पोखरा/ गोपीबहादुर भट्टराई र धरमसिंह लामिछानेको जोडीे नविन श्रेष्ठ र राजु गुुरुङको जोडीसँग पोखरामा जारी रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिताको डबल्सतर्फ उपाधिका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न डबल्सतर्फको सेमिफाइनल खेलहरुमा जितसँगै प्रतिष्पर्धा निश्चित भएको हो ।
पहिलो सेमिफाइनलमा गोपी र धरम जोडीले लोक गुरुङ र राजन पौडेलको जोडीमाथि ६–४, ७–५ को नजित निकाल्दै फाइनलमा स्थान सुरक्षित पार्दा अर्को सेमिफाइनलमा नविन श्रेष्ठ र राजु गुरुङको जोडीले नविन चालिसे र शरण गुरुङको जोडीमाथि ६–४, ६–३ को सोझो सेटमा खेल आफ्नों पक्षमा पार्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।
यता, सिनियर भेट्रान्सको एकल उपाधिका लागि गोपीबहादुर भट्टराई र राजन पौडेलबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताका फाइनल खेलहरु आइतबार बिहान हुने आयोजक संघले जनाएको छ ।
प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।





