बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

सभ्य पर्यटक बन्न नेपालीले कहिले सिक्ने ?

सभ्य पर्यटक बन्न नेपालीले कहिले सिक्ने ?

हामी विदेशीका नराम्रा आचरणहरु हतपत्त सिकीहाल्छौं । नराम्रा पक्षको विरोध गर्छाैं, खोइरो खन्छौं तर हामी कहिल्यै अरुका राम्रा आचरण र संस्कारहरु सिक्न रुचि राख्दैनौं वा हाम्रो सिक्ने आदत नै छैन ।


  • दिवस गुरुङ
  • फाल्गुन २३ २०७८, सोमबार

जति चार पर्खालले घेरिएको बन्द कोठामा सिकिन्छ, त्यसको हजारौं गुणा खुल्ला आकाशमा प्रकृतिमाझ सिकिन्छ । यदि भनिरहँदा यो पनि स्मरण रहोस् कि त्यो बन्द कोठाको सिकाइबिना जीवनको बाँकी सिकाई निरर्थक रहन्छ । त्यसैले घुम्नु बरालिनु पक्कै हैन । समय, उर्जा र पैसाको बर्बादी पनि हैन । घुम्नु आफ्नो ज्ञानको दायरालाई फराकिलो बनाउनु पनि हो । जीवनलाई फरक कोणले नियाल्नु हो ।
घुम्न निस्किएको व्यक्तिले गन्तव्य पुगेर मात्र हैन, यात्रा अवधिभर धेरै पक्षहरु सिक्न र बुझ्न सक्छ । घुम्नु गन्तव्य पुग्नु हैन, यो त सिकाई हो । जीवन बुझ्नु र जिउनु हो । भनिन्छ नि, जो घुम्दैन उसले कितावरुपी जीवनको एकै पाना मात्र पल्टाइरहन्छ । हर यात्रामा जीवनका फरक रंगहरुमा रंगिन सकिन्छ । त्यसैले अर्को अर्थमा यात्रा जीवन जिउने कला सिक्नु हो ।
पर्यटक र पर्यटन क्षेत्रमा विदेशीहरुको इतिहास त धेरै लामो छ । शताब्दीदेखि विविध लक्ष्य लिएर घुम्न हिँडेका विदेशीहरुले घुम्न मात्र सिकेनन्, सँगै सिके विभिन्न राम्रा जीवनोपयोगी संस्कारहरु । यता हामी नेपालीहरुको घुम्न थालेको इतिहास त्यति लामो छैन । घुम्ने रहर, चाहना र इच्छाशक्तिहरु हुँदा हुँदा पनि विविध बाधक पक्षहरु छन् हाम्रा लागि – समय, पैसा र परिवारको स्वीकृति ।
नेपालीहरु पहिला पनि फाट्टफुट घुमे पनि बहत्तर सालको भुकम्प पछि मात्र नेपालीहरुमा पछिल्लो घुम्ने ट्रेन्ड बसेको हो । आजकल त कार्यालय वा कलेज बिदा होस् वा दसैं, तिहार जस्तो चाडपर्वमा होस् नेपालीहरु घुम्न पुगिहाल्छन् । समय नहुनेहरु नजिकैको डाँडाकाडा नाइट स्टे वा हाइकको लागि उक्लिन्छन् त कोही तिलिचो, फोक्सुडो वा मर्दी पदयात्रामा निस्कन्छन् । अनुभवले न हो सिकाउने तर नेपालीहरुमा अझै सभ्य घुम्ने कल्चरको विकास नै भएको छैन । हुन त यो एकै दिनमा वा रातमा आइहाल्ने परिवर्तन पनि त हैन ।
हर क्षेत्रमा आफ्नै आचारसंहिता वा नीतिनियमहरु हुन्छन् । नियममा बाँधिनु स्वतन्त्र नहुनु पक्कै हैन, यसले त सबैलाई एकीकृत गरेर सभ्यताको बाटो दोहो¥याउँछ । कति घोषित त कति अघोषित नियमहरु हुन्छन् । कहाँ सबै नियमहरु किताबमा लेखिएका हुन्छन् र ? कहाँ सबै ठाउँमा ठूला अक्षरले लेखिएका बोर्डहरु टाँसिएका हुन्छन् र ? स्वतःस्फूर्त आफैले आफैँलाई निश्चित परिधिमा बाध्नु पनि नियम हो । आफैंले आफैलाई नियन्त्रणमा राखे नियमको आवश्यकता नै कहाँ हुन्थ्यो र ?

दिवस गुरुङ
नयाँनयाँ ठाउँहरु घुमिहिँड्ने पर्यटकहरु झन् हर विषयमा सम्यम हुनु पर्छ । सबैलाई सम्मान र आदर भाव प्रकट गर्नु जरुरत हुन्छ । स्थानीय जनसमुदायका नियमहरु पालना गर्नुपर्छ । उनीहरुका धर्म संस्कृति, चालचलन र भेषभूषालाई सम्मान गर्नुपर्छ र आदर गर्नुपर्छ वातावरण र प्रकृतिलाई । वनजंगल, जीवजन्तु र हर प्राणीको अस्तित्वलाई कदर गर्नुपर्छ । यता हामीजस्तै घुम्न आएका पर्यटकलाई कुनै बाधा पु¥याउनु हुँदैन । कसैलाई सम्मान वा आदर नगरी कसैबाट सम्मान खोज्नु जतिको मुर्खता केही हुँदैन । हो, त्यसैले एक पर्यटकले घुम्न निस्कदा यी यावत् पक्षहरुलाई मध्यनजर गर्नु आवश्यक छ ।
विदेशी पर्यटकहरु विविध लक्ष्यहरु बोकेर नेपाल आएका हुन्छन् । कोही आफ्नो व्यस्त दैनिकीको ह्याङओभर हटाउन त कोही अध्ययन र अनुसन्धानका लागि । कोही प्रकृतिको सुन्दरतामा डुबुल्की मार्न त कोही साहित्य, संगीत अनि कलाको सृजनाका लागि । भिन्नभिन्न अभिलाषाहरु बोकेर कोही डाँडाकाडा उक्लन्छन्, कोही हिमाल छेउछाउ पुग्छन् । कति झरना र खोल्साको कलकल आवाज त कति चराहरुको चिरबिर आवाजमा मन्त्रमुग्ध भएर हराउँछन् । कोही हिमालकै काखमा रहेर हिमालसँगै भलाकुसारी गर्न सात समुन्द्र पारिबाट आएका हुन्छन् । एकपल्ट हैन, कैयौंपल्ट यी यावत् सुन्दरताहरुले उनीहरुलाई नेपालसम्म दोहो¥याउँछ ।
बाटाभरि स्पिकरमा चर्को चर्को आवाजमा ¥याप गीत घन्काएर नेपालीहरु हिडिदिदा उनीहरुलाई कस्तो लाग्ला ? कुनै चराप्रेमी पर्यटक चराको फोटो कैद गर्न घण्टौं तल्लीन भइरहँदा हुल बाँधेर आएका युवाहरुको हल्लाले एकाग्र भंग हुँदा उनले कस्तो खल्लो अनुभूति गर्लान् ? बिहानै चार बजे भ्यु पोइन्ट उक्लिन भनी बिस्तारामा गुटमुटिएको पर्यटक रातभर डाइनिङमा नेपाली पर्यटकहरुले तास खेलेर होहल्ला गरिदिदा उनीहरुको बिहानको मुडमा कस्तो असर पर्ला ? हामीले कहिल्यै यी यावत् पक्षहरुलाई सोच्दैनौं । मनन गर्दैनौं किनकि हामीमा दम्भ हुन्छ । एक प्रकारको घमण्ड हुन्छ आफ्नै देश घुम्दा ।
विदेशी पर्यटकहरु चाहन्छन्, उनीहरुको उपस्थितिले वातावरण, प्रकृति वा अन्य पर्यटकलाई न्युन असर परोस् । उनीहरु आफुले गरेका हर क्रियाकलापमा सहज रहन्छन् । उनीहरु एकदमै मनन गरेर कम बोल्छन्, होहल्ला त गर्दै गर्दैनन् । बोल्नै परे शिष्टचार प्रकट गर्छन् । नमस्ते, धन्यवाद जस्ता शब्दहरु मुखैमा झुन्डिन्छन् । उनीहरु नयाँ गाउँठाउँ आइपुग्दा त्यहाँको स्थानीय कला संस्कृति, परम्परा र खान्कीलाई सधैं उच्च सम्मान गर्छन् । यो उनीहरुले सिकेका पाठहरु हुन् । हामीले चाहिँ यी पाठहरु कहिले सिक्ने ?
नयाँ ठाउँहरु घुम्न निस्कदा उनीहरु ब्याग प्याक मात्र बोक्दैनन्, साथैमा बोक्छन् आफ्ना राम्रा संस्कारहरु । आफ्ना फोहोरहरु त बाटामा मिल्काउदै मिल्काउदैनन्, सके बरु बाटाका उठाएर पनि ल्याउछन् । उनीहरु पानी पिउने बोत्तल आफ्नै बोक्छन्, मिनिरल बाटरका बोत्तल कम प्रयोग गर्छन् । ‘लिभ नो ट्रेस’ अर्थात ‘कुनै फोहोर बाटामा नमिल्काउ’, उनीहरुको मुख्य मन्त्र रहन्छ । सानो चकलेटको खोलसमेत पकेटमै जनतसाथ राखेर ल्याउछन् । पदयात्राबाट झोलाभरि बाटाका प्लास्टिक र बोत्तलहरु उठाएर उचित व्यवस्थापन गर्नेहरुका तस्वीर र लेखहरु सामाजिक सञ्चालमा भेटिन्छन् । यति राम्रा संस्कारहरु चाहिँ हामीले कहिले सिक्ने ?
हामी भरिएका चाउचाउ, बिस्कुट र जुसका क्यानहरु बोकेर माथि हिमाल छेउछाउसम्म उक्लन सक्छौं, तर रित्तिएका खालि प्लास्टिक र क्यानहरु बोक्न बोझ ठान्छौं । बाटामै मिल्काइदिन्छौं । बाटाभरि आफैं फोहोर मिल्काएर नाक खुम्च्याउँदै हामी भन्छौं, ‘छि ! कस्तो फोहोर नै फोहोर है । यस्तो राम्रो ठाउँमा आएर पनि फोहोर गर्ने कस्तो मान्छेहरु होलान् ?’ मैले मात्र गरेर के हुन्छ र भन्ने मानसिकता जबसम्म हट्दैन नि तबसम्म हामी सभ्य बन्न सक्दैनौं । जबसम्म हाम्रो फोहोरी मानसिकतामा परिवर्तन आउँदैन, तबसम्म सुकिला लुगा र बोलीचालीले कुनै खास अर्थ राख्दैन । मानिस सभ्य कुनै लवाइखवाइले हैन, उसले गर्ने व्यवहारले न हुने हो । हामी विदेशीका नराम्रा आचरणहरु हतपत्त सिकीहाल्छौं । नराम्रा पक्षको विरोध गर्छाैं, खोइरो खन्छौं तर हामी कहिल्यै अरुका राम्रा आचरण र संस्कारहरु सिक्न रुचि राख्दैनौं वा हाम्रो सिक्ने आदत नै छैन ।
अर्को कुरा, पछिल्लो समय त हामी नेपालीहरु सामाजिक सञ्जालमा ट्रेन्डिङ भिडियो र फोटाहरुकै भरमा घुम्न निस्किन्छन्, त्यो पनि बिना तयारी । टिकटकमा टे«न्डिङ मर्दी हिमालको भिडियो हेरेर रातारात मर्दी पुग्नेहरुको जमात छ हाम्रोमा । कुुनै अन्जान ठाउँको उचाई, मौसम, होटलको अकुपेन्सी वा बाटामा आइपर्ने चुनौतीहरु बारे बेखबर नेपालीहरु जिन्स पाइन्ट र स्पोर्ट सुज लगाएर अन्नपूर्ण आधार शिविर त मर्दी हाइ क्याम्प हुइकिन्छन् । बुटवलबाट पितम देउरालीसम्म १२ घण्टे बाइक सफर गरी अर्कोदिन मर्दी हाइ क्याम्प पुग्ने योजना बुनेका युवाहरुको योजनालाई साहसी ठान्ने कि बेबकूफी ? बाइकमै एकै दिनमा मनाङसँग हुइकिएर भोलिपल्टै तिलिचो ताल छेउ पुग्ने जमात पछिल्लो समय ब्याप्त छ । भनिन्छ नि ‘हतार गरे भन्न सकिँदैन, बिस्तारै गरे अवश्य पुगिन्छ ।’
पोहोर साल दसैं ताका तिलिचो घुम्न गएका एक नेपालीलाई लेक लाग्यो । उनलाई हेलिकप्टरमा उद्धार गरेर काठमाडौं त ल्याइयो तर उनको ज्यान जोगाउन सकिएन । यो त एक उदाहरण मात्र हो, यस्तै घटना धेरै दोहोरिरहेका हुन्छन् । लेक लाग्नु आफैमा कुनै रोग होइन । यो त जति उचाईमा गयो शरिरलाई आवश्यक अक्सिजन कम भएपछि देखिने समस्या हो । उचाइ बढेसँगै हिमालमा अक्सिजनको मात्रा घट्दै जान्छ । अनि हाम्रो शरीरलाई अक्सिजनको मात्रा पुग्दैन । अनि बिरामीको केही घण्टामा मृत्यु हुन सक्छ । कतिमा यसबारे ज्ञान नभएर त कति हतारमा उचाई उक्लेकाले यस्ता घटना घट्न सक्छन् । काठमाडौंबाट एकैदिनमा बाइकमा बत्तिएर मनाङ पुग्ने र अर्कोदिन पैदलमा ४ हजार ९ सय मिटरको उचाईमा रहेको तिलिचो ताल पुग्दा शरीरमा अक्सिजनको मात्रा एकदमै कम हुन्छ । अनि विभिन्न समस्याहरु शरीरमा देखिन थाल्छन् । समयमै बिरामीलाई अस्पताल पु¥याउन नसके मृत्युको मुखमा पुग्न सक्छ ।
घुम्नु गन्तव्य पुग्नु मात्र हैन, यात्राभर हर मज्जा लिनु पनि हो । रातारात मर्दी हाइ क्याम्प पुगेर भोलिपल्टै पोखरा फर्किन कसिएका नेपालीहरु देख्दा मेरा विदेशी साथी चकित परेका थिए । पदयात्राको मज्जा के उनीहरुले लिए होलान् त ? कतिबेला गन्तव्य पुग्ने र कतिबेला शहर फर्कने मानसिकता बोकेर हिँडेपछि प्रकृतिको सुन्दरतामा उनीहरु हराउन पाए त ? हतार गर्दा कुनै दुर्घटना भए ? मेरा साथी यी यावत् प्रश्नहरु मलाई तेर्साउछन् । हुन त हामी नेपालीहरुलाई घुम्नका लागि समय, पैसा र विविध पक्षहरु बाधक बनेर आउँछन् । हिमालको पदयात्रा गर्दा थोरै मात्र हेलचक्राई गर्दा जीवन नै तल माथि हुन पनि सक्छ । नेपालीहरु भने अझै यसलाई हुलका रुपमा लिइदिन्छन् । अनि यसले निम्त्याउँछन् धेरै घटनाहरु ।
घुम्नुपर्छ, बुझ्नुपर्छ । जति घुम्यो त्यति नै धेरै फराकिलो बन्छ ज्ञान र सिकाइको दायरा । घुम्नु गन्तव्य पुग्नु मात्र हैन । हामीले घुमघामसँगै सिक्नु पर्छ राम्रा संस्कारहरु । हाम्रो राम्रो व्यवहारले केवल हाम्रो व्यक्तित्व विकासलाई मात्र फरक पार्दैन, यसले त सिंगो देशकै पर्यटनको उत्थानमा टेवा पु¥याउँछ । त्यसैले हामी सभ्य पर्यटक बनेर घुम्ने बेला भएन र अब ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->