पोखरा/ गृह मन्त्रालयले एमसीसीविरुद्धमा रहेका दलहरुले आन्दोलन गर्न सक्ने र शान्ति सुरक्षामा चुनौति थपिन सक्ने भन्दै बन्दकर्तालाई नियन्त्रणमा लिन निर्देशन दिएको थियो । तर, पोखरामा भने बन्दकर्ताले धरपकड खेप्नु परेन । कारण थियो,प्रहरीको नरम रवैया । कास्की प्रहरीले शान्तिपूर्ण बन्दमा हस्तक्षेप नगर्ने र तोडफोडमा उत्रिएमात्र कारवाही गर्ने नीति अख्यियार गरेपछि उनीहरुले एमसीसीविरुद्ध सडकमा मज्जाले नारा लगाए । बन्दको आह्वान पनि गरे ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले तोडफोड तथा धनजनको क्षति भएमामात्र पक्राउ गरिने नीति लिइएको बताए । उने कास्कीमा गैरराजनीतिक क्रियाकलाप नहुँदा अप्रिय घटना नभएको जानकारी पनि दिए ।
यद्यपि, बन्दकर्ताले पोखरा पृथ्वीचोकमा केही गाडी तोडफोड गर्ने प्रयास भने गरेका थिए । पोखरा सभागृहचोक, न्युरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, सृर्जनाचोक हुँदै हल्लनचोकसम्म प्रहरीकै सुरक्षामा बन्द आह्वानसहित नारा–जुलुस भएको थियो । सो अभियानको नेतृत्व गरेका माओवादी विप्लव कास्की जिल्ला कार्यालय सचिव काजी गुरुङले गृह मन्त्रालयले क्रान्तिकारीलाई तर्साउन ठाडो निर्देशन दिएपनि आफूहरु नआत्तिएको बताए । उनले कास्की प्रहरीले आफ्ना एकजना साथीलाई पक्राउ गरेको बताउँदै भने,‘हामी कसैसँग झुक्दैनौँ ।’
बन्दकै दिन पृथ्वी राजमार्गअन्तर्गत अमरसिंहचोक नजिकै शंकास्पद बस्तु समेत फेला परेको थियो । नेपाली सेनाको टोलीले उक्त वस्तु डिस्पोज गराएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपाल, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी र नेकपा माओवादी केन्द्र समाजवादीले एमसीसीको विरुद्धमा नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दको पोखरामा सामान्य प्रभाव रह्यो ।





