निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा रोकिएपछि ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा एपीएफले मनाङलाई दबाबमा राखे पनि गोल हुन सकेन ।
पोखरा/ शनिबार पोखरा रंगशाला फुटबल मैदानमा मनाङले फेरि पनि च्याम्पियन बन्दै ७ औं पटकको विजेता बनेर कीर्तिमानी कायम गर्नै लागेको थियो । निर्धारित ९० मिनेट सकिँदासम्म मनाङ मस्र्याङदी क्लब २–१ गोलले अघि थियो । ९० मिनेटको खेलमा ५ मिनेट थप गरिएको थियो ।
मनाङको प्रतिद्वन्द्वी एपिएफका खेलाडी तथा पदाधिकारीदेखि समर्थकसम्म एक प्रकारको निराशा छाइसकेको थियो । खेल सकिनै लाग्दा पाँच मिनेट इन्जुरी समय थपियो । मनाङका समर्थकहरु एकाएक खुसी भइरहेको अवस्थामा जब एपिएफले गोल ग¥यो त्यसपछि त्यो मैदान नै फरक देखियो । मैदानमा एपिएफ १४ वर्षअघिको नजिता उल्ट्याउन चाहन्थ्यो, प्रशिक्षक कुमार थापा १८ वर्षअघिको ।
निर्धारित समय र थप गरिएको इन्जुरी समय २–२ गोलको बराबरीमा रोकिएपछि खेलमा समय थपियो बराबरीमा सकियो अनि पेनाल्टीमा गयो । पेनाल्टीमा एपीएफले नतिजा आफ्नो पक्षमा पा¥यो । एपीएफले मनाङ मस्र्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै पहिलो पटक उपाधि उचालेको हो ।
खेलको २० औं मिनेटमै एपीएफले अग्रता लिएको थियो । यसै सिजनबाट एपीएफबाट खेल्न सुरु गरेका युवराज खड्काले वर्मन्ड बिडोमको पासलाई नियन्त्रणमा लिँदै बललाई जाली चुमाएका हुन् । खेलको सुरुआतमै १–० ले पछि पर्न गएपछि मनाङ दबाबमा पर्न गएको थियो ।
खेलको पहिलो हाफमा मनाङलाई दबाबमा राख्दै अग्रता लिएपनि दोस्रो हाफमा भने त्यसलाई कायम राख्न सकेन । दोस्रो हाफमा नयाँ रणनीतिसहित खेल सुधारेर आएको मनाङले खेललाई बराबरीमा मात्रै ल्याएन, अग्रतासमेत लिन सफल रह्यो ।
मनाङका तर्फबाट ६७ औं मिनेटमा क्याप्टेन विमल रानाको पासमा धनञ्जय सिंहले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए । मनाङबाटै खेलको अन्तिम समयमा विश्व अधिकारीको प्रिकिक प्रहारलाई हेडिङमार्फत सुन्दर फिनिसिङ दिँदै फ्रांक्लिन कुटे टल्लाले पछि परिसकेको खेललाई अग्रता दिलाए । उनले खेलको ८३ औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो हाफको निर्धारित समय सकिन केही सेकेन्डमात्रै बाँकी रहँदासम्म मनाङ आफ्नो जितमा ढुक्कमा थियो । तर, थपिएको ५ मिनेटको इन्जुरी समय मनाङलाई सुखद रहेन । इन्जुरी समयमा एपीएफका रवि थिङ चम्किँदा उपाधि नजिक पुगिसकेको मनाङ बराबरीमा फर्किनुप¥यो ।
५ मिनेट थपिएको इन्जुरी समयको पहिलो मिनेटभित्रै एपीएफका रवि थिङले हेडरमार्फत गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याएका थिए । मनाङका डिफेन्डरले हेडिङमार्फत फर्काएको गोल उनले हेडिङमार्फत नै बललाई जाली चुमाएका हुन् । उनको गोलसँगै मनाङले जित्ने पक्कापक्की भइसकेको खेल खेल बराबरीमा फर्कियो ।
निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा रोकिएपछि ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा एपीएफले मनाङलाई दबाबमा राखेको थियो । तर, पटकपटक काउन्टर अट्याक प्रयास गरे पनि सफल भने हुन सकेन । जसका कारण खेल टाइब्रेकरमा पुगेको थियो ।
मनाङका लागि च्याम्पियन बन्नु महत्वपूर्ण कुरा थिएन । तर, एपिएफका लागि धेरै तरिकाले महत्वपूर्ण थियो त्यो । एक हिसाबले एपिएफ ‘कि गर कि मर’ को जटिल स्थितिमा थियो ।
एकातिर दुई दशक अघि मनाङ मस्र्याङ्दी क्लबलाई पहिलो पटक उपाधि दिलाएका कप्तान कुमार थापा मनाङकै विरुद्धमा थिए भने अर्का तिर एपिएफले १४ वर्षपछि इतिहास कोर्ने अवसर प्राप्त गर्दै थियो । अन्ततः मनाङलाई नै हराउँदै अर्को दुर्लभ इतिहास रचेका छन् प्रशिक्षक थापाले ।
१८ वर्षअघि मनाङमा खेलाडी हुँदै ट्रफि चुमेका उनले फेरि एकपटक ट्रफि चुमेका छन् । त्यो पनि जुन टिमलाई इतिहासमा च्याम्पियन बनाए त्यही टिमलाई हराएर । सहारा क्लब पोखराले २०५८ सालमा क्याराभान गोल्डकपको आयोजना गर्दै पोखरामा फुटबलको सुरुवात ग¥यो । त्यस अघिपनि पोखरामा खुकुरी कप भने निकै चर्चा पाएको प्रतियोगिता हो ।
तत्कालीन मिफडफिल्डर कुमार थापाले खुकुरी कप, क्याराभान गोल्डकप हुँदै आहा गोल्डकप समेत खेले । दोस्रो संस्करणको आहा गोल्डकपमा नेपाल पुलिसलाई ३–१ गोलले हराउँदै मनाङलाई उपाधी दिलाएका थापाले आहारारामा अर्को इतिहास बनाइदिएका छन्, माछाको आकृति रहेको रनिङ शिल्डको त्यो स्वर्णिम प्लेटमा एपिएफको पनि नाम लेखाउँदै ।
एपिएफको फाइनल यात्रा भने यो दोस्रो थियो । पहिलो पटक १४ वर्षअघि फाइनलमा प्रवेश गरेको एपिएफ पुलिससँग हार व्यहार्दै उपाधिविहीन बनेको थियो । त्यसपछि भने कहिल्यै पनि फाइनल प्रवेश गरेन ।
जब एपिएफमा थापाको प्रवेश भयो तब एपिएफले स्वर्ण अक्षरमा नाम लेखाउन सफल रह्यो । थापाको एपिएफमा प्रशिक्षकको यो पहिलो उपाधि हो । उनी यही सिजन एपिएफमा प्रवेश गरेका हुन् ।
उनले शुक्रबार मात्रै आहारारा गोल्डकपको शिल्डलाई आफ्नै अघि हुदाँसमेत हेरेका थिएनन् । १८ वर्षदेखि नछोएको शिल्ड एपिएफलाई इतिहासमा लेखाउने अभिप्रायले नै शुक्रबार पनि छोएनन् । अन्ततः त्यो सपना उनले पूरा गरे । उनी प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक समेत घोषित भए । आफ्नो खेलाडी जीवनमा उत्कृष्ट मिडफिल्डर रहेका उनी अझै पनि उत्कृष्ट नै छन् भन्ने प्रमाणित गरे ।
‘इतिहास भनेको इतिहास नै हो । यो कल्पनानै गर्न सकिएन । खेलाडी हुँदा पनि उपाधि जितें आज प्रशिक्षक हुँदा पनि उपाधि जितें,’ उनी निकै खुसी हुँदै भन्छन्, ‘जुन टिम हेरे मैले । हामी कोभिडको समयमा पनि पोखरामा आयौं । हामीले निकै कडाइका साथ व्यवस्थापन ग¥यौं ।’ खेलाडीको मिहेनतले नै आज मलाई यो अवसर आयो ।’ उनले १८ वर्षअघि आफू टिमको क्याप्टेन र अहिले प्रशिक्षकको रुपमा आएको सुनाए ।
सर्वोत्कृष्ट खेलाडीको उपाधि एपिएफका राजनलाई
एपिएफका डिफेन्डर राजन गुरुङ २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगितको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले अप्रिला स्कुटर प्राप्त गरे । उनले उत्कृष्ट डिफेन्डर समेत चुनिँदै नगद २५ हजार रुपैँयाको साथमा ट्रफि हात पारे ।
विधागत पुरस्कार तर्फ भने एपीएफको वर्चस्व रह्यो । उत्कृष्ट फरवार्ड मनाङका आफिज ओलावाले घोषित भए । यस्तै एपीएफका रवि थिङ उत्कृष्ट मिडफिल्डर र उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक एपिएफकै कुरियामा युया र उत्कृष्ट प्रशिक्षक कुमार थापा घोषित भए । उनीहरुले समान २५÷२५ हजार रुपैयाँको साथमा ट्रफि हात पारे ।





