पोखरा/ दुई महिनादेखि राष्ट्रिय खेलकुद परिषद्को (राखेप)सदस्य सचिवको पद खाली भएपछि यतिबेल खेलसंघ, खेलाडी र राखेप कर्मचारी नै आन्दोलनमा उत्रिएका छन् ।
सत्ता पक्ष कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघले राखेप नेतृत्वविहीन हुनुको कारण खेलकुदमन्त्री रहेको आरोप लगाएको छ । बिहीबार राष्ट्रिय तथा अन्तराष्ट्रि खेलाडी संघ,नेपाल ओलम्पिक संघ र राखेप कर्मचारी संघले राखेपदेखि दशरथ रंगशालासम्म ¥याली गर्दै विरोध गरेका थिए ।
उता, सत्ता पक्षकै खेल संघले भने खेलकुदको नाममा कार्यकर्तालाई महत्व दिँदा समग्र खेलाडी तथा कर्मचारी मर्कामा परेको आरोप लगाएको छ ।
लोकतान्त्रिक खेलकुद संघले शुक्रबार विज्ञप्ति जारी गर्दै तत्काल रिक्त पदमा वैकल्पिक व्यवथापन गर्न ध्यानाकर्षण गरेको छ ।
राखेपमा सदस्य सचिवको नियुक्तिका कारण देखाएको असहज परिस्थिति माथि गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । संघका अध्यक्ष देवेन्द्र शेरचनले सदस्य सचिव विवाद सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा यदि पद रिक्त भएमा ऐन अनुसार त्यसको विकल्पका लागि बाधा अडकाउ फुकाउने प्रावधान हुँदाहुँदै पनि कार्यकतालाई भर्ती गराउने उदेश्यले अहिलेसम्म वेवास्ता गरेको बताए । उनले खेलकुद मन्त्रालयमा असक्षम नेतृत्व रहेको आरोप लगाए । गलत कदम उठाउने सत्तापक्ष होस् या विपक्षी सधैं खबरदारी गर्ने उनको भनाइ छ ।
खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नियुक्त गरेका सदस्य सचिवदेखि ९ राखेप बोर्ड सदस्यलाई अदालतले बदर गरेसंगै सदस्य सचिवको समस्या सुल्झिएको हो । शेरचनले मन्त्रीले आफूले चाहेको व्यक्तिले काम गर्न नापाएको कारण नै अहिले वैकल्पिक तरिका नसोचेको आरोप लगाए । ‘यो विवादमा मन्त्रीले नियुक्ति गर्नुभएको व्यक्तिहरुले काम गर्न नपाउने भएपछि समस्या आएको हो । कार्यकर्ता पोस्ने काम हुँदा आम खेलाडी र राखेप कर्मचारी मर्कामा परिरहेका छन्’, उनले भने,‘हामीले त यो सम्झाएका मात्रै छौँ । यदि समस्याको समाधान नभएमा संघमाआबद्ध कर्मचारी धेरै छन् । हामी मैदानमै उत्रिने छौँ ।’
मन्त्रीले गम्भीरता नदेखाउँदा राखेप कर्मचारीले २ महिनादेखि तलबसमेत नपाएको उनले बताए । ‘कर्मचारीले २ महिनाबाट तलब पाएका छैनन् । राज्यबाट हुने खेल गतिविधिदेखि पुर्वाधार निमार्ण लगायत सेवा सुविधा सबै बन्द भएका छन् । यस्तो हुँदा हामी हेरेर कहाँ बस्न सक्छौँ ?’,उनले भने । उनले अब मौन भएर बस्ने समय सकिएको बताउँदै तीन संघको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै थप समाधान नभए सशक्त रुपमा आन्दोलनमा जाने चेतावनीसमेत दिए ।
राखेप सदस्य सचिव नै प्रमुख कार्यकारी रहेको हुँदा समस्या आएको हो । सदस्य सचिवको विकल्प नसोच्दा चीनमा हुने एशियाली खेलकुद, १४ औं दक्षिण एशियाली खेलकुद र गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्णरुपमा प्रभावित हुन पुगेको छ ।





