पोखरा/ अखिल नेपाल फुटबल संघ (एन्फा)को अधिवेशनको पूर्वनिर्धारित समय प्रभावित भएको छ । एन्फाले फागुन १५ देखि ३० गते भित्र जिल्ला फुटबल संघहरुको निर्वाचन गर्ने पूर्वनिर्धारित कार्यक्रमलाई स्थगित गरेको छ ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको १७ औं बैठकले प्राविधिक कारण देखाउँदै जिल्ला संघको निर्वाचन स्थगित गरेको हो । गत महिना बसेको एन्फा कार्यसमितिको बैठकले जिल्ला संघको निर्वाचन र केन्द्रीय निर्वाचन जेठ १५ गतेका लागि तय गरेको थियो । सोही अनुसार एन्फाले जिल्ला संघलाई निर्देशन पनि दिइसकेको थियो । एन्फाको निर्वाचन निर्देशिका मस्यौदामा फिफा र एएफसीको संशोधन तथा निर्देशन आएकोले थप छलफल र संशोधन गरि अन्तिम रुप दिएपछि मस्यौदा संघको आपकालीत बैठकबाट पारित गरिने महासचिव इन्द्रमान तुलाधरले बताए । एन्फा महासचिव इन्द्रमान तुलाधरले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । यसअघि माघ २९ र फागुन ८ का लागि तय भएको एन्फाको विशेष साधारण सभा स्थगित भएको थियो ।





