आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीले धानेको नेपाली भलिबल, जहाँ आफ्नै टिम छैन

गण्डकीले धानेको नेपाली भलिबल, जहाँ आफ्नै टिम छैन


  • विजय नेपाली
  • माघ ३ २०७८, सोमबार

पोखरा/नेपालमा भलिबलका मुख्य गरी ३ विभागीय क्लब र न्यु डायमन्ड अनि पछिल्लो समय उदाउँदै आएको हेल्प नेपाल क्लब । जसलाई नेपाली भलिबलको पर्याय मानिन्छ ।
देशभर जहाँ भलिबलको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता हुन्छ त्यहाँ सहभागी हुने भनेकै यिनै क्लबमात्रै हुन् । शनिबार मात्र पोखरा रंगशालामा राष्ट्रिय महिला तथा पुरुष आमन्त्रित भलिबल प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा पुरुष तर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी बल (एपिएफ) क्लब, हेल्प नेपाल क्लब र गण्डकी प्रदेश सहभागी थिए ।
उता महिलातर्फ ३ विभागीय क्ल्ब सहित न्यु डायमन्ड र टाइगर गु्रप पोखरा सहभागी थिए । गण्डकी प्रदेश र टाइगर गु्रप छाडेर अन्य ४ क्लब हेर्दा गण्डकी प्रदेशका खेलाडीहरुको सहभागिता रहेको छ । गण्डकी प्रदेश भलिबलको उर्वरभूमि हो । यहाँबाट खेलाडी उत्पादन भएर अन्य क्लबमा आबद्धता भएका छन् ।
विभिन्न क्लबमा गण्डकीका महिलातर्फ १० जना खेलाडी रहेका छन भने पुरुष तर्फ १५ जना खेलाडीहरु रहेका छन् । ती मध्ये ६ जना महिला खेलाडीले राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका छन् । पुरुष तर्फ ८ जना राष्ट्रिय टिममा परिसकेका छन् ।
महिला तर्फ भलिबलमा चम्किँदै गरेकी उषा भण्डारी देखि कप्तान अरुणा शाहीसम्म छन् । उता पुरुषतर्फपनि धनबहादुर भट्टदेखि कप्तान मानबहादुर श्रेष्ठसम्मका खेलाडी छन् ।
गण्डकीका ३ खेलाडी त्रिभुवन आर्मी क्लबमा आबद्ध छन् । ४ जना खेलाडी नेपाल पुलिसमा आबद्ध रहेका छन् । २ जना एपिएफ र १ जना न्यु डायमन्डमा आबद्ध रहेकी छिन् (अरुणा शाही छाडेर) ।
पुरुषतर्फ ५ जना नेपाल पुलिस क्लबमा आबद्ध रहेका छन् । ४ जना एपिएफमा, ५ जना त्रिभुवन आर्मी क्लब र १ जना हेल्प नेपालमा आबद्ध रहेका छन् ।
यसरी हेर्दा गण्डकीबाट उत्पादन भएका खेलाडी सबै क्लबमा आबद्ध रहेका छन् । त्यो पनि मुख्य खेलाडी । उता एपिएफकी सरस्वती चौधरीले पनि जिल्ला अन्य भएपनि भलिबलको केन्द्रविन्दु पोखरा नै हो ।
अझ पनि गण्डकी प्रदेशका कुनाकाप्चामा उत्कृष्ट खेल कौशल भएका खेलाडीहरुको प्रतिभा लुकिरहेको छ । यसरी पुरुष भलिबल खेल नै गण्डकी प्रदेशले धानिरहँदा प्रदेशको भने आफ्नै टिम छैन ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको सहर बनाउने परिकल्पना गरिरहँदा भलिबलको उदगम स्थलको रुपमा रहेको गण्डकीमै खेलाडीको भविष्य निश्चित नहँुदा टिम बन्न नसकेको हो ।
कुनै समय महिला भलिबलमा नेपालकै १ नम्बरमा आउने टप्स, फिस्टेल र ज्ञानुबाबा विद्यालय अहिले हराइसके । शिक्षाका साथसाथै भलिबल खेलाडी उत्पादनमा समेत अघि बढेको विद्यालयले विस्तारै खेलकुदलाई धान्न नसक्दा खेलकुदमा अहिले लोप हुन थालेको राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही बताउँछिन् ।
‘पहिलो देशको जुनसुकै ठाउँमा पनि फस्ट सेकेन्ड थर्ड हुने टिम भनेकै पोखराको थियो,’ ३ विद्यालयलाई सम्झिँदै उनी भन्छिन्, ‘आज भलिबलको जुन क्रेज छ त्यो क्रेज आएकै पोखराबाट हो ।’ तर, तत्कालीन पश्चिमाञ्चल र हाल गण्डकी प्रदेशको आफ्नै टिम नहुँदा उनी निकै दुखी भएको सुनाउँछिन् ।
भलिबलमा गर्विलो इतिहास रचेको प्रदेशले खेलाडीको संरक्षण गर्न नसक्दा समयस्या परेको उनी सुनाउँछिन् । उता राष्ट्रिय पुरुष भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठले पनि आफू खेलका साथै कमाउनका लागि विभागमा प्रवेश गरेको सुनाउँछन् ।
‘खेलाडीको मुख्य पाटो भनेकै आर्थिक हो । सबैको परिवार हुन्छ पाल्नैपर्छ खेलेकै भरमा कसरी जीवन उकास्न सकिन्छ र ?’ श्रेष्ठ प्रश्न गर्छन्, ‘खेलाडीका लागि उस्को शैक्षिक स्तर र दक्षता अनुसारको काम अथवा व्यवसाय तर्फ आकर्षण गर्न प्रदेश तथा स्थानीय सरकारले सक्यो भने यहाँको टिम निकै उत्कृष्ट बन्छ ।’
गत वर्ष गण्डकीबाट खेलेका २ खेलाडी अहिले एपिएफमा पुगिसके । गण्डकीका टिम कप्तान हरि पाण्डे खेलाडी जता आम्दानी हुन्छ उतै जाने गरेको सुनाउँछन् । ‘हामी प्रदेशको टिमलाई माया गरेर बस्यौं । तर सबैको बस्न सक्ने अवस्था हुँदैन आम्दानी जता त्यतै जानैपर्छ,’ उनी भन्छन् ।
खेलाडी टिकाउनलाई विशेषगरी भलिबलसंघले नै अग्रसरता देखाउनुपर्छ । प्रदेशको राजधानी पोखरा भएकाले कास्की जिल्ला भलिबल संघको जिम्मेवारी अन्य संघको भन्दा बढि रहन्छ ।
राजधानीमा नै प्रदेश छनोट हुन्छ । त्यो हिसाबले पनि पहिला त भलिबल संघले नै यसका लागि कदम चाल्न आवश्यक छ । अर्को पाटो भनेको प्रदेशको टिम बनाउँदा खेलाडीलाई नियमित प्रशिक्षण साथै आम्दानीको स्रोत हुनुपर्दछ । कुनै प्रतियोगिता हुँदा मात्रै खोजुवाको भरमा टिम बनाउँदा निश्चयपनि नतिजा फरक निस्कने नै गर्छ ।
विभिन्न क्लबमा आबद्ध गण्डकीका महिला खेलाडी
अरुणा शाही म्याग्दी –कप्तान (राष्ट्रिय महिला भलिबल टोली)
शान्तिकुमारी थारु नवलपुर, आर्मी क्लब÷ राष्ट्रिय टोली
मनिषा खाणँ स्याङजा, आर्मी
सफिया पुन बागलुङ, आर्मी ÷राष्ट्रिय टोली
यमुना रसाइली बागलुङ, नेपाल पुलिस
तिला चौधरी नवलपुर, नेपाल पुलिस
उषा भण्डारी तनँहु, नेपाल पुलिस÷राष्ट्रिय टोली
कमला पुन म्याग्दी, नेपाल पुलिस÷राष्ट्रिय टोली
रिमा कुँवर पर्वत, न्यु डायमन्ड
हिरा केसी पर्वत, एपिएफ
रस्मिता दुरा लमजुङ, एपिएफ
विभिन्न क्लबमा आबद्ध गण्डकीका पुरुष खेलाडी
मानबहादुर श्रेष्ठ नवलपुर, नेपाली राष्ट्रिय टोली
दिलबहादुर सुनार बागलुङ, त्रिभुवन आर्मी÷ नेपाली राष्ट्रिय टोली
धनबहादुर भट्ट नवलपुर, त्रिभुवन आर्मी÷ नेपाली राष्ट्रिय टोली
दुर्गा महतो नवलपुर, त्रिभुवन आर्मी÷ नेपाली राष्ट्रिय टोली
इश्वर थापा तनँहु, त्रिभुनव आर्मी÷ नेपाली राष्ट्रिय टोली
तोरण सिंह दर्जी बागलुङ, नेपाल पुलिस
प्रज्वल मल्ल म्याग्दी, नेपाल पुलिस
इम राना कास्की, नेपाल पुलिस÷ नेपाली राष्ट्रिय टोली
कुलबहादुर थापा गुल्मी (पश्चिमाञ्चल खेलाडी) नेपाल पुलिस÷ नेपाली राष्ट्रिय टोली
रुपेन्द्र गैरे पर्वत, एपिएफ
विजय थापा मगर स्याङजा, एपिएफ÷ नेपाली राष्ट्रिय टोली
महेन्द्र श्रेष्ठ स्याङजा, एपिएफ
किरण गौर नवलपुर, एपिएफ
दिपक थापा स्याङजा, हेल्प नेपाल

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->