दाहिने हातले लठ्ठी समातेका छन् । त्यही हातले समातेका छन्– थाल र गिलास । उनका देब्रे हात र खुट्टा चल्दैनन् । विस्तारै देब्रे खुट्टा अघि सार्छन्, अनि दाहिने खुट्टा बलजफ्ती लतार्छन् । पुग्छन् खाना खाने डाइनिङसम्म । त्यहीँ लठ्ठी समात्ने दाहिने हातले खाना भरिएको थाल समाउँछन् अनि नजिकैको बेन्चमा बसेर कुपुकुपु खाना खान्छन् । खाना खाएर एकै हातले आफ्नो थाल आफैं माझ्छन् । अनि उस्तै गरी शरीर लतार्दै उनी आफ्नो कोठा लाग्छन् । आधा शरीर मरेको जति वर्ष भयो, त्यति नै भयो उनको मन मरेको । प्यारालाइसिसले शरीर म¥यो, घरपरिवारको अवहेलनाले उनको मन । आफ्नै भन्नेहरु पराई हुँदा उनको सारथी बनेको छ, पोखरा वृद्धाश्रम । अनि वृद्धाश्रमका सबै सदस्यहरु आफ्नै परिवारका सदस्य बनिसकेका छन् । आजको दिनमा वृद्धाश्रमका सबैको माया बराबर लाग्छ उनलाई । अनि सब थोक वृद्धाश्रम नै लाग्छ उनलाई । घरपरिवार, आफन्त, इष्टमित्र सबथोक ।
हरिबहादुर थापा । उमेरले सत्तरी लागे उनी । जन्मघर उनको राइनास मोहोरियाकोट, लमजुङ । डेढ वर्ष हुँदा उनले जन्म दिने आमा गुमाए । आमा बितेकै साल बाले घरमा कान्छी आमा भित्र्याए । कान्छी आमाकै तीन सन्तानहरु जन्मिए । आफ्नै आमाको जस्तो व्यवहार कान्छी आमाको त कहाँ हुनु ? अनि त उनलाई मावली हजुरबाले उतै मामाघर लगेर हुर्काए । उतिबेलाको समयमा कहाँ पढ्न पाउनु ? उनले पहिलो किताब मात्र पढ्न पाए जीवनमा । अक्षर चिन्न सके, मात्र त्यति ।
उमेर बढ्दै गएपछि उनमा जिम्मेवारी थपिदै गए । भोको पेट र रित्तो गोजीले उनलाई मजदुरी गर्न भारतसम्म पु¥यायो । कपडा सिलाउने कारखानामा करिब दश वर्ष काम गरे । अलिअलि पैसा जम्मा गरे अनि घर फर्के । फर्किएकै अर्को साल उनले बिहे गरे । केही वर्षमा घरमा खुसीहरु थपिए । एक छोरा र दुई छोरीहरु । ल्याएको पैसा सिद्धिन केही बेर लागेन । सन्तानलाई पढाउन र हुर्काउन फेरि उनी भारत पस्न बाध्य भए ।
सधैं साहुको नोकरी गरेर मात्र कतिन्जेल पुग्ने ? उनलाई लाग्यो । अनि उनले सुरु गरे आफ्नै सानो व्यवसाय । दिल्लीमा चियापसल थापे । छेउछाउमा काम गर्ने मजदुरहरु चिया नास्ताका लागि उनकै पसलमा आउँथे । उनलाई भोक नलाग्ने, जाँगर नचल्ने र रिँगटा लाग्ने समस्याहरु देखिएपछि अस्पतालमा डाक्टरलाई देखाए । उनको त ब्लड प्रेसर बढेको रहेछ । यसले कालान्तरमा नराम्रो असर पु¥याउन सक्ने भन्दै डाक्टरले उनलाई नियमित औषधि खान सल्लाह दिए । अनि उनी आफ्नो स्वास्थ्यमा अझ बढी सजक बनेका थिए ।
त्यसको केही दिनमा नै उनी हाइ ब्लड प्रेसरले कोठामै अचेत अवस्थामा ढले । उनका साथीहरुले उनलाई अस्पताल लगेछन् । कैयौं दिनसम्म उनी अस्पतालको शैय्यामा बेहोस भए । डाक्टरका अनुसार उनको दिमागमा उच्च रक्तचापले एउटा नशा फुटेछ । यसकै असर उनको देब्रे हात र खुट्टामा देखियो । दुवै चलेनन् । उपचारका लागि उनीसँग पर्याप्त पैसा थिएन । पैसा नहुनु रोगबाट जिन्दगीभर थलिनु थियो । निराशासहित साथीहरुले उनलाई कोठामा फर्काए । उनलाई कोठामा हेरचाह गर्ने कसले ? खाना पकाइदिने कसले ? कोही
थिएनन् ।त्यसैले उनै साथीहरुले उनलाई नेपालसम्म पु¥याउने चाजोपाँजो मिलाए । तिनै साथीहरुले सुनौलीसम्म गाडीमा ल्याए ।
त्यहाँ अर्को समस्या आइप¥यो । नेपाल बन्दले उनीहरु बोर्डरमै रोकिए । केही सीप नलागेर अर्कोदिन एम्बुलेन्स रिजर्भ गरेरउनलाई लमजुङ ल्याइयो । बाटैमा रात प¥यो । घरसम्म एम्बुलेन्स पुग्ने बाटो नै गएको थिएन । त्यसैले उनीहरुको बास भयो–बाटाकै होटलमा ।
अर्को दिन बिहान होटल साहुनीकी सानी छोरी देखेर बल्ल उनले झल्यास्स आफ्नी छोरी सम्झिए । उनको बल्ल होस खुल्यो । घरपरिवार, छोराछोरी सबैकोे सम्झना एकाएक आयो । उनको मुहारभरिको खुसी घरसम्म आइपुग्दा तब रित्तियो, जब उनको अवस्था देखेर घरकै परिवारले उनलाई हेला र तिरस्कार गर्न थाले । घर पुग्दा उनलाई सहानुभूति दिनुको सट्टा परिवारहरु तर्किन थाले किनकि उनी अब परिवारका लागि बोझ बन्नेवाला थिए ।
अझै सम्झना छ उनलाई, सानोमा छोरीको हात समातेर पहिलोपल्ट छोरीले तातेताते गर्दै हिँड्न सिकेकी । ठीक त्यसैगरी उनलाई छोरीले हात समाएर हिड्न सिकाउन थालिन् । अलिअलि गर्दै उनी हिड्न सक्नेसम्म भए । उनी लठ्ठीको सहारामा घर वरपर हिँडडुल गर्न सक्ने भए तर उनलाई घरपरिवार नै पराइ लाग्न थाल्यो । म मेरो परिवारको लागि बोझ बनिसकेको रहेछु, उनी थप्छन्, ‘उमेर छँदा मैले इन्डियामा खाइनखाइ अनेक दुःख हन्डर खपेँ । दिन रात खट्टिएर कमाएको पैसा घरकालाई पठाएँ । पढाएँ, हुर्काएँ र बढाएँ तर जब म अशक्त भएँ, तब म त उनीहरुका लागि समस्याहरुको कारक भइसकेछु । उनीहरु मसँग एक वचन मीठो बोल्न चाहँदैनथे । त्यसपछि मेरो मन म¥यो । मेरा लागि घर परिवारहरु सबै मरेसरह भए । घर घर रहेन । आफ्नै घर निर्जन लाग्न थाल्यो । घरमा मन अडिएन । अनि म घरबाट कसैले चाल नपाउने गरी निस्किएँ ।’
कसैलाई थाहा पत्तो नदिई उनी चितवन पुगे, सानीमा कहाँ । केही दिन त्यतै बसे । त्यहीँ पोखरा रातोपहिरोमा रहेको अपांग आश्रमका एक जना कर्मचारीसँग भेट भयो । उनैले थापालाई चितवनबाट आश्रमसम्म आइपुग्न मद्दत गरे ।
चितवनबाट पोखरा पो कसरी पुग्नु, गोजीमा सुक्को पैसा थिएन उनीसँग । उनी दश वर्ष अघिको त्यो दिन यसरी सम्झन्छन्, ‘सानीमालाई घर फर्किन्छु भनेर म त्यहाँबाट निस्किएँ । मलाई पोखरा बसपार्कसम्म एक जनाले पु¥याइदिए । त्यहीँको टिकट काउन्टरको मान्छेलाई मैले सबै समस्याहरु बिसाए । उनैले मिलाइदिए पोखरासम्मको फ्रि टिकट । पोखरासम्म आइपुग्ने समस्या ट¥यो तर पोखरा आइपुग्दा रात परिसकेको थियो । अपाङ आश्रमसम्म पुग्ने न बाटो थाहा थियोन कुनै सम्पर्क मान्छे । बसपार्क छेवैमा बसको कन्डक्टरले मलाई एक रातको लागि होटलमा कोठा व्यवस्था गरिदिए । अनि अर्कोदिन सबेरै आश्रम आइपुगँे ।’
महिला बालबालिका मन्त्रालयले सञ्चालनमा ल्याएको त्यस आश्रममा उनी दुई वर्ष बसे । आएको दुई वर्षमै त्यो संस्था आर्थिक अनियमितताका कारण बन्द भयो अनि उनलाई डोहो¥यायो पोखरा वृद्धाश्रमको बाटो ।
दिन, हप्ता, महिना अनि वर्षहरु बिते । अनि फेरिए कैयौं यामहरु । भित्ताको भित्ते पात्रहरु मात्र हैनन्, कैयौं वृद्धाश्रमका पात्रहरु पनि फेरिए । कति नयाँ सदस्यहरु आए त कतिले संसार छाडेर गए तर समय अविरल चलिनै रह्यो ।वृद्धाश्रमको बसाइ कति चाँडो आठ वर्ष बितिसकेछ, उनलाई अझै पत्यार लाग्दैन । हिजो झैं लाग्छ, उनी पोकापुन्तरा बोकेर अपांग आश्रमबाट यहाँ आएको ।
पोखरामै बस्ने कान्छी छोरी उनलाई भेट्न कहिलेकाहीँ वृद्धाश्रमसम्म आइपुग्छिन् । सन्चो बिसन्चो सोध्छिन् अनि फर्किन्छिन् । जेठी छोरी र छोरासँग पनि फोनमा बातचित भइरहन्छ तर श्रीमतीसँग भने यतिका वर्षसम्म एकपटक पनि कुराकानीसम्म हुँदैन । खै के कुरामा श्रीमतीको मन म¥यो, उनलाई थाहा छैन । छोरा बुहारीले उनलाई लिन आउँछन् भनेर आश्वासन दिएको पनि वर्षौ भइसक्यो तर अझै आएका छैनन् । गेटतिर हेर्दा हेर्दा उनका आँखाहरु थाके, मन कति थाक्यो, हिसाक किताब छैन । कतै छोराछोरी आइपुगे कि भनेर हरदिन उनी गेटमा बस्ने कर्मचारीलाई सोध्थे ।
उनको मन मरेको पनि वर्षौ भइसक्यो । नजाने गाउँको बाटै नसोध्नू भनेझैं लाग्छ उनलाई घरको बाटो । गाउँघर, वनपाखा, साथीभाइको सम्झनाले उनको मन नमज्जाले रुवाउँछ । बेलाबेला भक्कानिरहन्छन् सम्झनाले । तीतामीठा गाउँघरका यादहरुले । बचपनका दौँतरीका यादहरुलेतर आफ्नैले पराई ठानेपछि के गर्नु ?आखिर उनी आफ्नो मनलाई सम्हाल्छन् ।
आखिर जीवन के रहेछ त बा? प्रश्न गर्दा उनले मलिन बोलीमा भने, ‘जीवन केवल भ्रम रहेछ । धन, सम्पति, प्रतिष्ठा, परिवार, आफ्ना, पराई सबथोक भ्रम । ओत लाग्नलाई मेरो आफ्नै घर नभएको हैन । दुई छाक कमाएर खानलाई मेरै खेतबारी थियो तर मेरै आफ्ना भनाउँदाहरु आफ्ना रहेनछन् । यति बुझ्न मलाई धेरै समय लाग्यो ।’
जति बिर्सन खोज्यो उति नै सम्झनाले सताउँछन् उनलाई । सन्तानको मन झै कठोर त उनको मन कहाँ बन्दो हो र ?अझै उनमा आश मरेको छैन, कतै झुक्किएरएक दिन छोरा बुहारी उनलाई लिन आउँछन् कि ?अझै मनको कुनामा सानो सपना साँधेका छन् नातिनीलाई खेलाउँदै घरमै बाँकी जिन्दगी बिताउने ।




