बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

माटोको माया

माटोको माया


  • Dhorpatan News
  • फाल्गुन ९ २०७८, सोमबार

उमेरले नेटो काट्यो तर सपनाहरु बाँकी नै छन् । राजनीति बुझेका देवबहादुर र लीला ढोरले विकास नदेखेकोमा चिन्तित छन् तर आश मारेका छैनन् ।

दसैंको टीकाको दिन । खुलेको निलो आकाश अनि हरिया ढोरको फाँट । अनि फाँटमा एकतमासले चरिरहेका थिए–घोडाहरु । म थिएँ, ढोरपाटन आरक्षको हेडक्वाटरमा । दसैंको दिन, मेरा पैतालाले मलाई स्यालपाँखे गाउँतिर डोहो¥यायो । बाटैमा भेटिए सुजन ब्रदर । उनले केही वर्ष अघिदेखि आफ्नै गाउँमा थकाली होमस्टे सञ्चालन गरेका रहेछन् । उनलाई पछ्याउँदै म पुगेँ– उनको होमस्टेमा ।

चिटिक्क परेको घर । छेवैमा थियो आकर्षक स्याउको बगान । आँगनमा पाहुनालाई बस्न र खाजा खान बनाइएका आकर्षक काठका छाप्राहरु । अनि आँगनबाटै देखिने सर्लक्क परेको ढोरको विशाल फाँट । विशाल फाँट नियाल्दै दसैंको टिका कार्यक्रम सुरु भयो । कस्तो सौभाग्य, यसपालि नजिकैको भुजी गाउँबाट उनका मावली हजुरबा र हजुरआमा यहीँ दसैं मनाउन आइपुगेका थिए ।मैले पनि बा आमाको हातबाट टीका थापेँ । अनि थापेँ,अनगिन्ती आशीर्वादहरु साथैमा । थकाली खान्की खाएर ढोरकै काखमा रहेरहामी ढोरको विगतमा फर्कियौं ।

आमाको नाम लीला साघु भट्टचन । उमेरले असी लागिन् तर जोस जाँगर हेर्दा भर्खर पचास आसपासकै । माइत घर उनको स्याउलीवाङ प्युठान । बा आमाले सोह्र वर्षको कलिलो उमेरमा उनको विवाह फूपुको छोरासँग गराइदिए । अनि उनलाई कर्मले डोहो¥यायो अनकन्टार ढोरपाटनसम्म । कहाँको प्युठान, कहाँको ढोरपाटन ! उनलाई आकाश जमिनको फरक लाग्थ्यो तर उनलाई अझै पत्यार लाग्दैन, कसरी यति चाँडै छ दशक यहीँ फाँटमा बित्यो ।

‘सोह्र साल फागुन महिनामा बिहे भएर आएकी थिएँ म’, उनी विगतमा फर्किन्छिन्, ‘सत्र साल वैशाखमा न हो तिब्बतीहरु शरणार्थी बनेर ढोरपाटन आएका । यहीँ माथि फागुने, देउरालीहुँदै दिउँसो पख एक हुल मानिसहरु हुरुरु आएँ । हामी त यहीँ खेतमा मकै लगाउँदै थियौं । उनीहरुले साथैमा ल्याएका थिए–अजंगका जनावरहरु । लामालामा सिंङ अनि भुत्ला भएका । पछि पो थाहा भयो, ती त चौरी र लुल झुपार रहेछन् ।’

पहिला त तिब्बतीहरु देख्दा स्थानीयहरु तर्सन्थे । बोल्नु त परको कुरा, तर्केर पर भाग्थे । उनीहरु स्थानीयको गोठगोठमा बस्न थाले । शरणार्थी भएकै कारणले उनीहरुले ढोरपाटनमा घर बनाउन अधिकार पाएका थिएनन् । पछि मात्र तिब्बती सरकारले ढोरपाटनमै तिब्बती बस्ती राख्ने भनेर नेपाल सरकारसँग सम्झौता ग¥यो । अनि बन्यो–ढोरपाटनमा तिब्बती बस्ती ।

उनलाई सम्झना छ, तिब्बतीहरु आएपछि हेली र जहाजहरु दिनका दिन ढोरपाटनको आकाशमाथि घुमिरहन्थे । केटाकेटी त रमाइलो मानेर एयरपोर्ट छेवैमै बस्थे रे दिनभर !एयरपोर्टमा सानोतिनो मेला नै लाग्थ्यो जहाज हेर्नेहरुको । उसिनेका चामल, बोराका बोरा आँटा अनि लत्ताकपडाका थैलाहरु एयरपोर्टमा उत्रिन्थे । सबै शरणार्थीहरुले बराबर पाउँथे । कति स्थानीयहरुलाई पनि बाँड्थे ।
स्वीस सरकारको सहयोगमा ढोरपाटनमै सञ्चालनमा आयो मिसन अस्पताल । डाक्टरहरु सबै विदेशी, उपचार पद्धति अनि औषधि पनि विदेशकै । शरणार्थीहरु मात्र हैनन्, स्थानीयहरुले पनि निःशुल्क स्वास्थ्य सेवासुविधा पाउँथे । स्वीस सरकारले त्यहीँ कार्पेट फ्याक्ट्री सञ्चालनमा ल्याए । रोजगार पाए, शरणार्थी र स्थानीय दुवैले । एक अर्थमा शरणार्थीहरु ढोरपाटन आएको राम्रै भयो, उनलाई लागेको थियो ।

– – – –

देवहादुर भट्टचन । उमेरले उनी सतासी लागे । उमेर ढल्केसँगै कान कम सुन्छन् । अनि टाढाको वस्तुहरु ठम्याउन हम्मेहम्मे पर्छ उनलाई । तर पनि ढोरपाटनमा उनलाई सबैले ठम्याउँछन्, टाढाबाटै चिन्छन् । नमस्कार अनि सम्मान गर्छन् । विगतमा झै उनको छाप उस्तै छ । ढोरबासीले अझै उनलाई सम्मान र आदरभाव प्रकट गर्छन् किनकि ढोरको माटो सिञ्चाउन उनले आफ्नो अमूल्य जोवन खर्चेका थिए, राजनीति गरेर ।
युवा कालदेखि नै राजनीति रुचि राख्थे उनी । सानैदेखि बोल्न कौशलता राख्थे । बोलेरै धेरैलाई रिझाउन सक्थे । युवाहरुलाई भेला पारेर समाज परिवर्तनका गफ गर्थे । समयसँगै उनमा राजनीतिको राग भरिँदै गयो । पञ्चायत कालमा उनी प्रधानपञ्च बने । गाउँठाउँमा धेरै परिवर्तनका आशा जगाए ।

पञ्चायत सकियो, तर उनको राजनीतिक जीवन सकिएन । उनी त झन् खारिदै गए । बहुदल आएपछि उनी वडा ध्यक्ष बने । विकासका कामका लागि उनी सधैँ तत्पर रहने । उनका योजनामा जोसिएर गाउँ नै उर्लेर आउँथे । उमेर थपिएसँगै उनको राजनीतिमा सक्रिय घट्दो भयो तर समाजमा सु–शासन, विकास र सकरात्मक परिर्वतनका लागि आज पनि उनको आवाज उस्तै बुलन्द छ । उनी चाहन्छन्, ढोरबासीले पनि विकासका फलहरु चाख्न पाऊन ।

– –– –

लीला साघु द्धन्दकालको कठीन समयमा फर्किन्छिन् । छिमेकी जिल्लाहरु रुकुम, रोल्पा । अनि त्यहीँ थियो जनयुद्धको उद्गम स्थल । त्यसैले युद्धको प्रभाव ढोरपाटनमा राम्रै परेको थियो । श्रीमान गाउँको नेता मान्छे, श्रीमानलाई पो सेना र माओवादी दुवैबाट जोगाउने कसरी ? उनलाई हम्मेहम्मे पथ्र्यो । श्रीमान हट्टी स्वभावका, दुवै पक्षसँग डराउँदैनथे तर डर थियो उनकी श्रीमती लीलालाई ।

मैले श्रीमानलाई जोगाउन अनेक थरी गरेको थिएँ, उनी थप्छिन्, ‘ढोरपाटनको माओवादीका इन्चार्ज प्युठानतिरका मेरै मित भाई थिए । उनलाई भिनाजु नेता थिए भन्ने पनि थाहा थियो । मेरै घरमा माओवादीहरु आउँथे । म उनीहरुलाई मीठो मसिनो पकाइदिन्थे । अनि उज्यालो हुनु अगावै उनीहरु जान्थे तर हामीलाई कहिल्यै केही गरेनन् । कहिले सेना आउँथे त कहिले माओवादीहरु । यो क्रम चलिरहन्थ्यो । श्रीमान उनीहरु कुरा गर्न तम्सिन्थे । कति बेला त श्रीमानलाई ज्वरो आएको नाटक पारेर सुताइदिन्थेँ । बारबार मैले जनयुद्ध ताका जोगाएको थिए श्रीमानलाई ।’

२०६० साल चैत ७ गते । माओवादीले बेनी बजार आक्रमण गरेको दिन । यसको लागि हप्तौं तयारीमा थिए माओवादीहरु । रुकुमको लुकुमबाट ढोरपाटन आइपुगेका थिए माओवादीका टोली । उनलाई सम्झना छ, रातभर सयौं माओवादीका सिपाहीहरु ढोरपाटन हुँदै अघि बढेका । कोही तिर्खाले व्याकुल बनेका हुन्थे त कोही भोकले छट्पटिएका, उनी थप्छिन्, ‘हामीलाई हातमा एक चम्चा नुन भएपनि राख्दिनुस् आमा, त्यहीँ चाँटेर अघि बढ्छौं, कोही भन्थे । कोही बासी ढिँडो नुनमा चोपेर निल्न नपाइ कुदिहाल्थे । किन कि उनीहरुलाई सेनाको डर थियो । ज्यान त सबैलाई प्यारो नि । जुनैबेला नाइट भिजन भएको हेलिकप्टर गस्तीमा आउन सक्थ्यो र उनीहरुको योजना फेल हुन सक्थ्यो । अर्थात बेनी आक्रमण गर्ने योजना ।’
चैत ७ गते माओवादीले बेनी आक्रमण ग¥यो । सत्र प्रहरी, चौध आर्मी र नब्बे जना माओवादी सिपाहीले यस आक्रमणमा ज्यान गुमाएका थिए । दुवै पक्षले आफ्नो जित भएको घोषणा गरेका थिए तर हार व्यहोरेका थिए जनताले । सिंगो देशले । यहीँ आक्रमणमा दुई बालबालिका सहित उन्नाइस जना जनताले ज्यान गुमाएका थिए ।

अझै पनि उनी ती युद्धताकाका दिनहरु झल्झल्ती सम्झिन्छन् । खै जनयुद्ध सकियो, देशबाट राजतन्त्र हट्यो । गणतन्त्र छायो अनि देशमा संघीयता पनि लागू भयो तर खासै परिवर्तनहरु देखिएन ढोरपाटनमा, उनलाई लाग्छ । जनयुद्धमा ज्यान गुमाएका ती अबोध जनताको त्याग र बलिदानले न्याय पाए त ? उनी अझै घोत्लिरहन्छिन् ।जनयुद्ध ताकाका घाउहरु अझै बल्झिरहन्छन् ढोरपाटनमा । कति टुहुरा बने त कति सन्तानविहीन तर ढोरपाटनले गतिलो नेता पाएन । गतिलो अभिभावक पाएन ।

– – – –

अशिक्षा, अज्ञानता र कमजोर सामाजिक प्रणालीले ग्रस्त ढोरपाटन क्षेत्र । छुवाछुत, विभेद र असमानता अझै व्यप्त छन् । उनीहरु अझै पुराना कृषि प्रणालीलाई अगालिरहेका छन् । ढोरबासीहरु अझै वर्षमा तीन पटक बसाइसराइ गर्छन् । वर्खा लाउनुअघि माथि खर्क उक्लन्छन् । तीन चार महिनापछि दसैं तिहार मनाउन घर आइपुग्छन् । अनि जाडो पलाउनु अगावै तल औंलो झर्छन् । तीन ठाउँको बसाइले गर्दा ढोरको एकीकृत विकास सम्भव नभएको हो । यो रहर नभई बाध्यता पनि हो ।

आजको दिनमा उनका चार भाई छोरा र पाँच छोरीहरु देशविदेशमा पुगेका छन् । कोही बुटवल त कोही पोखरा, काठमाडौंमा बस्छन् । बुढाबुढी पालैपालो शहरबाट शहर पुगिरहन्छन् । सन्तानहरु भेट्छन् । केही समय बिताउँछन् अनि ढोरपाटन फर्किहाल्छन् । उनीहरु
नहुँदा घरमा ताल्चा लाग्छ किनकि गाउँको घरमा बुढाबुढी मात्रै । अत्यार लाग्दा ढोरपाटनमै माहिली छोरीको घरमा पुग्छन् ।

राजधानी वर धुलिखेल पुग्दा उनलाई ढोरपाटनको फाँटको झल्को आउँछ । शहर बजारमा बसेपनि मन भने शहरमा अडिदैन । ढोरतिरै फर्किन्छ । कोरोना कहरपछि त उनीहरु धेरै समय यतै बसेका छन् । गाउँघर त्यसै प्यारो । यहाँको हावापानी, अन्न र सागसब्जी अर्गानिक लाग्छ । लेकबाट आएको पानीमा पाँच औले, बुकीको रस मिसिएको हुन्छ । त्यो पानीले त्यसै निरोगी भइन्छ, उनलाई लाग्छ ।गाउँको मायाले उनीहरुलाई ढोरपाटनसम्म दो¥यायो । त्यसैले त यी जोडीलेअन्तिम इच्छा राखेका छन्, ढोरपाटनमै अन्तिम सास फेर्ने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->