आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फाप्यो मनाङलाई घरेलु मैदान : उत्कृष्ट जीतसँगै शीर्षस्थानमा

फाप्यो मनाङलाई घरेलु मैदान : उत्कृष्ट जीतसँगै शीर्षस्थानमा

पहिलो हाफ बराबरीमा रोकिए पनि पुलिस दोस्रो हाफमा भने सम्हालिन सकेन । दोस्रो हाफमा रणनीति परिवर्तन गर्दै मनाङले समर्थकको मन जित्यो ।


  • विजय नेपाली
  • पुष ४ २०७८, आइतबार

पोखरा/शहिद स्मारक ए डिभिजन लिगमा सोचे अनुरुप प्रदर्शन गर्न नसकेको मनाङले घरेलु मैदानमा भने उत्कृष्ट जीत निकालेको छ ।
घरेलु मैदान पोखरा रंगशालास्थित फुटबल एरिनामा भएको खेलमा मनाङले पुलिसविरुद्ध ३–१ को फराकिलो जीत निकालेको हो । जीतसँगै १३ अंकका साथ मनाङ शीर्षस्थानमा उक्लिएको छ । जीतले मनाङलाई एएफसी कपका लागिसमेत सहज भएको छ । मनाङले ५ खेलमा ४ जी र १ बराबरी खेल्दै १३ अंक बटुलेको हो ।
मनाङको जीतमा कप्तान अञ्जन विष्ट नायक बने उनले २ गोलको योगदान दिए । यस्तै परिवर्तित खेलाडी निशान लिम्बुले थप एक गोल गर्दै मनाङको अग्रता फराकिलो बनाए । मनाङले खेलको १० औं मिनेटमै अग्रता लिएको थियो ।
डिफेन्डर दिनेश राजवंशीको लामो प्रहारमा पुलिसका गोलरक्षक रोशन खड्का अघि बढ्दै समाउन खोज्दा नभेटेपछि कप्तान अञ्जनले सहजै गोल गरेका हुन् । किपरको गल्तीको फाइदा उठाउँदै विष्टले गोल गरे । यस अघि चौथो मिनेटमा पुलिसका अजित भण्डारीको लामो पासमा रवि पासवानको प्रहारमा मनाङका गोलरक्षक विशाल सुनार बाधक बने । उनले पन्चगर्दै पुलिसलाई अग्रता लिनबाट जोगाए ।
२२ औँ मिनेटमा मनाङले पाएको कर्नरनको सदुपयोग गर्न सकेन । पुजन उपरकोटीले कटाएको कर्नरपासमा फ्रेन्कलिन कुवेते ताल्लाको हेड क्रसबार नजिकैबाट बाहिरियो । खेलको ३६ औँ मिनेटमा पुलिसले पेनाल्टीमार्फत् गोल गर्दै खेल बराबरीमा ल्याए ।
पुलिसका निरकुमार राईले बल अघि बढाउने क्रममा मनाङका डिफेन्डर सरोज योञ्जनले पेनाल्टी बक्समा लडाएपछि पुलिसले बराबरी गर्ने मौका पाएको हो । पुलिसका सुमन लामाले पेनाल्टीमा सहजै गोल गरे । पहिलो हाफ बराबरीमा रोकिए पनि पुलिस दोस्रो हाफमा भने सम्हालिन सकेन । दोस्रो हाफमा रणनीति परिवर्तन गर्दै मनाङले समर्थकको मन जित्यो ।
७३ औँ मिनेटमा पुलिसका डिफेन्डर सन्तोष हेमरममले डिएरिया नजिकै हातले बल छोएपछि मनाङले फ्रिकिकको अवसर प्राप्त गरेको थियो । उक्त फ्रिकिकमा अञ्जनले उत्कृट गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । विष्टले दोस्रो बार च्याप्दै ग्रास सट प्रहार गरेको बलले सिधै जाली चुम्यो । विष्ट खेलको मोष्ट भ्यालुएबल खेलाडी घोषित भए ।
खेलको ८३ औँ मिनेटमा निशान लामाले गोल गर्दै मनाङको जीत निश्चित गरे । मनाङका फरवार्ड अफिस ओलावालेले मैदानको आधाभागबाट बल अघि बढाउँदै गरेको प्रहार बारमा लाग्दै रिफ्लेक्ट भएको थियो । उक्त बलमा लामाले पुनः प्रहार गर्दै उत्कृट गोल गरे । लामा ५८ औँ मिनेटमा ओल्वावुन्मी सोमिडेको स्थानमा मैदान प्रवेश गरेका थिए । नेपाल पुलिसका निरकुमार राई उदीयमान खेलाडी घोषित भए ।
घरेलु मैदानमा फाइदा लियौं ः प्रशिक्षक फुजा
मनाङका मुख्य प्रशिक्षक टोपे फुजाले घरेलु मैदानको फाइदा लिएको बताएका छन् । फुजाले लिग इतिहासमा पहिलोपटक घरेलु मैदानको अवधारणा ल्याउँदा मनाङले त्यसको अपनत्व गरेको बताए ।
‘यो लिग पहिलो पटक राजधानी बाहिर भएको हो । हामीले पनि पहिलोपटक आफ्नो होम ग्राउन्डमा लिग खेल खेल्यौं,’ उनले भने,‘ पहिलो हाफमा सोचेअनुरुप खेल्न भने सकेनौँ, दोस्रो हाफमा हामीले खेल खेल्यौ र घरको फाइदा लियौं ।’
फुजाले पुलिस बलियो टोली भएको बताए । उनले टिमले दोस्रो हाफमा फ्रिकिक पाउनु नै भाग्यमानी सावित भएको स्पष्ट पारे । मनाङका ओलावालेले सोचेअनुरुप खेल खेल्न नसकेको उनले बताए । ‘पुलिस छिटो र छरितो खेल्ने टिम हो । हाम्रो होम ग्राउन्डमा खेलेको भएर हामीले फाइदा लियौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->