पोखरा/पुरुष एकल र पुरुष डबल्सतर्फ स्वर्ण तथा रजत पदक जितेपछि महानगर वडास्तरीय व्याडमिन्टन च्याम्पियन पोखरा महानगरपालिका वडा नं १६ बनेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको महानगर वडास्तरीय व्याडमिन्टनमा पुरुष एकल, पुरुष डबल्स तर्फ स्वर्ण पदक जित्दै वडा नं १६ च्याम्पियन बनेको हो ।
पोखरा रंशगालास्थित व्याडमिन्टन कभर्ड हलमा मंगलबार भएको फाईनल प्रतिस्पर्धामा पुरुष एकल तर्फ विशाल खड्का (१६)ले आफनै वडाका इशान खड्का(१६)लाई प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै स्वर्ण पदक जिते । विशन गुरुङ(१५) र रेशम आले(१७) तेस्रो स्थानमा रहे । पुरुष तर्फकै डबल्स तर्फ इशान र विशाल खड्का(१६)को जोडीले सोही वडाका विशाल बस्नेत र आशिष श्रेष्ठ(१६)लाई सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जिते । बस्नेत र श्रेष्ठको जोडीलाई खड्का दाजुभाइको जोडीले २१–१६,२१–१४ को सेटमा पराजित गरेका थिए । तेस्रो स्थानमा भने रविन गुरुङ र विशाल गुरुङ(१७) र विशाल हिराचन र रेशम आले(१७ं) चिक्त बुझाए ।
महिला एकल तर्फको स्वर्ण भने मेनका गुरुङ(१०)ले जितिन् । मेनकाले आकृति केसी(१०)लाई २१–१९,१७–२१ र २१–१९ को सेटमा पराजित गर्दै स्वर्ण चुमिन् । चन्द्रा छन्त्याल(१५) र शितल केसी(१६)ले कास्य पदकमा चिक्त बुझाए । महिला डबल्स तर्फको उपाधि भने पुनम गुरुङ र यामकुमारी गुरुङ(१०)को जोडीले जित्यो । उनीहरुले चन्द्रा छन्त्याल र माया पुन(१५)को जोडीलाई २१–११,२१–७को सेटमा पराजित गर्दै स्वर्ण जित्न सफल भएका हुन् । मेनका गुरुङ र आकृति केसी(१०) र शितल केसी र नमूना खड्का(१६)को जोडी कास्य पदकमा सीमित भए ।
कास्की जिल्ला व्याडमिन्टन संघको प्राविधिक सहयोग, जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, गण्डक िप्रदेश खेलकुद परिषदको विशेष सहयोगमा आयोजित प्रतियोगितामा महिला एकल, महिला डबल, पुरुष एकल र पुरुष डबलमा गरी चार वटा इभेण्टमा १४० जना खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक भुगोल गुरुङले जानकारी दिए ।





