पोखरा\पोखरा रंगशालामा जारी गण्डकी प्रदेश पुरुष छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा कास्कीले स्याङ्जामाथि ९८ रनको फराकिलो जित हासिल गरेको छ । कास्कीले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा स्याङजाको पारी मात्रै ६५ रनमा समेटिएपछि कास्की विजयी भएको हो ।
पहिला ब्याटिङ गरेको कास्कीले पूरा ४० ओभर खेल्दै ९ विकेटको क्षतीमा १ सय ६३ रनको योगफल तयार पारेको थियो । कास्कीको ब्याटिङमा अनिल गुरुङले ५२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४३ रन जोडे । त्यस्तै, कप्तान विपिन खत्रीले १ छक्का र १ चौका प्रहार गर्दै ३३ रन जोडे भने कृष्ण पौडेलले ३० रन बनाएका थिए । स्याङ्जाका बलरहरु टिकाराम गैह्रेले ३ तथा इश्वर खनालले २ विकेट लिए ।
स्याङ्जाको ब्याटिङ लाइनअप चल्न नसकेपछि उसको पारी लडखडाएको थियो । मात्रै २०.२ ओभरमा सम्पूर्ण विकेट गुमाउन पुगेको स्याङजाको लागि सन्दिप खत्रीले १२ तथा सुरज गुरुङ्गले १० रन जोडे । अन्य ब्याट्स्म्यानले दोहोरो आँकडाको योगफलसमेत तयार पार्न सकेनन् ।
स्याङजाको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा कास्कीका बलरहरु कृष्ण पौडेल, विश्व कार्की, सुवास भण्डारी र विपिन खत्रीले २–२ विकेट लिए । खेलमा कास्कीका कृष्ण पौडेल म्यान अफ द म्याच भए । उनलाई नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषि गौतमले ट्रफी प्रदान गरे । छनोट प्रतियोगिताको अन्तिम खेल मंगलबार कास्की र नवलपुरबीच हुने छ ।





