि संयोगवश अहिले गण्डकी प्रदेशकै खेलकुदमन्त्री रहेका छन् । लिगलाई थप व्यवस्थित र परिमार्जित गर्दै लैजाने प्रयाससँगै होम अवेको अवधारणाले अहिले पोखराले थोरै भएपनि खेल खेलाउने अवसर पाएको छ ।काठमाडौंमा जन्मिएको मनाङ मस्र्याङ्दीको पोखरामा समर्थक पनि निकै छन् । समर्थककै कारण पनि क्लबले आधिकारीक रुपमा घोषणा नगरेपनि पोखरालाई घर मान्दै आएकै थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->