बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

मर्दी पर्यटनको अबको बाटो

मर्दी पर्यटनको अबको बाटो


  • दिवस गुरुङ
  • पुष ५ २०७८, सोमबार

मर्दी हिमालतिर कति होटलहरु बने, कुनै तथ्यांक छैन । खुला डाँडाकाडा सबै होटलहरुले भरिइसके । हिमाल हेर्ने खाली ठाउँ नै बाँकी हुँदैन कि भन्ने भइरहेको छ ।

बादल डाँडाबाट मास्तिर अर्को लोभलाग्दो डाँडा छ ।त्यहाँबाट देखिने हिमश्रृंखलाहरुको प्यानरोमिक भ्यूले जो कोहीलाई मन्त्रमुग्ध पार्छ । तर ,अहिले त्यहीडाँडाका सुन्दर चट्टानहरुमा केही युवाहरु घनले हिर्काइरहेका थिए । लागिरहेको थियो, हिर्काइरहेका थिए–मर्दीको काखमा !कोही भने डाँडालाई सम्याइरहेका थिए । जग बसाल्दै थिए । अनि ठड्याइरहेका थिए होटल । त्यो पनि बिना अनुमति । सम्बन्धित निकायको बिना स्वीकृति ।

अलिकति समतल भूभाग देखेपछि होटल बनाइहाल्ने ट्रेन्ड बसेको छ–मर्दी काखमा । डाँडा सम्याउन लागिहाल्छन्–रातारात । जग बसालेपछि बजारबाट प्रि–फेब्रिकेकेट वाल ओर्साछन् अनि हप्ता दिनमै तयार पार्छन् होटल । जति सहज तरिकारले प्रकृति माथिको दोहन बढिरहेको छ, त्यति नै कुरुप रुपमा यसले कालान्तरमा मर्दी पर्यायवरण र पर्यटनलाई धरापमा पारिरहेको छ । तर यसबारे चिन्ता कसको ? मर्दीको चिच्याहट कसले सुन्ने ? बेखबर छन् सबै ।
दिन दुई ,रात चौगुणा मर्दी क्षेत्रमा अवैधानिक रुपमासंरचनाहरु थपिरहेका छन् । भविष्य अन्योल छ । तैपनि चुनौती मोलेरै ऋण काढ्छन् व्यवसायीहरु अनि ठडाउँछन् होटलहरु । अव्यवस्थित प्रतिस्पर्धाले दिगो पर्यटन होला नहोला कसैले सोचेकासमेत छैनन् । फुर्सद पनि कसलाई छ र ? सपना बुन्दै ठीक्क छन् सबै ।धेरै पैसा कमाउने सपना ।

मर्दी पदमार्ग । मर्दी पर्यटनको त्यति लामो इतिहास पनि छैन । स्थानीय रैथानेहरुसँग मर्दी चर्चित हुनुको पनि कथा छ । सन् १९५६ ताका एक जना स्विस नागरिकले मर्दी पदयात्रा गरेका थिए । मर्दी क्षेत्रका धेरै फोटाहरु कैद गरे र प्रचार गरे । उनले खिचेको एउटा फोटो भने खुबै भाइरल बनेको थियो । सारा विश्वको ध्यान खिच्यो त्यो फोटोले । अनि त सन् १९८० देखि विदेशीहरु क्याम्पिङ ट्रेक गर्न ओइरिहाले ।

उहिलेको खर्क क्षेत्र हो यो । वर्खा लागेसँगै सिदिङ, ल्वाङ, घलेलका स्थानीयहरु भेडा, गाई, भैंसी लिएर उक्लन्थे माथि । अनि हिउँद लाग्नु अघि तल झर्थे । पर्यटकहरु बाक्लिन थालेसँगै तिनै गोठालाहरुले टि हाउस चलाए । पर्यटकहरुलाई चिया, कफी, कोक पिलाए । समयसँगै भेडीगोठ, खरको टि हाउस हुँदै होटलमा बदलियो । सँगै बदलियो स्थानीयहरुको जीवनस्तर पनि ।

मर्दी क्षेत्र एक्यापको स्वामित्वमा थियो । हरेक पर्यटकबाट शुल्क मात्र उठाउँदैन एक्याप, वार्षिक रुपमा प्रत्येक होटलबाट कर पनि लिन्छ । सुरुवाती दिनमा बनेका १० वटा टि हाउस र होटलहरु दर्ता भए ।अहिले यस पदमार्गमा ५० भन्दा बढी टि हाउस र होटलहरु बनिसकेका छन् । दश बाहेक बाँकी सबै अवैधानिक नै हुन् । कुनै पनि संरक्षित क्षेत्रभित्र सम्बन्धित निकायको बिना अनुमति कुनै पनि संरचना खडा गर्न पाइँदैन । कुनै पनि समय निकायले कारबाही गर्न सक्छ वा संरचनालाई भत्काउन पनि सक्छ तर गैरकानुनी रुपमा यहाँ निमार्ण कार्यहरु धमाधम भइरहेका छन् ।

कहाँ मिलेन त कुरा ?

स्थानीय सरकारको संरचना लागू हुनु अघि एक्यापको पूर्ण स्वामित्वमा थियो यो क्षेत्र । तर जब स्थानीय सरकार बन्यो, तब स्वामित्व ग्रहणका विषयमा धेरै अन्योलताहरु खडा भए । न एक्याप झुक्न सक्यो, न स्थानीय सरकार पछि हट्न । न दुवै ‘वीन वीन पोलिसी’ मार्फत नै अघि बढ्न सके । अनि मारमा परे पर्यटन व्यवसायीहरु । सँगै ढलमलायो यहाँको पर्यटन ।

यो आजको समस्या भने हैन, धेरै वर्ष यही समस्याबाट गुज्रिरहेको छ । तीन वर्षअघि लो क्याम्पमा अमृत तामाङले लो क्याम्प गेष्ट हाउसको जग बसाले । यस अगावै उनीलगायत अन्य दश व्यवसायीहरुले पनि एक्यापबाट होटल सञ्चालनका लागि मौखिक अनुमति पाएका थिए । उनले बजारबाट सिमेन्ट, बालुवा ओसारे । ढुंगा, काठहरु जम्मा पारे । अनि काम सुरु गरे । तर, होटल निमार्ण सुरु भइसकेको छ महिनापछि एउटा सूचना लो क्याम्पमा टाँसियो । सूचना थियो, पछिल्लो समय बन्दै गरेका संरचनाका कामहरु तुरुन्त रोक्नु । अनि ३५ दिनभित्र यस क्षेत्र खाली गर्नु । उनी छाँगाबाट खसेझैं भए । एकछिन त रन्थनिए पनि । त्यत्रो लाखौं रुपैयाँ र समय त उनले लगानी गरिसकेका थिए । त्यसको मूल्य कसले तिर्ने ? एक्यापले ? सरकारले ? उनीलगायत अन्य व्यवसायीहरु न्यायका लागि जिल्ला अदालत पुगे । मुद्दा दर्ता गराए । अनि गए कानूनी प्रक्रियामा । उनीहरुले जनही २५ हजार जरिवाना तिरे । धेरै पटक मुद्दाका लागि उनीहरु धाइरहे । तर, विषय झन् जटिल जटिल बन्दै गयो ।

काम रोकिएको ६ महिना बितिसकेको थियो । थुप्रेको सिमेन्ट बिग्रिन लागेको थियो । झ्याल ढोकाका काठहरु मक्किसकेका थिए । मुद्दाको कुनै निचोड ननिस्किएपछि उनीहरुले रोकिएको निमार्णधीन कामहरु पुनः सुचारु गरे । उनले गेष्ट हाउस सञ्चालन गरेको पनि वर्षले चार नाघिसक्यो । वैधानिक प्रक्रियाबाटै अघि बढेर सरकारलाई कर तिर्ने अनि व्यवसाय सञ्चालन गर्ने उनीहरुको सपना अझै पूरा भएको छैन।अझै उनीहरुका मुद्दाहरु विचाराधीन अवस्थामै छन् ।

यसले निम्त्याएका चुनौतीहरु :

त्यसपछि यस क्षेत्रमा कति होटलहरु बने, कुनै तथ्यांक छैन कसैसँग । न त कुनै निगरानी नै । खुला डाँडाकाडा सबै होटलहरुले भरिइसके । मन्त्रमुग्ध भएर हिमाल हेर्ने कुनै खाली ठाउँ भेट्न हम्मेहम्मे पर्छ आजकल ।
समय धेरै बितिसकेको छ । लो क्याम्पमा ९, हाइ क्याम्पमा १२, फरेष्ट क्याम्पमा १२ लगायत विभिन्न स्टेसनमा थ्रेसहोल्डभन्दा धेरै होटलहरु बनिसकेका छन् । पर्यायवरणलाई कति असर पर्छ, जीवजन्तुलाई कति चुनौती थपिएका छन्, प्रदुषण एवं वन फडानीको ग्राफ कतिले बढेको छ, कुनै लेखाजोखा छैन । न कसैलाई चिन्ता र सरोकारको विषय नै बनेको छ । यसले मर्दी पर्यटनलाई कालान्तरमा धरासायी बनाउनेछ । जसरी छोटो समयमा आम पर्यटकहरु माझ यो ब्रान्ड बनेर चुलियो, त्यसरी नै ह्वात्तै यसको स्तर घट्न सक्छ ।

अबको बाटो :

मर्दी पर्यटन व्यवस्थापनको समय धेरै घर्कीसकेको छ । समय जति बित्यो, त्यति नै जटिल बन्नेमा कुनै दुई मत छैन । एक्याप, स्थानीय सरकार र पर्यटन व्यवसायीबीच त्रिपक्षीय सहमति हुनु नितान्त जरुरत छ । लाखौं करोडौं लगानी गरेकाहरुलाई त्यतिकै अन्यायमा पारिनु हुँदैन । जति संरचनाहरु बन्नु बनिसके, तिनीहरुलाई आधिकारिकता दिएर समयमै नियम कानूनको दायरामा ल्याइनुपर्छ । बरु उठेको शुल्क र करबाट थप यस क्षेत्रको पर्यटनको व्यवस्थापन, पुर्वाधार विकास र स्तरोन्नतिमा खर्चिनुपर्छ । अनि अब बन्ने जुनसुकै संरचनाहरु प्रारम्भिक अध्ययन र अनुसन्धान पछि मात्र बनाइनुपर्छ ।

सबैलाई अवगतै छ, पोखराबाट सबैभन्दा छोटो समयमा हिमालको काखमा लडीबुडी खेल्दै फर्कन मिल्ने गन्तव्य यो बाहेक सायदै अर्को होला । मर्दी पर्यटनले गण्डकी प्रदेशको मात्र हैन, सिंगो देशकै पर्यटनलाई उकास्न टेवा पु¥याउन सक्छ ।त्यसैले मर्दी दिगो पर्यटनका लागि सबैको संयुक्त प्रयास जरुरत छ ।
जय पर्यटन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->