पोखरा/राष्ट्रिय सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङदी क्लब शीर्षस्थानमा रहेको छ । लिगमा पाँचौं चरणका खेलहरुको सकिँदासम्म मनाङले एकल अग्रता बनाउँदै शीर्षस्थानमा उक्लिन सफल भएको हो ।
शीर्षस्थानकै दौडमा रहेको अन्य क्लबले बराबरी खेल खेलेपछि मनाङलाई फाइदा भएको हो । मनाङले घरेलु मैदानमा पुलिस क्लबलाई हराएसंगै शीर्ष स्थानमा उक्लिएको थियो । मनाङले गत शनिबार पोखरा रंगशाला स्थित फुटबल एरिनामा नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाएको थियो । लिगको इतिहासमै पहिलो पटक मोफसलमा लिग खेलाइएको थियो ।
अखिल नेपाल फुटबल संघ(एन्फा) र लिग कमिटीले होम (घर) एन्ड अवे (बाहिर) को अवधारणा अघि सार्दै गर्दा पोखराबाट त्यसको सुरुआत गर्ने कोसिस गरेको हो । यद्यपि जारी लिगमा होम अवे खेल भने भएका छैनन् । घरेलुटोली मनाङले ३ क्लबसँग समन्वय गर्दै लिगका ३ खेल पोखरामा ल्याएको हो ।
सातौं चरणको समाप्तिमा एएफसी लाइसेन्स प्राप्त ४ क्लबमध्ये माथिल्लो स्थानमा रहने टोलीले एएफसी कप छनोट खेल्ने भएकाले पनि मनाङलाई पाँचौं चरणको नतिजाले फाइदा पुगेको छ । तथापि, दुई चरणको खेल अझै बाँकी रहेकाले दोस्रो स्थान मच्छिन्द्र फुटबल क्लब र तेस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबको सम्भावना पनि बाँकी छ ।
उता पाँचौं चरणका अन्य खेलमा आर्मीले सातदोबाटो युथ क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाडे । मछिन्द्रले संकटा क्लबसँग गोलरहित बराबरी खेलेको थियो । पाँचौं चरणका ७ खेलमा ४ खेलमा हार जितको नतिजा निस्कदा ३ खेल भने बराबरीमा टुंगिएका थिए । पाँचौं चरणमा मनाङसँगै जावलाखेल युथ क्लब, हिमालयन शेर्पा र एपिएफ क्लबले पहिलो जित दर्ता गराए ।
जावलाखेलले च्यासल युथ क्लबलाई १–० ले, शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई र एपिएफले फ्रेन्ड्सलाई समान ३–१ ले हराए । अर्को खेलमा भने थ्री स्टार र एनआरटीले गोलरहित बराबरी खेले ।
५ खेल खेलेको मनाङले ४ खेलमा जीत र १ खेल बराबरी खेल्दै १३ अंक जोडेको छ । उता २ अंकले पछि रहेको मछिन्द्र फुटबल क्लब ३ जीत र २ बराबरी खेल्दै ११ अंकका साथ दोस्रो स्थानमा रहेको छ । त्रिभुवन आर्मी क्लबको पाँच खेलमा २ जीत, ३ बराबरी खेल्दै ९ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा समान नतिजा रहेको (२ जीत, ३ बराबरी) संकटा क्लब भने गोल आधारमा चौथो स्थानमा रहेको छ ।
सातदोबाटो युथ क्लब पाँच खेलमा २ जीत, २ बराबरी र १ हार व्यहोर्दै ८ अंकका साथ पाँचौ स्थानमा रहेको छ । १ खेलमा जीत ३ खेलमा बराबरी र १ खेलमा हार व्यहोरेको थ्रिस्टार क्लब तालिकाको छैटौँ स्थानमा रहँदा समान नजिता रहेको न्यूरोड टिम सातौँ स्थानमा रहेको छ ।
पाँच खेलमा १ जीत, २ बराबरी र २ हार व्यहोरेको हिमालयन शेर्पा क्लब, बिग्रेड ब्वाइज क्लब र नेपाल पुलिस क्लब क्रमशः आठौँ, नवौँ र दशौँ स्थानमा रहँदा एपिएफ र जावलाखेल युथ क्लब ४ अंक सहित क्रमशः ११ औँ र १२ औँ स्थानमा रहेको छ ।
च्यासल युथ क्लब १ जीत १ बराबरी र ३ हार सहित ४ अंकका साथ र फ्रन्डस क्लब २ बराबरी, ३ हार सहित २ अंकका साथ तालिकाको पुछारमा रहेका छन् । अब मनाङले सातौं चरण अन्तरगत बिग्रेड ब्वाइज क्लबसँग र ८ औँ चरणमा च्यासलसँग पोखरामा खेल्दैछ । छैटौँ चरणमा भने दशरथ रंगशालामा मछिन्द्रसँग खेल्दैछ ।





