बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

मलाई बन्नु छैन किसान !

मलाई बन्नु छैन किसान !


  • दिवश गुरुङ
  • पुष १२ २०७८, सोमबार

गाउँमा घर अगाडि ठूल्ठूला मिलेका गराहरु छन् । फुटबल खेलाउने मैदान जत्रा । सिचाइँ गर्न नि पर्याप्तै छ पानीको सुविधा । दुई चार वटा टनेल बनाएर गोलभेडा, सिमी, काउली बन्दा फलाउने रहर नजागेको हैन मनमा । गाउँको त अर्गानिक जीनिस पो हो त । शहरकाहरु रुचाउँछन् अर्गानिक । सपना बुनेको थिए, आफ्नै घरखेतमा उत्पादन गर्ने अनि शहर पु¥याएर बेच्ने । आम्दानी गर्ने । गाउँले जीवन जिउने ।
यसका लागि सहजकर्ता नभएका हैनन् गाउँमा । गाउँमै सहकारी छ । हप्तामा कुनै निश्चित दिनहरु छुट्याएर गाउँभरका किसानका तरकारी उठाउँछन् अनि शहर पु¥याउँछन् गाडीमा । तर अति न्युन मूल्यमा । बिचौलियाहरुको बिगबिगी उस्तै छ । संस्थाको कर्मचारीहरुको तलब, गाडी भाडा, अतिरिक्त शुल्क, के के जाति घटाएर किसानको हातमा किलाको एक अंकको पैसा, जबकि तीन अंकको मूल्य बजारमा हुन्छ, त्यही तरकारीको । नाफाको त कुरै छोडौं, पसिनामो मूल्य पनि उठ्दैन किसानको । अनि केका लागि घोट्याउने हाड र छाला ?
लकडाउनको समय पोहोर असार पस्ने मौका जुरेको थियो । मस्त लकडाउनमा निदाइरहेको यताको शहर अनि उता चलायमान गाउँ । गाउँमा के को लकडाउन, के को बन्दाबन्दी । घरभित्रै बसेर कहाँ पुग्दो हो र गाउँमा ? घाम र पानीले जब्बर बनाइसकेको छ गाउँलेका शरीरलाई । तर उस्तै नरम र कोमल हृदयका धनी ।
पिढींमा बसेर चियाको चुस्कीसँगै ९६ वर्षीय हजुरबा भन्नुहुन्थ्यो, ‘उ पारि पारि वनहरु छन् नि त्यहाँ हामी बैैस छदा धान रोप्थ्यौं । पुराका पुरा बीस हलको मेला । तीन चार घरका मिलेर परेली लगाउँथ्यौं । हिलो फालेर गोरुलाई नुहाईधुवाई गरेर घर फर्कदा त साउन छुन्थ्यो । अहिले हेर, सबै उत्तीसै उत्तीसको वनले ढाकिदियो । दिउँसै तर्साउला जस्तो वन बनि गो । पैसा के अलिकति कमायो, मान्छेहरु सुखभोगी भए । सक्नेहरु शहर बसे, नसक्नेहरु गाउँमै बजारबाट बोरा घिसारेर खान थाले । शरीर पछारेर दिन काट्न थाले । दुःख कसलाई गर्न मन लाग्छ र ? हाम्रो जमिनले सराप्छ बाबु, यसरी त । धिक्कार्छ हामीलाई पुर्खाले । बाउबाजेका छालालाई जंगल बनायौं हामीले ।’
यो मेरा हजुरबाका गुनासाहरु मात्र थिएनन्, गाउँको तितो यर्थाथ यहीँ नै थियो । वास्तविकता थियो गाउँको । सित्तैमा कमाएर खाऊ, भन्दा पनि खेतीपाती गर्ने मान्छे छैनन् गाउँमा । मान्छेले दुःख गर्न छाडे । फेरि किसानी पेशालाई दुखी पेशा भन्न नमिली हाल्ला । यसैमा रमाइरहेका कैयौं किसानहरु पनि त छन् नि । यता फेरि शहर पसेका त्यही मान्छेहरुले के वास्तवमै सुख मिलेका छन् ? प्रश्न उठ्छन् । डिप्रेसनको शिकार, फ्रस्टेसन, स्वास्थ्यका अनेक समस्याहरु हुनेहरु त्यही सुखका भोगीहरु न हुन् ।

दिवश गुरुङ
किसान बन्न त्यति सजिलो पनि कहाँ छ र ? वर्षभरि घाम, पानी, हावाहुरीसँग पौठेजोरी जो खेल्नुपर्छ । घाममा डढिन सक्नुपर्छ अनि सिक्नुपर्छ वर्षाभरि रुज्न । त्यसै फल्छ र कोदो ? त्यसै झुल्छ र धानका बालाहरु ? त्यसै फूल्छन् र किसानका खुसीका बालाहरु । तर आफ्नै मिहिनेतको फलमा मस्त रमाउँन जानेका छन् उनीहरु । न कसैको लोभ लालच न कसैलाई छलकपट । निश्चल मन हुन्छ किसानका ।
यसपाल मज्जाले वर्षा भयो असारमा । किसानहरुको मनमा खुसी छायो । मिमिर्रे मै खेत पुग्थे, अनि फर्कन्थे झिस्मिसे साँझमा घर । यो नै दैनिकी थियो, दिनभर खेतमै । सेखु ओढेर दिनभर खनजोत र धान रोप्दा ढाड कटक्कै दुख्दो हो । दिनभर हिलो भित्रै रहिरहन त्यति सहज त कहाँ हुन्थ्यो र ? तर यसैमा रमाउँछन् किसानहरु । खुसी हुन्छन् ।
न किसानलाई चाहिँदा धानका बिउँहरु पाउँछन् न त खेतमा हाल्ने मल नै । बंगालदेशबाट मल ल्याउँदाको तितो कहानी त सबैलाई थाहा नै छ । परेको मूल्यमा मल किन्न चाहँदा पनि पाउँदैनन् किसानहरु । बाढी पहिरोले खेत बगाउँदा होस् वा घरभित्र धान भित्र्याउन लाग्दा असिनाले धान झार्दा, खै राहत किसानलाई ? खै किसानलाई सहानुभूति र साथ । किसान सधैं सबैले हेप्छन् । सबैबाट हेपिन्छन् ।
कसले सम्मान भाव प्रकट गरेको छ र किसानलाई ? कसले दिएको छ किसानको पसिनाको मूल्य ? बिहान बेलुका छाक टार्न डोकोमा तरकारी बोकेर हिड्ने बुढी आमासँग बार्गेनिङ गर्छन् पाँच दश रुपैँयाका लागि, चिल्ला कारमा हुइकिनेहरु । त्यही धनाढ्य तारे होटलमा सय र हजारका नोट टिप्स दिँदा आफैंलाई मै हुँ भन्ने दम्भ पाल्दछ । खेतबारीमा काम गर्ने पटपट फुटेका हातखुट्टा देख्दा घिन मान्नेहरु कृषि क्रान्ति भन्दै तारे होटलहरुमा सेमिनार र बेभिनारमा डलर पचाउँछन् । हिलो छुन घिन मान्नेहरु कालो चस्मा र तडकभडकका साथ हिलो पस्छन् । उल्टै किसानको धज्जी उडाउँछन् ।
कृषिप्रधान देश नेपालमा । देशको आधाभन्दा बढी जनसंख्या खेतीमै लाग्दा पनि किन वर्षेनी करोडौंको धान आयातित हुन्छ त ? किन बाहिरिन्छ अर्बौ अर्बौ नेपाली पैसा कोदो, गहुँ र भटमासका लागि ? शहरमा रहेका फाँटहरु दलालले प्लटिङ गरिसके । यो जग्गा बिक्रीमा छ, भन्ने बोर्डकै बिगबिगी हुन्छ जताततै । फाँट मात्र टुक्राटुक्रा पारेनन्, सँगै टुक्रिए खेती गर्ने किसानका मन पनि । मुरीका मुरी धान फल्ने फाँटमा पैसा फलाउन थाले प्लटिङ गरेर । कंक्रिटका बिल्डिङहरु ठडाए, अनि बन्यो बिल्डिङ जस्तै कंक्रिट मनहरुको शहर । मानवता हराएको शहर । संवेदनशीलता बेगर शहर । किसानलाई होच्याउने शहर ।
नेपालमा हिलो छुन घिन मान्छन् । त्यही मान्छे ईपीएसबाट कोरिया पुग्छन्, ठूल्ठूला सपना बोकेर । अनि बिहानदेखि रातिसम्म १६ घण्टे फार्ममा खटिन्छन् । तरकारी खेतमा घोटिन्छन् । गोरुझैं जोतिन पर्छ खेतमा तर उसलाई कहिल्यै चेत पलाउँदैन्, यतिको मिहिनेत र परिश्रम गर्दो हो त आफ्नै देशैमा फल्दो हो धान । फल्दो पो पैसा खेतैमा । बेकार अर्काको देशमा भनाई र कैयौं हन्डर खाएर त्यही खेतैमा काम गर्ने ? खै कहिले लाग्दो हो, त्यस्ताका घैटोमा घाम ।
गरिबले खाए मकै, धनाढ्यले खाए पप कन । गरिबले गरे होच्याएर किसान भन्छन्, त्यही हुनेखानेले गरे कौसी खेती । गरिबले खाए भुटेको भात, धनीले खाए फ्राइ राइस । विदेशमा गाईवस्तु चराउनेलाई सम्मान साथ काउब्याइ भन्दछन्, यहाँ नेपालमा हियाएर, होच्याएर गोठाला भन्छन् । जबसम्म हाम्रो मानसिकता परिवर्तन हुँदैन, तबसम्म देशमा कृषि क्रान्ति सम्भव हुँदैन । जबसम्म किसानले सम्मान पाउँदैनन्, तबसम्म घिसारिरहनु पर्छ विदेशबाट आयतित महंगो चामलका बोराहरु । गाउँ जाँदा घरकाले भन्छन्, ‘गाउँमै खेतीपाती, तरकारी फलाएर पैसा कमाउन सकिन्छ । मिहिनेत गरे यहीँ सुन फल्छ ।’ अनि यी यावत तीता यर्थाथहरु झल्यास्स सम्झिन्छु । अनि जवाफ फर्काउछु, ‘मलाई किसान बन्नु छैन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->