स्याङ्जा/ नेपालकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पस वालिङ भकुण्डेमा ‘बिआईसिटीई’ पढाइ हुने भएको छ ।
विश्वविद्यालय अनुदान आयोगबाट सम्बन्धन प्राप्त क्याम्पसमा शैक्षिक सत्र २०७८÷७९ का लागि स्नातक तहअन्तर्गत शिक्षा शास्त्र संकायमा ‘ब्याचलर अफ् इन्फरमेसन एण्ड टेक्नोलोजी एडुकेसन’ पढाई हुने भएको हो । चार वर्षे कोर्ष अध्ययनका लागि ३६ सिट संख्या रहेको क्याम्पसले जनाएको छ ।
सूचना प्रविधि, सूचना र सञ्चार एवम् डिजिटल क्षेत्रका सम्पूर्ण विद्यार्थीहरुका लागि रचनात्मक तरिकाले समस्या समाधान गराउने सिपको विकासमा लागि सूचना तथा सञ्चार प्रविधि शिक्षाको आवश्यकता रहेका वालिङ बहुमुखी क्याम्पसका प्रमुख सच्चिदानन्द यादले बताए ।
वालिङ लगायत आसपासका क्षेत्रमा यस्ताखाले अध्ययन–अध्यापन नभएकाले प्रविधिमा दक्षता जनशक्ति उत्पादन गर्ने उनले दावी गरे ।समयानुकूल प्रविधिमा दक्षता कायम गर्न क्याम्पसले सूचना तथा सञ्चार प्रविधि शिक्षा विषयमा अध्ययन–अध्यापन गराउन लागेको क्याम्पसका सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोइरालाले बताए ।




