पोखरा/गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले परम्परागत तारा खेल मैदानको शिलान्यास गरेका छन् । पोखरा ९, नयाँ बजारमा रहेको तमुधीं नेपालको केन्द्रीय कार्यालय परिसरमा मैदान निर्माण गर्न लागिएको हो । जसका लागि युवा तथा खेलकुद मन्त्रालयले पहिलो किस्ता स्वरुप ३ लाख प्रदान गरेको छ ।
शिलान्यास कार्यक्रममा स्वास्थ्यका कारण देखाउँदै मन्तव्य राख्न नमानेका गण्डकीका खेलकुदमन्त्री गुरुङले शीलान्यास गरेलगत्तै त्यहाँ रहेका अतिथिहरुलाई अबका साढे २ महिनामा प्रतियोगिताको आयोजना गर्न आग्रह गर्दै तमुहरुले रक्सी खाँदै खेल्ने खेल रहेको प्रतिक्रिया दिएका थिए । उक्त कुरा सुनेपछि त्यहाँ रहेका अन्य अतिथिहरु समेत गलल्ल हाँसेका थिए ।
‘यो त्यही बासको धनुष बनाएर खेल्ने हो नि होइन ?’ भन्दै प्रश्न गर्दा ‘हो’ जवाफ पाएपछि मन्त्री गुरुङले भने, ‘त्यसो भए म मनाङ र मुस्ताङबाट खेल सामग्री मगाइदिन्छु । अबको साढे २ महिना पछि तपाईंहरु प्रतियोगिता राख्नुस् ।’
मन्त्री गुरुङ त्यतिमै रोकिएनन्, छन्त्याल समुदाय राम्रोसँग खेल्ने तर, तमुहरुले भने रक्सी खाँदै खेल्ने गरेको सुनाए । ‘छन्त्यालहरु कस्तो मज्जाले खेल्छन् । हाम्रोचाहिँ रक्सी खाँदै खेल्छन् । अनि कहाँबाट राम्रो खेलाडी निस्किन्छन्,’ उनले भने ।
कार्यक्रम सकिए लगत्तै पुनः बोल्दै मन्त्री गुरुङले खर्च ८ लाख जति लाग्ने भएपनि मन्त्रलायको तर्फबाट १० लाख रुपैयाँ दिने प्रतिबद्धता गरेका थिए । उनले ठाउँ साघुरो देखिएपछि ठूला बिम राखेर तारा हान्दा निशाना लगाउने खाँबो को दायाँबायाँ १०÷१० फिट ठाउँ छाडेर पछाडिको भागमा ठूलो जाली राख्न सुझाव दिएका थिए । ‘खर्च चानुचुने ७ लाखमै उम्किन्छ सरकारी इस्टिमेट हुनुपर्छ उपाध्यक्षज्यूसँग कुरा गर्नुस् हाम्रो खेल हो म १० लाख उपलब्ध गराउँछु,’ उनले भने ।
उता ध्वजकुमार गुरुङले प्रदेश खेलकुद मन्त्रालयबाट आवश्यक सहयोग गर्ने बताए । उनले नेपालको परम्परागत पुरानो खेल भएपनि पछिल्लो समय युवा वर्गको आकर्षणको खेल भएको बताए । तारो हान्ने खेल अहिले मेला महोत्वसमा समेत खेलिँदै आएको जानकारी दिए । ‘पुरानो खेल हो संरक्षण गर्नुपर्छ यसका लागि माननीय ज्युले बजेट समेत सम्बोधन गर्नभएको छ,’ उनले भने ।
तमुधीं नेपालका केन्द्रीय अध्यक्ष होम बहादुर गुरुङले तमुको परम्परागत खेल भएको बताए । उनले भवन बनाउँदा अघिल्लो सरकारले विनियोजन गरेको रकमको आधा रकम पाउन बाँकी रहँदा कर्मचारीले निकै दुख दिएको बताए । ‘अघिल्लो सरकारको अर्थमन्त्री किरण गुरुङ ज्यूले भवन निमार्णका लागि ९५ लाख छुट्याइदिनुभएको थियो,’ उनले भने, ‘पहिलो किस्ता स्वरुप हामीले ४५ लाख रुपैयाँ पायौं अब ५० लाख पाउन बाँकी छ ।’





