‘पोखरामा उपाधि नजित्दा मन खिन्न भएर आउँछ । मेरो करियर सुरु भएकै पोखराबाट हो । तर मैले पोखरामा नै उपाधि उचाल्न पाइनँ ।’
पोखरा/ नेपाली फुटबलमा निकै चर्चा पाएको नाम मध्येको एक हो, भरत खवास । कुनै समय नेपाली फुटबलका घोडा भनेरसमेत चिनिएका खवास लामो समयदेखि त्रिभुवन आर्मी क्लबका कप्तानी सम्हालेका छन् ।
एन्फा एकेडेमीका उत्पादक भरतसँग आहारारा गोल्डकपको अनुभव पनि निकै लामो छ । नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य समेत रहेका खवासले आर्मीलाई पोखरामा उपाधि दिलाउन सकेका छैनन् ।
२०६३ सालमा संकटामा छिर्दै ए डिभिजन क्लबको शुरुआत गरेका खवासले २०६७ सालको नवौँ संस्करणदेखि नै आहारारा गोल्डकपमा डेब्यु गरेका खवासले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । उनको फुटबलको शुरुआत भएको नै पोखराबाट हो । तर, पोखरामा नै उनले उपाधि उचाल्न अझै पाएका छैनन् । आहारारा गोल्डकपको २ दशकमा आइपुग्दासम्म खवासको सहभागिता इतिहास एक दशक लामो छ ।
हिलाम्मे पोखराको फुटबल मैदानदेखि अन्तर्राष्ट्रियस्तरको मैदान बन्नेबेलासम्म उनले उपाधि उचाल्न सकिरहेका छैनन् । उनको कप्तानीमा
रहेको आर्मी ४ पटकसम्म आहाराराको उपाधि नजिक पुगेरपनि उपाधि उचाल्नबाट अझै बञ्चित छ ।
पोखराबाट नै राष्ट्रिय टोलीमा डेब्यु गरेका खवासले देशको पूर्वदेखि पश्चिमसम्मका विभिन्न प्रतियोगिताका उपाधि उचाली सकेका छन् विडम्वना पोखरामा भने त्यसो कहिल्यै हुन सकेन ! यतिमात्र होइन उनले नेपाल पुलिस क्लबबाट खेल्दा समेत पोखरामा उपाधि उचाल्न पाएनन् । पोखराले उनलाई राष्ट्रिय खेलाडी त बनायो, अन्तराष्ट्रिय प्रतियोगितामा डेब्यु गर्ने संयोग त दिलायो तर उपाधि भने दिलाएको छैन ।
२००८ मा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका खवास भन्छन्, ‘पोखरामा उपाधि नजित्दा मन खिन्न भएर आउँछ । मेरो करियर सुरु भएकै पोखराबाट हो । तर मैले पोखरामा नै उपाधि उचाल्न पाइनँ ।’
एन्फाको १० वर्षमूनिको टोलीमा रहँदा खवास सिमलचौरमा बसेर एक वर्ष पढका थिए । ‘मैले अन्तर्राष्ट्रिय खेलका लागि पोखरामा नै भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यु समेत गरें,’ भन्छन्, ‘हामीले त धेरै प्रतियोगिता जित्यौं । हामीले जित्न नसकेको भनेको लिग र आहा रारा गोल्डकप हो । ४ पटक फाइनल प्रवेश गरेका छौं । तर, उपाधि जितेनौं ।’
आर्मीको खेल अविस्मरणीय हुन्छ । निकै आक्रामक शैलीमा खेल्ने आर्मी २० औं संस्करणमा समेत सेमिफाइनलबाट बाहिरियो । मनाङमस्र्याङ्दीसँग टाइब्रेकरमा ४–३ को हार व्यहोर्दै आहाराराबाट बिदा भएको हो । ‘हामी मिहेनत त गर्छौं । तर, अन्तिममा गएर हामीलाई भाग्यले पनि साथ दिएको छैन । जहिल्यै हारेका छौं,’ उनी भन्छन् । आर्मी २०६५, २०६६, २०७२ र २०७५ सालमा आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको थियो ।
आर्मीलाई पेनाल्टीमा हराउँदै मनाङ फाइनलमा
घरेलु टोली मनाङ मर्स्याङ्दी क्लब २० औ आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मनाङले आर्मीलाई पेनाल्टीमा ४–३ ले
हराउँदै फाइनल प्रवेश गरेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि अतिरिक्त ३० मिनेट थप गरिएको थियो । थप गरिएको समयमा समेत दुबै टोलिले गोल गर्न नसक्दा खेल पेनाल्टीमा प्रवेश गरेको हो । मनाङले अब एपिएफसँग शनिबार
उपाधिका लागि भिड्ने छन् । एपिएफले मछिन्द्रलाई ३–१ गोलले हराउँदै फाइनल प्रवेश गरेको हो ।
पेनाल्टीमा आर्मीका भरत खवास, प्रिन्स कार्की र विवेक बस्नेतले गोल गरे । आर्मीका दीपक गुरुङको प्रहार बारमा लाग्दै बाहिरियो । युद्ध शाहिको प्रहार गोलरक्ष अशोक बरालले बचाउ गरे । अशोक खेलको म्यान अफ दी म्याच घोषित भए ।
मनाङका एन्डेलेजा सोमिडे, शिव गुरुङ, रुपेश केसी र आफिज ओलावालाले गोल गरे । विश्व अधिकारिको प्रहार भने गोलरक्षक विकेश
कुथुले बचाउ गरे । यस अघि पहिलो हाफमा पेनाल्टीमा चुक्दा मनाङले निर्धारित समयमा जित निकाल्न सकेन ।
खेलको पहिलो मिनेटमा आर्मीका कप्तान भरत खवासको हेडर फितलो रह्यो । विवेक बस्नेतको क्रसमा मनाङ मर्स्याङदीका डिफेन्डर अदित्य चौधरीले हेडमार्फत क्लियर गर्न खोज्दा चिप्लिदा खवासले अवसर पाएका थिए ।

खेलको ८ औं मिनेटमा मनाङका कप्तान विमल राना पेनाल्टीमा चुक्दा सुवर्ण अवसर खेर गयो । मनाङका एन्डेलजा सोमिडेले डिएरिया नजिकैबाट गरेको क्रसपासमा आर्मीका डिफेन्डर युद्ध शाहिले डि एरियाभित्र बल नियन्त्रणमा लिने प्रयास गर्दा हातमा लागेको थियो ।
३५ औं मिनेटमा कप्तान भरतको हेडर बाहिरियो । बिवेक बस्नेतको प्रहारलाई डिफेन्डरले रोक्दा प्रिन्स कार्कीको प्रहार गोललाइनबाट रोक्दा रिफ्लेक्ट बलमा भरतले प्रहार गरेका थिए । ३९ औं मिनेटमा रजेश परियारको क्रसमा सोमिडेको हेडर पोस्ट नजिकैबाट बाहिरियो । ४४ औ मिनेटमा बिमल पाण्डेको पेनाल्टी क्षेत्रको प्रहार गोलरक्षक अशोक बरालले उत्कृष्ट बचाउ गरे ।
५२ औं मिनेटमा ओलावालेको प्रहारमा आर्मिका गोलरक्षक विकेश कुथु बाधक बने । खेलको ५६ आंै मिनेटमा आर्मिको गोलको सुवर्ण अवसरमा डिफेन्डर बाधक बने । प्रीन्स कार्कीको फ्रीकिक प्रहारमा राजिव गुरुङको हेडरलाई डिफिन्डरले गोललाइनबाट क्लियर गरे । ६१ औं मिनेटमा ओलावालाले सेन्टरलाइनबाट अघि बढाएको बलमा आर्मीको गोलरक्षक निकै अघि बढ्दा बिट भइसकेको अवस्थामा प्रहार गर्न ढिला गरे । उनले दिएको पासमा अडेलजा सोमिडेले प्रहार गरेपनि विकेशले उत्कृष्ट बचाउ गरे ।
जितसँगै मनाङका प्रशिक्षक फुजा तोपेले उपात्रि जितेरै जाने प्रतिक्रिया दिए । मनाङको फाइनलको यो यात्रा १२ औं पटक हो । मनाङ आहा रारा गोल्डकपको सर्वाधिक च्याम्पियन टिम हो । मनाङले ६ पटक उपाधि उचालेको छ । उता फाइनलमा पुगेको एपिएफको भने दोस्रो हो । १४ वर्षपछि फाइनल पुगेको एपिएफ उपाधिविहीन छ ।





