आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एट ए साइड भेट्रान्स मंगलबारदेखि

एट ए साइड भेट्रान्स मंगलबारदेखि


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०७८, शुक्रबार

पोखरा/ बगर भाइ खलकको आयोजनामा हुने पाँचौं स्व रञ्जित गुरुङ स्मृति तथा ११ औं बगर भाइखलक एट ए साइड फुटबल प्रतियोगिता मंगलबारदेखि हुनेभएको छ ।
पोखरा १, बगरमा रहेको पुरानो टुडिँखेल खेलमैदानमा हुने प्रतियोगितामा २५ टिमको सहभागिता रहने भएको छ । ४० वर्षदेखि ६५ वर्ष उमेर समूहका खेलाडीबीच हुने प्रतियोगिता नेपालकै पहिलो भेट्रान्स प्रतियोगिता हो ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ७५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा बगर भाइ खलकका महासचिव याम बहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा आयोजक बगर भाइखलकको दुईसहित एक्स पोखरा एफसी लेकसाइड, एबीसी भेट्रान टिम ए र टिम बी, वडा २० भेट्रान, दीप युनाइटेड भेट्रान, बौद्ध भेट्रान, टुँडिखेल भेट्रान्स, बुटवल भेट्रान, नागसोती भेट्रान, सानमिया सान बार्यन म्युनिख फ्यान क्लब भेट्रान, चितवन भेट्रान ए र चितवन भेट्रान बी, हेटौंडा भेट्रान निलो र रातो, फ्रिडम फाइटर ठमेल, खुमलटार भेट्रान्स, टि बर्गर, जावलाखेल, भनी मण्डल, सानो गौचरण नाइट किङ्स क्लब, किङकङ स्पोर्ट्स क्लब, थापा गाउँ नयाँबानेश्वर, लेकसाइड भेट्रान र वालिङ भेट्रान सहभागी छन् ।

निमार्ण चरणमै रहेको मैदान खेल्न मिल्ने भइसकेको र पहिलाको भन्दा पनि राम्रो भएको याम गुरुङले बताए । उनले प्रदेश सरकारले समेत उक्त मैदानलाई अब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रशिक्षण मैदान बनाउने भन्दै दुई किस्ता गरि १६ लाख बजेट विनियोजन गरेको जानकारी दिए ।

मैदानको काम करिब सकिइसकेको र अब मैदानमा दुबो रोप्ने काम बाँकी रहेको उनले बताए । बगर भाइ खलककै अनुरोधमा टुँडिखेल निमार्णका लागि ३ लाख २६ हजार बढी सहयोग उठाइसकेको छ । पुस २६ गतेदेखि माघ १ गतेसम्म हुने प्रतियोगितामा यो वर्ष पनि सबैभन्दा जेष्ठ खेलाडीलाई सम्मान गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->