आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपालको विश्वकप खेल्ने सम्भावना छ : कप्तान लामिछाने

नेपालको विश्वकप खेल्ने सम्भावना छ : कप्तान लामिछाने

उद्घाटन खेलमा नेपाल र ओमान भिड्ने ।


  • ढोरपाटन संवाददाता
  • माघ २५ २०७८, मंगलबार

पोखरा/ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपालको विश्वकप खेल्ने सम्भावना बलियो भएको बताएका छन् ।
आइसिसी टि २० विश्वकप ग्लोबल छनोट ए खेल्ने तयारीमा रहेको नेपाल ओमान जानुअघि उनले खेलाडीमा आत्मबल रहेको र विश्वकप खेल्ने सम्भावना बोकेर जान लागेको बताएका छन् ।
आगामी फागुन पहिलो सातादेखि हुने छनोट खेलका लागि नेपाल ओमान तर्फ प्रस्थान गर्दैछ । नेपालले फागुन ६ गते ओमानसँग उद्घाटन खेल खेल्नेछ ।
‘विपक्षीको भिडियोहरु हरेर योजनाहरु बनाएका छौं । धेरै कुरा भन्न मिल्दैन । हाम्रो विश्वकप खेल्ने धेरै सम्भावना छ’, उनले भने, ‘पछिल्लो दुई वर्षमा नेपालले जुन क्रिकेट खेलेको छ । एक दुईवटा खेल छोड्ने हो भने सबैमा राम्रो गरेका छौं ।’ उनले विश्वकप खेल्ने खेलाडीको मात्र सपना नभई समग्र नेपालीको सपना भएको सुनाए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शुक्रबार औपचारिक रुपमा टि२० ग्लोबल छनोट ए को खेल तालिका र समूह सार्वजनिक गरेको थियो ।
उक्त तालिका अनुसार ग्लोबल छनोट ए मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई रहेका छन् । उक्त समुहलाई समेत दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् ।

फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउने छन् । नेपाल पनि २०१४ पछि पहिलो पटक विश्वकप खेल्ने लक्ष्यका साथ तयारीमा छ । टि २० विश्वकप छनोटअघि नेपाल, आयरल्यान्ड, ओमान र युएई गरी चार देशबीच टि२० आई सिरिज हुनेछ ।
ग्लोबल टि२० विश्वकप छनोट बी भने जुलाई ११ देखि १७ सम्म जिम्बावेमा हुनेछ । नेपालले सन् २०१४ मा पहिलो पटक पारस खड्काको कप्तानीमा टि२० विश्वकप खेल्दै इतिहास रचेको थियो । त्यसपछि भने नेपाल २०१६ र २०२१ को टि २० विश्वकपमा छनोट हुन सकेन । सन्दीप आफ्नो पहिलो कप्तानीमा नै नेपाललाई विश्वकप खेलाउन चाहन्छन् ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको १६ सदस्यीय टोलीमा कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->