बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

प्रदेशको जर्सी लगाउने, खाली हात फर्किने

प्रदेशको जर्सी लगाउने, खाली हात फर्किने


  • विजय नेपाली
  • माघ २८ २०७८, शुक्रबार

पोखरा/ गण्डकी प्रदेशको आफ्नै टिम भनेको पुरुष भलिबलको मात्रै हो । त्यो पनि यताउताबाट बटुलेर बनाइको !
पुसमा ३ प्रतियोगिता भए–बागलुङको ढोरपाटनमा र स्याङ्जामा स्थानीय तथा पोखरामा राष्ट्रियस्तरको । खेलाडीहरु विभाजित भए । गण्डकीबाट खेल्ने भनि नाम आएका चर्चित खेलाडीहरुले प्रदेशको टिमलाई छाडेर स्थानीय खेल खेल्न पुगे । उनीहरुलाई थाहा थियो– प्रदेश टिमा जाँदा भत्ता पाइँदैन र आइन्दा स्थानीय प्रतियोगितामा खेल्न पाइँदैन । स्वभाविक थियो, खेलाडीले स्थानीय प्रतियोगिता रोजे ।

२०७७ सालमा भएको प्रथम टाइगरकप खेल्दा विजेता बनेका खेलाडीले पुरस्कार राशी बाँढेर लिन पाए । प्रदेश सरकारका रात्रिभोज खाए । जीतको खुसीयालीमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भनेका थिए ‘यो टिमलाई कहिँ नपठाउनू, प्रदेश सरकारले व्यवस्था गर्छ ।’ तर, गुरुङ नेतृत्वको सरकार ढलेसँगै प्रदेश भलिबल टिमको सपना पनि ढल्यो ।एक महिनासम्म बन्दसत्रमा बसेका उनीहरुले गाडीभाडाबाहेक केही पाएनन् । पृथ्वीचोकको पञ्चामृत होटलमा पुस ५ गतेदेखि २५ गतेसम्म बस्दा बिलमात्रै २ लाख ८३ हजार पाँच सय रुपैयाँ निस्कियो । पुस २६ गतेदेखि १ गतेसम्मको खर्च रकम आयोजकले व्यहो¥यो । होटलको दैनिक खर्च ९ सय थियो । तयारीको लागि बसेको खर्च खेलाडीको टाउकोमा आयो ।

गण्डकी प्रदेशका लिफ्टर राजन दर्लामी मगर असोजमा काठमाडौंमा भएको एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसीपमा हेल्पनेपालबाट खेल्दा ३० हजार रुपैयाँ पाए । अघिल्लो वर्ष भएको प्रथम टाइगरकपमा उनले २३ हजार पाएका थिए । त्यो पनि विजेता भएकै कारणले । तर,दोस्रो संस्करणको टाइगरकपमा खेलाडीले रकम पाएनन् । चौथो हुँदा पाएको ३५ हजार नै गाडी भाडामा खर्चनु प¥यो । प्रदेशको नेतृत्व गर्ने खेलाडीलाई भने सुको रकम दिएका छैनन् । बरु,स्थानीय प्रतियोगिता खेल्दा नै उनीहरुले प्रति खेल २ हजारदेखि ५ हजारसम्म पाउने गरेका छन् ।

प्रदेशबाट खेल्ने खेलाडीको भन्दा स्थानीय खेलाडीले बढी रकम पाइरहेका छन् । त्यसैले त गण्डकीमा नाम चलेका प्रभावशाली खेलाडीहरुमध्येका प्रकाश सुनार, कमल सुनार, विमल परियार, अशोक श्रेष्ठ र दीपक मल्ल जस्ता खेलाडी प्रदेशबाट खेल्न आएनन् । ‘हामीले त सुको पनि पाएका छैनौं,खै आउँछ कि आउँदैन थाहा नै छैन्’, राजनले भने । गण्डकी प्रदेशका कप्तान हरि पाण्डेले बारम्बार खेलाडीको भत्ताका बारेमा कुरा गर्दा टिमका व्यवस्थापकदेखि संघका पदाधिकारीहरुले फोन उठाउनै छाडेको बताए । ‘मैले पटकपटक यो विषयमा कुरा राखँे आउँछ–आउँछ भन्नुभयो । तर, अहिले त फोन पनि उठ्दैन’, कप्तान हरि पाण्डेले भने,‘हामी एक महिना क्लोज क्याम्पमा बसेका हौँ । टिम तयारीका लागि पाँच लाख आएको भन्ने सुनेको थिए सत्य के हो ? थाहा भएन ।’ खेलाडीहरु भत्ता पाउने आशमा रहेको र बारम्बार फोन गरेर कहिले आउँछ भन्दै सोध्ने गरेको पाण्डेले सुनाए ।

गण्डकीका प्रभावशाली ओपन स्पाइकर घनश्याम चौधरीले प्रदेशबाट खेल्दा भन्दा बाहिरबाट खेल्दा नै आम्दानी हुँदै आएको बताए । उनले असोजकै एनभीए कपमा हेल्प नेपालबाट खेल्दा २५ हजार रुपैयाँ पाएको सुनाए । ‘प्रदेशले त अहिलेसम्म दिएको छैन । पहिला पनि भत्ता पाएका होइनौँ । जितेको पुरस्कार बाँढेका थियौँ । अलिहे पनि आउने नआउने केही ठेगान छैन्’, उनले भने,‘प्रदेशबाट भनेको त नाममात्रै हो अरु केही छैन ।’

राखेपका एक कर्मचारीले पनि प्रदेश खेलकुदले खेलाडीको संरक्षण गर्न नसकेको गुनासो गरे । ‘लाजमर्दो हुन्छ भनेर प्रदेश बनायौँ तर खेलाडीलाई भत्ता र पारिश्रमिक दिने कुनै सम्भावना नै देखिएन’, उनले भने,‘खेलाडीले कतिदिन प्रदेशका लागि भनेर खेल्ने ?’उता, प्रदेशको टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका जीवन भण्डारीले प्रदेशबाट खेल्ने खेलाडीमात्र नभई उनीहरुले बन्द सत्रमा बस्दाको रकमसमेत नपाएको बताए ।‘खेलाडी एक महिनासम्म बन्दसत्रमा बसेर फर्कँदा गाडीभाडासमेत दिने अवस्था थिएन् । धन्न केटाहरु सेमिफाइनलसम्म पुगेका थिए र गाडीभाडा मात्र भए पनि बन्यो’ उनले भने,‘नत्र त खाली हात फर्किनुबाहेकको विकल्प नै छैन् । प्रशिक्षक स्वयम्सेवक हो ।’

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले खेलाडीको सम्पूर्ण व्यस्थापनलाई समेत जोडेर प्रदेशले पाँच लाख रुपैँया आयोजकलाई सहयोग गरेको बताए । आयोजक र गण्डकी प्रदेश युवा तथा खेलकुदमन्त्री राजिव गुरुङबीच भएको छलफलबाट नै उक्त रकम सहयोग भएको थियो । ‘प्रदेशको टिम तयारी भनेर हामीले टाइगरकपसँग जोडेको हो । पाँच लाख रुपैँया सहयोग गरिएको हो’, उनले भने,‘अरु छुट्टै त त्यस्तो छैन् ।’ उनले प्रदेशको बजेट थोरै भएको र प्रदेश छुट्टै बन्द प्रशिक्षण राख्न नसक्ने बताए । आयोजकले भने प्रतियोगिता अवधिभरको खर्चमात्रै व्यहोरेको टाइगर गु्रपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । ‘हामीले सबै टिमलाई प्रतियोगिता अवधिभर एकै सुविधा दिएका थियौँ । प्रति खेलाडी एक हजार रुपैयाँका दरले खान–बस्न व्यस्थापन गरेका हौँ’, उनले भने,‘ होटलमा राखेको खानेबस्ने बसै व्यहोरेका हौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->