आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

टाइगरकप भलिबल सुरु

टाइगरकप भलिबल सुरु


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०७८, मंगलबार

पोखरा/टाइगर ग्रुप अफ पोखराको आयोजनामा दोस्रो आमन्त्रित राष्ट्रिय महिला÷पुरुष भलिबल प्रतियोगिता सोमबारदेखि सुरु भएको हो । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) ले उद्घाटन गरेका हुन् ।
उद्घाटनसत्रमा मुख्यमन्त्री नेपालीले कोरोनाको तेस्रो लहर चलिरहेको र राज्यले आवस्यक मापदण्ड पालना गर्न आग्रह गरे । ‘कोरोनाको तेस्रो लहर प्रवेश गरेको कुराले विचलित बनाएको छ । हामीले सोच्नेबेला आएको छ । यो पूर्वनियोजित कार्यक्रम रहेकाले राज्यले तोकेको मापदण्ड अनुसार सञ्चालन गर्न आग्रह गर्दछु,’ उनले भने ।
मुख्यमन्त्री पोखरेलले यस्ता खेलले खेलाडीको स्तरमा वृद्धि हुने र निरन्तर प्रतियोगिता हुँदा उत्कृष्ट खेलाडी उत्पादन हुनेमा आफू विश्वस्त रहेको सुनाए । उनले गण्डकी प्रदेशलाई विभिन्न केन्द्रको रुपमा विकसित गर्ने लक्ष्य मध्येको एक खेलकुद रहेको बताए । गण्डकी प्रदेशलाई अन्तराष्ट्रिय खेल केन्द्रको रुपमा अघि बढाउन प्रदेश सरकारले चाहेको बतउँदै खेलकुदको विकास नीजि क्षेत्र, स्थानीयको साथ र सहयोगले हुँदै आएको धारणा राखे । टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सहयोगी तथा दर्शकलाई धन्यवाद दिँदै स्वास्थ्य सुरक्षाको ख्याल गर्दै प्रतियोगिता गर्ने बताए ।
साविक विजेता गण्डकीको सुखद सुरुवात
पोखरा रंगशाला भलिबल कोर्टमा जारी प्रतियोगितामा पुरुष तर्फको गतवर्ष विजेता गण्डकी प्रदेशले सुखद् सुरुवात गरेको छ । गण्डकी प्रदेशले एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै स्पष्ट ३ अंक जोड्न सफल रह्यो । गण्डकीले एपिएफलाई २५–१७,२५–२२ र २५–१७ को सोझो सेटमा पाखा लगाउँदै जितको सुरुवात गरेको हो । खेलको प्लेयर अफ म्याच गण्डकीका हिमाल सुनार घोषित भए भने एपिएफका विनोद चन्द उत्कृष्ट डिफेन्डर घोषित भए ।
यस्तै सोमबार भएको महिला तर्फको पहिलो खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । डायमन्डले आर्मीलाई २५–१७,२५–२२,१३–२५ र २५–१७ को सेटमा हराएको हो ।
महिला तर्फकै अर्को खेलमा एपिएफले नेपाल पुलिस क्लबसंग गत वर्षको फाइनलको बदला लिएको छ । एपिएफले पुलिसलाई ३–१ को सेटमा हराउँदै जीतको सुरुवात गरेको हो । गतवर्ष फाइनलमा एपिएफ पुलिससंग हार व्यहोर्दै उपविजेतामा सिमित भएको थियो । एपिएफले २६–२४, २५–१८, २३–२५ र २५–२३ को सेटमा पुलिसलाई हराएको हो । खेलको प्लेयर अफ दी म्याच एपिएफकी सरस्वती चौधरी घोषित भइन् भने डिफेन्डर अफ म्याच पुलिसकी शान्तिकला तामाङ घोषित भइन् ।
सोमबार नै भएको पुरुष तर्फको अत्यन्तै प्रतिस्पर्धात्मक पहिलो खेलमा नेपाल पुलिसले हेल्प नेपाल माथि ३–२ सेटको पुनरागमन जित निकालेको छ । पहिलो र दोस्रो सेट २५–१६ र ३१–२९ ले गुमाएको पुलिसले तेस्रो सेटबाट भने पुनरागमन गरेको हो । तेस्रो सेटमा पुलिसले २५–१९ ले आफ्नो पक्षमा पार्दै लयमा फर्किने कोसिस गरेको थियो । चौथो सेट आफ्नो पक्षमा पार्ने क्रममा पुलिसले २५–२३ ले जितेको थियो । अन्तिम सेटपनि निकै प्रतिस्पर्धात्मक रह्यो । पुलिसले अन्तिम सेट १७–१५ ले हराउँदै २ अंक जोड्न सफल भएको छ । हेल्प नेपालले १ अंक जोडेको छ । खेलको प्लेयर अफ म्याच हेल्प नेपालका अमित गुलिया तथा डिफेन्ड अफ म्याच पुलिसका भिम गाह घोषित भए ।
प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता रहेको छ । पुरुष तर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीबल (एपिएफ) र हेल्प नेपाल रहेका छन् । भने महिला तर्फ नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड स्पोट्र्स क्लब र टाइगर ग्रुप पोखरा रहेका छन् ।
प्रतियोगिताको विजेता टोलीले नगद ३÷३ लाख रुपैयाँ तथा उपविजेताले समान १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुनेले समान ७५÷७५ हजार रुपैयाँ तथा सान्त्वना हुने टिमले ३५÷३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->