पर्वत / हिमाल पारीको जिल्ला मुस्ताङमा आयोजना गरिएको चौथो राष्ट्रिय स्की च्याम्पियनसीप सम्पन्न भएको छ ।
नेपाल स्की एसोसिएसनका महासचिव विजय श्रेष्ठका अनुसार पूर्व प्रशिक्षण गरेर सञ्चालन गरिएको च्याम्पियनसिपमा पुरुषतर्फ काठमाडौँका २२ वर्षीय साहसराम श्रेष्ठ र महिलातर्फ नुवाकोटकी २२ वर्षिया संगिता लामा च्याम्पियन बनेका छन् । १० जना महिला र १६ जना पुरुष गरी २६ जनाबीच प्रतिष्पर्धा भएको थियो ।
महासचिव श्रेष्ठका अनुसार उनीहरू च्याम्पियन बने पनि खेल भएको स्थानमा मुस्ताङमा भने पुरस्कार वितरण बिनै आयोजक तथा प्राविधिक टोली काठमाडौं फिर्ता भएको छ । कोभिड–१९ संक्रमणको अवस्थाका कारण च्याम्पियनसीपमा निम्ता गरिएकाहरू आउन नसक्ने अवस्था भएपछि टोली काठमाडौं फिर्ता भएको हो । केही दिनमा नै काठमाडौंमा कार्यक्रमको आयोजना गरि च्याम्पियन बनेकाहरूलाई मेडल, प्रमाण र पुरस्कार हस्तान्तरण गरिने छ ।
‘च्याम्पियनसिप सकिएको भए पनि खेल भएकै स्थान मुस्ताङमा नै पुरस्कारहरू दिन सकिएन । कोभिडका कारण हामीले बोलाएका अतिथिहरू आउन सक्ने अवस्था रहेन,’ श्रेष्ठले भने, ‘अब केही दिनमा काठमाडौं कार्यक्रमको आयोजना गरेर च्याम्पियनहरुलाई पुरस्कार वितरण गरिने छ ।’
क्रस कन्ट्री स्की च्याम्पियनसिप आयोजना गरेका कारण च्याम्पियन बनेकाहरूले विश्वका अरू देशमा पनि पुगेर प्रतिष्पर्धा र तालिमको अवसर पाउने छन् । यही महिनामा नै लेबनानमा हुने खेलमा र केही समयपछि रसियामा हुन लागेको स्की प्रशिक्षणमा उनीहरूले अवसर प्राप्त गर्ने भएका छन् ।
च्याम्पियनसिप आयोजनामा मुस्ताङकै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले पनि सघाएको थियो । यस पटक भएको दोस्रो हिमपातका कारण लामो समयसम्म पनि हिउँ नपग्लिएपछि पर्यटन प्रवद्र्धनको उद्देश्यसहित मुस्ताङमा चौथो च्याम्पियनसिपको आयोजना गरिएको हो । च्याम्पियनसिप वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको रानीपौवा पाखोमा आयोजना गरिएको थियो ।
हिउँ परेपछि उपयुक्त वातावरण मिले मात्रै च्याम्पियनसिप आयोजना गरिने भएकाले हरेक वर्ष नियमित रूपमा च्याम्पियनसिप हुन्छ भन्ने छैन । दुई वर्षअघि मुस्ताङमा नै तेस्रो च्याम्पियनसिप आयोजना गरिएको थियो ।





