मनाङको ७ खेलबाट १६ अंक छ । मनाङले ५ जित, एक बराबरी र एक हार व्यहोर्दै तालिकाको दोस्रो स्थानमा छ । च्यासल भने ७ खेलबाट जम्मा ५ अंकसहित रेलिगेसन जोनमा छ ।
पोखरा/ खतराको सूचिमा रहेको च्यासल क्लबले बलियो टोली मनाङ मस्र्याङदीसँग शनिबार पोखरामा भिड्दै छ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत ८ औं चरणको खेलमा घरेलु टोली मनाङले कमजोर टिमसँग भिड्दै छ ।
खेल निकै रोमाञ्चक हुने देखिएको छ । च्यासललाई रेलिगेसनबाट जोगिन कुनैपनि हालतमा जित हात पार्नैपर्ने हुन्छ । उता मनाङ पनि च्यासललाई हराउँदै शीर्षस्थानमा उक्लिन चाहन्छ । तर, मनाङको बिग्रेड ब्वाइजविरुद्धको खेललाई हेर्ने हो भने च्यासलसँग समेत उस्तै खेल्ने देखिन्छ ।
च्यासलले जारी लिगमा एक खेलमात्रै जितेको छ । ८ औं चरणमा जित निकाल्दै रेलिगेसन जोनबाट उम्किन चाहन्छ । तर, मनाङले भने त्यसो हुन दिने छैन । मनाङको घरेलु मैदान भएकाले पनि जित्नैपर्ने दबाब हुन्छ । मनाङले जारी लिगमा पोखरामै जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको थियो ।
उता च्यासलपनि संकटासँग बराबरी खेल्दै उत्साहित भएको छ । लिगको बलियो मध्येको एक टिम संकटासँग बराबरी खेल्दा खेलाडीलाई ऊर्जा मिलेको मुख्य प्रशिक्षक बालगोपाल साहुखलले बताए । ‘हाम्रो खेल राम्रो भएको छ । पछिल्लो अन्तिम खेलले हामीलाई थप हौसला मिलेको छ । केटाहरुमा फुल कन्फिडेन्ट छ,’ उनले भने, ‘मनाङ बलियो टिम हो । उ तालिकाको पनि माथि नै छ । तर, हामी खतराको सीमानामा छौं ।’
रेलिगेसन जोनबाट माथि आउन आफूहरुलाई जित्नैपर्ने दबाब रहेको बताउँदै उनले खतरा नमोली जित्नकै लागि मैदानमा उत्रिने सुनाए । उनले टिम नराम्रो नभएको तर खेलाडी सबै नयाँ र युवा भएका कारण समस्या परेको उनले बताए ।
च्यासललाई सन्तोष साहुखल आएपछि केही राहत पनि महसुस भएको छ । सन्तोष आएपश्चात नै टिमले बलियो क्लब संकटालाई बराबरीमा रोक्न सफल भएको थियो । सन्तोषबाहेक टोलीमा फरवार्ड सुसन लामा, राजीव लोप्चन र इटालियन विकास मेराग्लिया छन् । पछिल्ला खेलमा कर्ण लिम्बु पनि पहिलो रोजाइमा नै खेल्दै आएका छन् ।
उता मनाङका मुख्य प्रशिक्षक फुजा टोपेले यस अघिका खेलमा समेत घरेलु मैदानको फाइदा उठाउँदै आएको बताएका छन् । उनले टोली शीर्षस्थानकै लागि खेल्ने बताए । उनले पोखराको पछिल्लो खेलमा सोचे अनुरुप नखेलेपनि च्यासलविरुद्ध भने उत्कृष्ट खेल देखाउने बताए । ‘हामीले सातौं चरणको अन्तिम खेलमा सोचेजस्तो नतिजा दिन सकेनौं । तर, यो खेलमा हामीले उत्कृष्ट दिनेछौं,’ उनले भने ।
मनाङको ७ खेलबाट १६ अंक छ । मनाङले ५ जित, १ बराबरी र १ हार व्यहोर्दै तालिकाको दोस्रो स्थानमा छ । समान खेल खेलेको मच्छिन्द्र फुटबल क्लबको भने १७ अंक छ । मच्छिन्द्रले अहिलेसम्म हार व्यहोरेको छैन । मच्छिन्द्रले ५ जित र २ बराबरी खेलेको छ । च्यासलको भने ७ खेलबाट पाँच अंकसहित रेलिगेसन जोनमा छ । च्यासलले १ जित २ बराबरी र ४ हार व्यहोरेको छ ।
संकटा क्लबको भने ८ खेलबाट १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । संकटाले शुक्रबार मात्रै सातदोबाटोसंग अंक बाँडेको हो । संकटाले पनि कुनै हार व्यहोरेको छैन । संकटाले ३ जित र ५ बराबरी खेलेको छ ।
आर्मी चौंथो र हिमालयन शेर्पा पाँचौ स्थानमा छ । पछिल्लो समय लय समात्दै आएको थ्रिस्टार छैटौं स्थानमा रहँदा न्युरोड टिम सातौँ, सातदोबाटो आठौं, जावलाखेल नवौं, एपिएफ दशौं र पुलिस ११ औं स्थानमा छ । बिग्रेड ब्वाइज क्लब १२ औं स्थानमा रहेको छ भने जीत विहिन फ्रेन्डस क्लब तालिकाको अन्तिममा छ ।





