पोखरा/ लिगको शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लब २० औं आहा ! गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मछिन्द्र आहा ! रारा गोल्डकपको सेमिफाइनल पुगेको यो दोस्रो पटक हो । सोमबार पोखरा रंगशाला स्थित फुटबल मैदानमा सोमबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई ४–१ को फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा गरेको हो । मछिन्द्र यसअघि २०७० सालको १२ औं संस्करणमा सेमिफाइनल प्रवेश गरेको थियो । त्यो बाहेक मछिन्द्र कुनै पनि सहभागितामा क्वाटरफाइनलभन्दा माथि पुग्न सकेको थिएन ।
मछिन्द्रले खेलको १३ औं मिनेटमा गोल गर्दै अग्रता लियो । मिडफिल्डर उत्सव राईको उत्कृष्ट गोलसँगै मछिन्द्रले अग्रता लियो । थिसिङ गुरुङले क्रस गरेको बललाई डिफेन्डर अमित तामाङले नियन्त्रणमा लिदैँ निरज बस्नेतलाई दिएको पासमा अभियान प्रधानले छिर्के हान्दै अनियन्त्रित बललाई सम्हाल्दै उत्सवले उत्कृष्ट गोल गरे ।
यसअघि छैटौंं मिनेटमा संकटाको रोशन पहारीको प्रहारमा मछिन्द्रका गोलरक्षक सूर्य अधिकारी बाधक बने । उनले रोकेको बल रिवाउन्ड हुँदा ओधे ओलुवार्गो ग्लोरीले प्रहार गरेको बललाई पनि गोलरक्षकले बचाए ।
खेलको ८ औं मिनेटमा ग्लोरीले लक्ष्मण रुचाललाई मिलाइ दिएको पासमा लक्ष्मण पुग्न नसक्दा अर्को अवसर खेर गयो । १४ औं मिनेटमा लक्ष्मणकै हेडर बाहिरिन पुग्दा बराबरी गर्नबाट चुक्यो । २० औं मिनेटमा मछिन्द्रका फरवार्ड अभिषेक रिजालको प्रहारमा गोलरक्षक थापा बाधक बन्दा अग्रता लिनबाट चुक्यो । २६ औं मिनेटमा उत्सवको पासमा रेजिनको प्रहारलाई उनले बचाउ गरे ।
३२ औं मिनेटमा मछिन्द्रले अग्रता दोब्बर गर्ने सुवर्ण अवसर खेर फाल्यो । कप्तान रन्जित धिमालको पासमा अभिषेकले अघि बढाउँदै गरेको प्रहार पोष्टबार नजिकैबाट बाहिरियो ।
मध्यान्तर अघि १–० गोलले अघि रहेको मछिन्द्रले मध्यान्तर पछि भने थप ३ गोल गर्न सफल रह्यो । खेलको ४७ औं मिनेटमा मेस्सुके ओलोमोउले ३ डिफेन्डरको बिचबाट प्रहार गर्दै उत्कृष्ट गोल गरे । नाथनिल जुडे गार्कियाले डिफेन्सलाइनबाट प्रहार गरेको लामो बललाई अभिषेक रिजालले नियन्त्रणमा लिदैँ मेस्सुकेलाई पास दिएका थिए ।
६१ औं मिनेटमा अभिषेकले फ्लिक गरेको बललाई डिफेन्सले क्लियर गरिदिए । खेलको ६३ औं मिनेटमा संकटाका परिवर्तित खेलाडी गणेश हमालले हेडर मार्फत गोल गर्दै २–१ को स्थितिमा ल्याउँदै खेलमा फर्किने लक्ष्ण देखाएका थिए । संकटाका ग्लोरीले बल अघि बढाउदै गरेको प्रहारलाई डिफेन्डरले बचाउ गर्दा कर्नर प्राप्त गरेको थियो । अमितले प्रहार गरेको कर्नरमा निरज बस्नेतले दिएको हेडपासमा हमालले गोल गरे । ७४ औं मिनेटमा संकटाका गणेश हमालको प्रहारलाई डिफेन्डरले क्लियर गरिदिदाँ बराबरी गर्नबाट चुक्यो ।
८४ औं मिनेटमा परिवर्तित खेलाडी अभिषेक गुरुङले गोल गर्दै ३–१ को स्थिति बनाए । कप्तान रन्जित धिमाललाई डिफेन्डर अमित तामाङले डि एरियाभन्दा बाहिर लडाएपछि मछिन्द्रले फ्रिकिको अवसर प्राप्त गरेको थियो । ओमोलाजा नुरेन करिमले प्रहार उक्त फ्रिकिकलाई गोलरक्षक राजाबाबुले बचाउ गर्दा फुत्किएको बलमा अभिषेकले गोल गरेका थिए । उनी रेजिनको स्थानमा मैदान प्रवेश गरेका थिए ।
८६ औं मिनेटमा मेस्सुकेले व्यक्तिगत दोस्रो गोल गर्दै जित निश्चित गरे । उनले ग्लारिकाको पासमा गोल गरे । उनी खेलको म्यान अफ दी म्याच घोषित भए ।
अब मछिन्द्रले फाइनल प्रवेशका लागि एपिएफसँग सेमिफाइनलमा भिड्ने छ ।





