पोखरा/ आहा ! राराको ५ पटकको च्याम्पियन थ्रीस्टार क्लबलाई १–० गोलले हराउदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक अन्तिम क्वाटरफाइनल खेलको दोस्रो हाफमा गोल गर्दै मनाङसँगको भेट पक्का गरेको हो । आर्मीको जितमा परिवर्तित खेलाडी राजिव गुरुङले गोल गरे ।
खेलको सुरुआत देखि नै निकै दबाबमा राखेको आर्मीले दोस्रो हाफमा गरेको एक गोल नै निर्णायक बन्न पुग्यो । खेलको छैटौं मिनेटमा थ्रि स्टारका डोना थापाको पासमा घनेफो अन्सुमना क्रोमहले भेट्न खोजेपनी आर्मीका गोलरक्षक विकेश कुथुले अघि बढ्दै क्लियर गरे । खेलको ७ औँ मिनेटमा आर्मीका प्रिन्स कार्कीले गोल गर्ने अवसर खेर फाले । उनले वान भर्सेस वानको अवस्थामा प्रहार गरेको बल गोलरक्षक ग्लुमे प्रिसोले बचाउ गरे । लगत्तै ८ आँै मिनेटमा अर्को अवसर खेर फाले । डिफेन्स लाइनबाट आएको बललाई उनले नियन्त्रणमा लिदै अघि बढाए पनि रफेल बिडिस रिमले क्लियर गरे ।
१३ औँ मिनेटमा दिपक गुरुङको लामो थ्रोइन गोल पोस्ट नजिकै पुग्दा कप्तान भरत खवासले भेट्न नसक्दा गोल गर्ने सुवर्ण अवसर खेर गयो । २२ औँ मिनेटमा डोना थापाको लामो प्रहार पोष्ट नजिकैबाट बाहिरिदा थ्रिस्टार गोल गर्नबाट चुक्यो । ४२ आँै मिनेटमा प्रिन्स कार्कीको फ्रिकिक प्रहार गोलरक्षक प्रिसोले उत्कृष्ट बचाउ गरे । खेलको ६० आँै मिनेटमा प्रीन्स कार्कीको उत्कृष्ट फ्रीकिक प्रहारलाई गोलरक्षक प्रीसोले बचाउ गर्दा रिबाउन्ड भएको बलमा शेषहङ आङदेम्बेको प्रहार बाहिरियो ।
७० आँै मिनेटमा राजिव गुरुङले गोल गर्दै अग्रता दिलाए । प्रिन्स कार्कीको फ्लिकमा थ्रिस्टारका डिफेन्डर जीवन गुरुङ मैदानको बीच भागमा चिप्लिँदा दुर्भाग्य सावित भयो । राजीवले झन्डै ३५ यार्ड टाढाबाट गोलरक्षक प्रिसो अघि बढ्दै गरेको अवस्थामा गरेको प्रहारले सहजै जाली चुमेको थियो । उनी ६४औं मिनेटमा टंक बस्नेतको स्थानमा मैदान छिरेका थिए ।
७७ औ मिनेटमा प्रिन्स कार्कीको प्रहार दोस्रोबार नजिकैबाट बाहिरियो । ८५औं मिनेटमा मिक्चेन तामाङको कर्नरलाई गोलरक्षक विकेशले पञ्च गरेपनि लाकेन लिम्बुको भली प्रहारलाई विजय भुजेलले ओभरहेड किक प्रयास गर्दा आर्मीका भरत खवासले हेड गर्दै जोगाए ।
अब आर्मीले बिहीबार मनाङ मस्र्याङ्दीसँग दोस्रो सेमिफाइनल खेल्नेछ । बुधबा। एपिएफ र मछिन्द्रबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।
पाएको अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोर्न परेको थ्रिस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले बताए । उनले गोलरक्षकले निकै उत्कृष्ट प्रदर्शनी गरेपनि डिफेन्डर चिप्लिँदा गोल खान पुगको प्रतिक्रिया दिए । कप्तान अशोक खवास र निशान खड्का चोट मुक्त हुँदै खेल खेलेको कारण व्यालेन्स नमिलेको उनले बताए ।
आर्मीका प्रशिक्षक राजु तामाङले आहा रारा जित्नकै लागि आएको बताए । खेलाडीले पहिलो हाफमा पाएको अवसरको सदुपयोग गर्न नसक्दा गोल सोचेजति नभएको उनले सुनाए ।





