पोखरा/विभागीय क्लब आर्मी र एपिएफ पोखरामा जारी दोस्रो संस्करणको टाइगरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता च्याम्पियन बनेका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा महिलातर्फको फाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।
एकपक्षीय खेलमा एपिएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सोझो सेटमा हराउन सफल भयो । यससँगै एपिएफले लिग चरणमा भोगेको हारको समेत बदला लिन सफल भएको छ । एपिएफले लिग चरणमा ३–१ को सेटमा हार व्यहोरेको थियो । एपिएफले फाइनलमा आर्मीलाई कुनैपनि समय खुलेर खेल्नै दिएन ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगिताको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मीले हेल्प नेपालमाथि ३–१ को सेटमा अकल्पनीय जित निकाल्दै च्याम्पियन बन्न सफल रह्यो । उपाधि दाबेदार मानिएको हेल्प नेपालको फाइनल खेल भने निकै कमजोर रह्यो । लिग चरणमा नै आर्मीमाथि ३–० को सोझो सेट सहित जित निकालेको हेल्प नेपालले फाइनलमा भने नाटकीय खेल प्रदर्शन ग¥यो ।
गत वर्षको उपविजेता बनेको आर्मीले हेल्प नेपाललाई पहिलो सेटमा २५–१८ ले हरायो । दोस्रो सेट भने प्रतिस्पर्धात्मक रह्यो । दोस्रो सेटमा हेल्प नेपालले २६–२४ को जित निकाल्दै १–१ सेटको बराबरीमा खेल अघि बढेको थियो । तर, तेस्रो र चौथो सेटमा भने हेल्प नेपालले गतिलो प्रदर्शन गर्न सकेन । तेस्रो सेट २५–१८ ले गुमाएको हेल्प नेपालले चौथो सेट २५–१९ ले गमायो ।
च्याम्पियन आर्मी र एपिएफले समान ३÷३ लाख रुपैयाँ तथा उपविजेता हेल्प नेपाल र आर्मीले १ लाख ५० हजार÷१ लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो । आर्मीले समेत लिग चरणमा भोगेको हारको बदला लिएको हो । आर्मीले लिग चरणमा ३–० को सोझो सेटमा हार बेहोरेको थियो । आर्मी गतवर्ष टाइगर कपमा गण्डकी प्रदेशसँग फाइनलमा पराजित भएको थियो । दोस्रो संस्करणको प्रतियोगितामा महिला र पुरुषतर्फ गरी कुल १० टिमको सहभागिता थियो ।
सरस्वती र धनबहादुर सर्वोत्कृष्ट
एपिएफकी सरस्वती चौधरी र आर्मीका धनबहादुर बुढा क्षेत्री दोस्रो टाइगरकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनीहरुले नगद २५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
यस्तै, प्रतियोगिताको महिला तर्फ उत्कृष्ट सर्भर एपिएफकी निरुता ठगुना, उत्कृष्ट सेटर आर्मीकी कृपा अधिकारी, उत्कृष्ट ब्लकर एपिएफकी हिरा केसी, उत्कृष्ट लिब्रो न्यु डायमन्डकी सलिना श्रेष्ठ, उत्कृष्ट स्पाइकर आर्मीकि शान्ति कुमारी थारु र उत्कृष्ट प्रशिक्षक एपिएफका महेश चौधरी घोषित भए ।
यस्तै, पुरुषतर्फ उत्कृष्ट सर्भर पुलिसका इम राना, उत्कृष्ट सेटर आर्मीका हरिहजुर थापा, उत्कृष्ट ब्लकर हेल्प नेपालका अमित गुलिया, उत्कृष्ट लिब्रो आर्मीका इश्वर थापा ,उत्कृष्ट स्पाइकर हेल्प नेपालका भिनित कुमार र उत्कृष्ट प्रशिक्षक आर्मीका जगतबहादुर सिंह घोषित भए । विधागत तर्फका सबैले समान १०÷१० हजार रुपैयाँसहित ट्रफी हात पारे ।





