बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

सम्झनामा गाउँ पर्यटनका प्रणेता

सम्झनामा गाउँ पर्यटनका प्रणेता


  • दिवस गुरुङ
  • चैत्र ७ २०७८, सोमबार

आजको दिनमा ग्रामीण क्षेत्र विकासको आधारमध्ये एक मानिन्छ, ग्रामीण पर्यटन । अर्थात होमस्टे पर्यटन । आज हिमालदेखि तराइसम्म र मेचीदेखि महाकालीसम्म सयौं संख्यामा होमस्टेहरु दर्ता भएर सञ्चालनमा आएका छन् ।यसबाट हजारौं पर्यटकहरुले मात्र सुविधा पाएका छैनन्, लाभान्वित भएका छन् कैयौं घरधुरीहरु । नेपालमा घरबास कार्यक्रम त्यति सजिलै सुरुवात भने भएको थिएन । सरकारले हैन, कुनै एक व्यक्तिको अथक प्रयासले नेपालमा होमस्टे पर्यटन भित्रिएको थियो भन्दा पत्यार नलाग्न पनि सक्छ तर सत्य यही नै हो । आजको दिनमा नेपालकै पर्यटन क्षेत्रमा अतुलनीय भूमिका खेल्ने घरबास कार्यक्रमका प्रणेता वा अनुयायीलाई नसम्झी रहन सकिँदैन । आज कुरा गरौं उनै स्व. रुद्रमान गुरुङको जीवनकथा, जसको नाम गाउँ पर्यटनको इतिहासमा सिरानमा सुनौलो अक्षरले लेखिएको छ ।
रुद्रमान गुरुङ जन्मेको गाउँ हो– स्याङ्जाको सिरुबारी । उनी सानै देखि अन्य बालबालिका भन्दा फरक स्वभावका थिए । कौतुहलता र जिज्ञासाले उनी सानैदेखि फरक देखिन्थे । पढाइमा पनि तेज रहेका उनी १८ वर्षको उमेरमै भारतीय सेनामा भर्ती भए ।
गाउँको विकास, समृद्धि र परिवर्तनका लागि सानैदेखि दत्तचित्त भएर लाग्ने एक युवा थिए उनी । भर्तीबाट छुट्टिमा नेपाल फर्कदा पनि उनी गाउँ रुपान्तरण र जागरणका कुराहरु उठान गर्थे । उनले विदेशमा सिकेका राम्राराम्रा संस्कारहरु र विकासका लहरहरुले गाउँ पनि सिञ्चित हुनुपर्छ भनेर लागिपर्थे । विभेद, छुवाछुत र असमानताका विरोधी थिए, उनी । अनावश्यक रुपमा समय, पैसा र उर्जा खर्च गर्ने हाम्रो परम्पराहरु विस्तारै त्याग्नुपर्छ भन्ने बुझाइ थियो, उनमा । त्यसैले गाउँलेहरु भेला गर्थे अनि सिकाउँथे उनले विदेशमा सिकेका र देखेका राम्रा संस्कारहरुलाई । जुवातास खेलेर होहल्ला गर्दै रक्सीमा झुमिरहने युुवाहरुलाई समाज परिवर्तनमा अग्रसर गराउँथे । ‘आफ्नो गाउँठाउँ आफैँ बनाऊ’ यही मुल मन्त्रलाई सिरोपर गर्दै अघि बढिरहेका नायक थिए, उनी ।

उनी भर्तीमा हुँदा ताका नै स्विजरल्यान्डको ग्रामीण पर्यटनका बारेमा लेखिएका पुस्तक पढ्ने अवसर पाएका थिए । स्विजरल्यान्ड र नेपाल भौगोलिक रुपमा उस्तैउस्तै रहेको ज्ञान उनमा थियो । त्यसपछि उनमा सिरुबारीमा पनि होमस्टे सुरुवात गर्ने भूत चढ्यो । घर घरमा त्यसबेला न शौचालयहरु थिए न सरसफाइ बारे नै आम मानिसमा ज्ञान थियो । गाउँमा विद्युत, खानेपानी र सञ्चारले जोडिएको थिएन । अनकन्टार गाउँमा पर्यटकहरु त्यसै ओइरिदैनथे । शहरमा त राम्ररी पर्यटकहरुको चहलपहल नभएको त्यस समयमा उनले घरघरमा पर्यटकहरु राख्नुपर्छ भनेर सपना सुनाउँदा उनी हाँसोका पात्र बन्थे । आफ्नै गाउँलेहरुले उनलाई खिस्याउँथे र उनका कुराहरु हावामा उडाइदिन्थे ।

२०२५ सालबाट नै उनमा होमस्टे पर्यटनको परिकल्पना गरेका गुरुङ ०३५ सालमा जागिरबाट रिटायर्ड भए । अनि उनी गाउँ फर्केपछि उनको सपनालाई यथार्थमा परिणत गर्न कस्सिए । २०४८ सालमा उनी नेपाली कांग्रेस स्याङ्जा जिल्ला क्षेत्र नं २ को प्रतिनिधि सभामा सांसद पदमा नियुक्ति भए । अनि अनकन्टार गाउँमा पर्यटक आउनका लागि पुर्वाधार विकास गर्न जोड दिए ।
विभिन्न परियोजना मार्फत गाउँसम्मै खानेपानी ल्याइपु¥याए । स्याङ्जा कै सुगम ठाउँहरुमा बिजुली बत्ती नबल्दै उनकै पहलमा गाउँ झलमल्ल बनेको थियो । बालबालिकालाई साँझबिहान पढ्न मात्र हैन, जहान परिवारलाई घरायसी कामधन्दा गर्न पनि धेरै सहज भएको थियो ।

यतिले मात्र पर्यटकहरु गाउँमा अडिने कुरै थिएन । त्यसैले उनले गाउँलेहरुलाई एकजुट गराएर गाउँमा सिँढीको बाटो बनाए । घरघर बाटोले मात्र जोडाएनन्, मन मन पनि जोडाए । पाहुनालाई सुत्नका लागि चिटिक्क परेका छुट्टै कोठाहरु पनि बनाउन लगाए । गुरुङ जातिहरुको बाहुल्यता रहेको गाउँमा पर्यटकहरुलाई पस्काउन अर्को खुराक बन्न सक्थ्यो, गुरुङ संस्कृति, चालचलन र संस्कारहरु । गुरुङ नाचगान र भाषालाई जोगाइराख्दा एक त आफ्नै संस्कृति जोगिन्छ भने अर्कोतिर पर्यटनमा पनि ठूलो टेवा पुग्नेमा उनी विश्वस्त थिए । अन्य दलित जातिलाई पनि होमस्टे पर्यटनमा प्रत्यक्ष अप्रत्यक्ष जोडाउँदै एकताको पुलले समाजलाई जोड्दै उनी अघि बढिरहे ।

कैयौं पटक उनी होमस्टेको अवधारणा बोकेर पोखरा र काठमाडौंका विभिन्न सरकारी कार्यालयहरुका ढोकाहरुढकढकाइरहे । घरमै पर्यटकहरु राख्न पनि कहीँ मिल्छ र ? भनेर उल्टै कार्यालयका कर्मचारीहरु उनका योजनालाई उडाइदिन्थे । उनका योजनाहरु न सुन्ने कसैलाई फुर्सद हुन्थ्यो न कसैलाई बुझ्ने नै । उनी कैयौं पटक रित्तो हात नै फर्केका थिए । तर, उनी कहिल्यै थाकेनन् । त्यति सजिलै हार्ने मान्छे कहाँ थिए र उनी ? अनवरत यसैमा लागिरहे । नभन्दै उनको सपना करिब २ दशक पछि मात्र यर्थाथमापरिणत भयो, अर्थात सिरुबारीमा २०५४ सालमा ४३ घरधुरीमा होमस्टे सञ्चालन भई नेपालकैपहिलो होमस्टेका रुपमा सुनौलो अक्षरमा नाम लेखाउन सफल भयो ।

पहिला गाउँबाट तल हेलुबाट दुई घण्टा पाहुनाको भारी बोकेर सुरु भएको होमस्टे पर्यटन समयसँगै फस्टाउँदै गयो । आज त गाउँसम्मै पर्यटकहरु गाडीमै पुग्न सक्छन् । पछिल्लो समय त विभिन्न पाँच वटा बाटाहरुले शहरबाट गाउँ जोडेको छ । अहिले पोखरा – नौडाडा – बेजाङ्गा – सिरुबारीको ४५ कि.मीे. बाटो केही घण्टामै पुग्न सकिन्छ । आजको दिनमा त पोखरा बिरौटाबाट समय समयमा गाउँसम्मै पुग्ने बसहरु पनि छुट्छन् ।

उनी सिरुबारी गाउँका मात्र हैन, सिंगो स्याङ्जा जिल्लाकै विकासप्रेमी नेताका रुपमा चिनिन्थे । अन्य थुप्रै गाउँहरुमा खानेपानी र बिजुली बत्तीका योजनाहरु मात्र पु¥याएनन् उनले, सडकले गाउँ गाउँ जोडिदिए । गाउँलेहरुबीचको सामाजिक एकता, सद्भाव र मेलमिलापले नै समाज अगाडि बढ्न सक्नेमा उनी विश्वास गर्थे । सबैलाई एकताको सुत्रमा जोड्दै अघि बढाउन उनी माहिर थिए । होमस्टे समूह, युवा क्लब, आमा समूह, पर्यटक विकास समिति तथा गाउँलेहरुको एकताको धरोहर हो सिरुबारी ।
समाजसेवा, पर्यटन र राजनीतिमा आफ्नो राम्रो छाप पारिसकेका गुरुङ गाउँलेहरु गाउँमै बस्नुपर्छ भन्ने चाहन्थे । बसाइसराइले गाउँ पिछडिदैन् मात्र, यसले शहरमा मानिसको भार पनि बढ्नेमा उनमा ज्ञान थियो । गाउँमै सबै आवश्यक पूर्वाधारहरु रहे, पक्कै बसाइसराइ केही हदसम्म रोकिनेछ, उनलाई लाग्थ्यो । त्यसैले जीवनको अन्तिम समयसम्म पनि उनी गाउँकै विकासका योजनाहरु बुनिरहन्थे ।

जीवनको उतरार्धतिर उनी रोगले थलिए । प्यारालाइसिस, सुगर र प्रेसरले उनलाई च्याप्यो । उनी लामो समय पोखरामै उपचारका लागि बसेका थिए । थप उपचारका लागि उनी काठमाडौं हानिएका थिए तर उनको मन हरपल सिरुबारीकै वन पाखामा फन्को मारिरहन्थ्यो । मृत्युको मुखमा सैयामा रहँदा पनि उनी गाउँकै विकासका कुराहरु सुनाइराख्थे । २०७२ फागुन १५ गते उनै ग्रामीण पर्यटनका अनुयायी गुरुङ काठमाडौंको हिमाल अस्पतालमा सदासदाका लागि अस्ताए ।

तिनै क्याप्टेन सापले खनेको होमस्टेको गोरेटो आजको दिनमा राजमार्ग बनिसकेको छ । आजको दिनमा सिरुबारीकै बाटो पछ्याउँदै नेपालभर सयौं संख्यामा होमस्टेहरु सञ्चालनमा आएका छन् । सरकारले वि.सं. २०६७ मा होमस्टे व्यवस्थापन कै लागि होमस्टे निर्देशिका जारी ग¥यो । सरकारले सन् १९९८ मा नेपाल भ्रमण वर्ष र सन् २०११ मा नेपाल पर्यटन वर्ष घोषणा गरेर सम्पन्न गर्यो । सन् २०२० लाई भिजिट नेपाल २०२० का रुपमा घोषणा गरे तापनि कोरोना महामारीले यो सफल हुन सकेन । आजको दिनसम्म राज्यले गाउँ पर्यटनका नायकलाई कहिल्यै सम्झेन । राज्यका तर्फबाट उनी सम्मानित हुनु पथ्र्यो । उनी सम्मानित हुनु भनेको सिंगो ग्रामीण पर्यटनको छाती ढक्क फुल्लिनु सरह थियो तर राज्यले उनको योगदानलाई कहिल्यै बुझेन । कहिल्यै कदर गरेनन् ।

संसारमा सपना देख्नेहरु नै सफल हुन्छन्, यसको गतिलो उदाहरण हुन्, रुद्रमान गुरुङ । उनले सपनामात्र देखेनन्, अहोरात्र यसैमा खटिरहे । सपना पूरा हुनलाई करिब २ दशक लाग्यो । सपनाको फल लाग्यो । आज त्यो फल सिरुबारीबासीले मात्र चाखेका छैनन्, सिंगो नेपालभरका जनता यसबाट लाभान्वित भएका छन् । सरकार र पर्यटनसँग सरोकारवाला निकायहरु भन्दा पहिले उनले नेपाल होमस्टे पर्यटन भित्र्याए । तर उनको योगदानको कुनै कदर गरिएन ।

अब उनीसँग सम्बन्धित सम्पूर्ण सामग्रीहरु र उनको योगदानहरुलाई लिपीबद्ध गरेर संग्रहालयमा संग्रह गरिनुपर्छ । यति मात्र हैन, उनको जीवनकथा विद्यालयको पाठ्यक्रम एवं पर्यटनसँग आवद्द सघंसंस्थाहरुको वार्षिक पुस्तकहरुमा समावेश गरिनुपर्छ । सरकारले पनि उनको योगदानको कदर गर्दै उनको सम्झनामा केही न केही प्रशंसनीय कदमहरु चालिनुपर्छ । अनिमात्र एक सच्चा पर्यटनकर्मी योद्धाको सम्मान हुनेछ ।

सरकारले नसम्झेपनि सिंगो सिरुबारीबासीहरुले उनलाई क्याप्टेन बा वा क्याप्टेन साप भनेर सम्झिरहन्छन् । श्रदासुमन प्रकट गरिरहन्छन् । अनि उनले खनेको बाटोमा हिड्ने प्रतिबद्दता प्रकट गर्छन् युवाहरु । आउनुहोस्,हामी पनि जीवनमा एकपटक सिरुबारी पुगेर उनै क्याप्टेन बाको सम्मान गरौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->