बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

मेकानिकदेखि सफल साइकल व्यवसायसम्म

मेकानिकदेखि सफल साइकल व्यवसायसम्म

हरेक वर्ष सुनौला भविष्यका सपना बुनेर विदेश लाग्ने युवाहरुलाई उनको एउटै सुझाव छ, गर्ने देशैमा हो । पसिना गरेर पौरख गरेमा यहीँ धान मात्र हैन, सुन पनि फल्छ । काम सानो र तलब थोरै किन नहोस्, सुरुवात आफ्नै माटोमा गर्नुपर्छ ।


  • दिवस गुरुङ
  • चैत्र १४ २०७८, सोमबार

उनी डाक्टर हुन् । बिरामी हुँदा सबै उनी कहाँ उपचारका लागि आइपुग्छन् । उनी हेरेरै बिरामीको रोग पत्ता लगाइहाल्छन् । दुई हातले औजारहरु कौशलताका साथ चलाउँछन् अनि छिनभरमै ठीक पार्छन् बिरामीलाई । मान्छेलाई ठीक पार्दैनन् उनी, उनी त मान्छेले चढ्ने साइकललाई ठीक पार्छन् । किनकि उनी साइकलका डाक्टर हुन् । अर्थात साइकलका पोख्त नामी मेकानिक । साइकल मात्र मर्मत गर्दैनन् उनी पोखरामा, स्वस्थ जीवन जिउनलाई साइकल चलाउन सबैलाई हौसाउँछन् । उनलाई पछ्याउँदै शहरमा साइकल चलाउनेहरुको जमात बनिसकेको छ । ‘शहर स्वस्थ भए पो हामी स्वस्थ रहन्छौं, अनि हामी स्वस्थ भए पनि शहरलाई स्वस्थ राख्न राख्छौं,’ यहीँ मन्त्रोच्चारण गर्दै साइकल शहरको कल्पना गर्छन् उनी ।
उमेरले उनी ३६ लागे । साइकलसँगको उनको सम्बन्ध नै दुई दशक भन्दा बढी नाघ्यो । आजको दिनसम्म उनले हजारौं साइकलहरु फिटिङ र मर्मत मात्र गरेनन्, कैयौं नयाँ युवाहरुलाई साइक्लिङ गर्न हौसाए । विद्यालय पढ्दा पढ्दै कलम समात्न छाडेर साइकल मर्मत गर्ने औजार समातेका उनले पोखरामा आफ्नै साइकल व्यवसाय सुरु गरेको पनि दुई वर्ष बितिसक्यो । आज सुनौं, उनै विशाल श्रेष्ठको धरानदेखि पोखरासम्मको उतारथढावका कथाहरु ।
धरान शहर । पूर्वकै एक सुन्दर शहर । धरानकै भोटेपुलमा जन्मिएका थिए उनी । बाआमा, दुई दाई, तीन दिदी, एक बहिनी अनि उनीसहितको ठुलो परिवार थियो । परिवारमा बहिनीसँगै कान्छा सदस्य भएकाले माया र प्रेममा हुर्किए उनी । उमेर बढ्दै कक्षा उक्लिदै जाँदा उनलाई अचम्मको मोह जाग्यो, साइकल मोह ।
उतिबेला उनको घर छेवैमा साइकल पसल थियो । दुई पाङ्ग्रामा पाउदानी चलाएर साइकल सररर अगाडि गुडाउने मान्छेहरु देख्दा उनी उत्सुकताले हेरिराख्थे । कस्तो जादु हुँदो हो यसमा, उनी सोचमग्न हुन्थे । उनलाई पनि फिलिली साइकल कुदाएर गल्ली गल्ली चहार्न मन लाग्यो तर न उनलाई साइकल चलाउन आउथ्यो न थियो उनीसँग साइकल ।
जहाँ रहर, त्यहाँ उपाय भनेझैं उनले पनि साथीले भाडामा ल्याएको साइकल चलाउने प्रयास गरे । एकपल्ट लडे, दुईपल्ट लडे । लडे कैयौं पल्ट उनी तर उनले हार खाएनन् । उनमा साइकलको भूत चढिसकेको हुँदो हो । त्यसैले सुत्दा, उठ्दा, पढ्दा वा जे काम गर्दा पनि उनको आँखा अगाडि साइकल नै गुडिरहन्थ्यो । धेरैपल्टको लडाइपछि उनले जित हासिल गरे । अर्थात उनले साइकल चलाउन सिके । त्यसदिन उनले घरमा भातै खाएनन् किनकि उनको मन त खुसीले भरिएको थियो ।
साइकल त सिकियो, साइकल चलाउने रहर पूरा गर्न त्यति सजिलो त कहाँ थियो र ? घरमा साइकल थिएन, भाडाको साइकल गुडाउन उनीसँग पैसा हुँदैनथ्यो । ‘हिरो’ साइकल दिनभर भाडामा मात्र तीस रुपैयाँमा पाइन्थ्यो तर त्यतिबेला तीसले ठुलो अर्थ राख्थ्यो । तीस रुपैयाँ जम्मा गर्न उनले तीसौं रहरहरु तिलाञ्जली गर्थे । चकलेट खाने, कलम किन्ने र खेलौना खेल्नेभन्दा माथि थियो साइकल कुदाउने सपना । अन्ततः पूरा भयो दिनभर साइकल कुदाउने रहर ।
विद्यालय हिँडेका उनी कक्षा हापेर एक्लै साइकल भाडामा लिएर निस्केको पहिलो दिन यसरी सम्झन्छन्, ‘बिहानको खाना खाएर म विद्यालयका लागि निस्केँ । मैले त पहिले नै प्लान बनाइसकेको थिए, दिनभर कक्षा हापेर साइकल कुदाउने । तीस रुपैँया दिएर पसलेले भाडामा साइकल दिएपछि मन चंगा बन्यो । त्यो आनन्द र सुखानुभूति पल शब्दमा वर्णन गर्न सकिने खालको थिएन । म मनमौजी दिनभर शहर चहारेँ । गल्ली गल्ली साइकलमा नापेँ । भोक, तिर्खा अनि प्यास खै कता हराए, हराए । अबेर साँझ विद्यालय छुट्टी हुने समय मिलाएर म घर फर्केँ । न मैले घरकालाई भनेँ, न घरकाले नै थाहा पाए ।’
साइकलको भोक विस्तारै उनमा बढ्दै गयो । फुर्सद हुनेबित्तिकै उनी साइकल पसल पुगिहाल्थे । दिनमा दजनौं पटक पुगेपछि पसलेले पनि उनलाई चिन्न थाले । उनी मुडामा टुक्रुक्क बसेर साइकल बनाएको घण्टौं घोरिएर हेर्थे । कक्षामा शिक्षकले पढाएका अक्षरहरु बरु टिप्न झिजो मान्थे उनको दिमागले तर साइकलको ट्युब पञ्चर टाल्ने, सामान्य मर्मत गर्ने सीप त उनले आँखाले नै टिपिसकेका थिए । हातले कलम हैन, साइकल मर्मत गर्ने औजार समाउने रहर जाग्यो । अनि टाँढिदै गयो किताब, कापी र कलम भरिएको झोला, नजिकिँदै गयो साइकलै साइकल भरिएको साइकल पसल ।
एकदिन हैन, दुई दिन हैन । उनी हरदिन साइकल पसल पुगेकै हुन्थे । विद्यालयमा किताब कम अनि साइकल पसलमा साइकल बारे उनी बढी पढ्न थाले । मसीले हैन, साइकलको ग्रिज र तेलले हात रंगीदा आनन्द मान्दो हो उनको मन । पछि छोरो विद्यालय नगई साइकल पसलमै दिनभर बसेको खबर घरकाले थाहा पाए । उनलाई सम्झना छ अझै, विद्यालयमा उनलाई कक्षा हापेको आरोपमा कुखुरा बन्नु परेको, प्रिन्सिपलको छडी खाएको तर उनको मन फिटिक्कै विद्यालयमा अडिएन किनकि उनी त प्रेममा परिसकेका थिए । साइकलसँगको एकोहोरो प्रेम ।

दिवस गुरुङ
घरमा बाले कुट्थे, आमाले सम्झाउथिन्, दाईदिदीले फकाउँथे तर उनको मन कसैगरी विद्यालयमा अडिएन । कसैको केही सीप लागेन । पढ्दापढ्दै कक्षा ६ मै उनले विद्यालय सधैंका लागि छोडिदिए अनि घरकाले पनि उनको बाटो खोलिदिए, उनको रहरको बाटो । त्यहीँ साइकल पसलमा उनले काम गर्न थाले, जहाँबाट उनले पहिलोपल्ट साइकल भाडामा लिएर शहर नापेका थिए ।
कति सीप उनले पहिले नै सिकिसकेका थिए, बाँकी पसलका साहुजीले सिकाए । कामले काम सिकाउँछ भनेझैं दिनानुदिन उनी कामहरुमा पोख्त बन्दै गए । अझै सम्झना छ उनमा, पहिलो महिनाको सात सय रुपैँया तलब घरकालाई बुझाएको । जीवनको पहिलो कमाई त खास बन्दो रहेछ, उनी झलझल्ती सम्झन्छन् ।
दिन, हप्ता अनि महिनाहरु बिते । यामहरु फेरिए अनि सँगै फेरिए वर्षहरु । साइकलसँग जोडिएका हर कामहरु गर्न उनी पोख्त हुँदै गए । अनुभवले उनी खारिदै गए । पसलमा काठमाडौं र भारतबाट ल्याइएका साइकलहरु फिटिङ गर्ने जिम्मा उनकै हुन्थ्यो । यसबाट रामै पैसा मिल्थ्यो उनलाई । मनको रहर मेटाउन पाउँदा उनी खुसी नै थिए ।
समय सधैं उस्तै रहेन । साथीभाइको गलत संगतमा उनी नराम्ररी फसे । उनी न साथीलाई दोष दिन्छन्, न आफूलाई । त्यसबेलाको समय नै उस्तै थियो, उनी विगतमा फर्कन्छन्, ‘कामबाट सन्तुष्टि थियो । नपुगेको के नै थियो र ? घरमा खान लाउन समस्या थिएन । साथीभाइको संगत नै नराम्रो भएपछि म कुलतमा फसेँ । न पढाई बाँकी थियो न गरिरहेको काम नै । छोरा बिग्रयो भनेरै घरकाले मलाई विदेश पठाइदिए ।’
विदेश त भन्ने मात्रै रहेछ :
साथीभाइको गलत संगतबाट छुटकारा मिल्छ कि भनेर उनलाई घरकाले कतार पठाए । अर्काको देशमा त्यसै पैसा फल्नेवाला थिएन । उनले पापड पेल्नु पर्ने थियो । उनको काम थियो फर्निचर फ्याक्ट्रीमा । गर्मी उस्तै, मालिकको टोकसी त्यस्तै । दिनभर साहुजीले काममा जोताउथे । एकछिन आराम गर्न पनि पाइदैनथ्यो काममा । अनि महिनाभर मरिमेटेर काम गरेर मासिक तलब दिन्थे जम्मा नेपाली तेह्र हजार । यतिको खटाइमा त नेपालमै दोब्बर कमाउन सकिन्छ, उनलाई लाग्थ्यो । दुई वर्ष जेनतेन काम गरेर साहुको ऋण तिरे अनि उनी फर्के आफ्नै माटोमा ।
अनि खुल्यो उनको चेत :
कतारको गर्मीले उनको बोसो मात्र पगालेन, उनको चेत पनि खोलिदियो । पुराना गलत साथीभाइको संगत सधैंलाई छोडिदिए । अनि फेरि जोडिए पुरानै काममा । त्यहीँ साइकल फिटिङ र मर्मतको काममा । उनी त्यस पसलका विश्वासिला पात्र थिए । दशौं वर्ष त्यसैमा काम गरे । कहाँको कतारको कमाई, कहाँ नेपालको । आकाश जमिनको फरक थियो । आफ्नै देशमा निस्फ्रिकी काम गर्दा कसले चयनको सास फेर्दैनन् होला र ?
भाग्यले जुरेको पोखराको बसाइँ :
साल २०७० । पोखरामा ठुली दिदी भेट्न उनी पोखरा आएका थिए । यसभन्दा अघि पनि सानैमा पोखरा आएका थिए उनी तर मज्जाले पोखरा घुमेका थिएनन् । त्यसैले एक चक्कर पोखरा घुम्न निस्किए । पृथ्वीचोकैमा ठुलो साइकल पसलले उनको ध्यान तान्यो । बोर्डमा ठुलो अक्षरले लेखिएको थियो, ‘चालिसे साइकल पसल’ ।
भव्य भवन । अनि भवन भर सजिएका कैयौं साइकलहरु । धरानमा देखिएका भन्दा फरक थिए धेरै । धेरै बेर हेरिरहेपछि साहुजीले उनलाई साइकल किन्ने कि भनेर सोधे । साइकल किन्न हैन, उनलाई यस्तै साइकलसित खेल्ने रहर जागिसकेको थियो । उनै चालिसेले उनलाई ‘साइकल ल्यान्ड’ मा पठाइदिए । अनि अर्को दिनबाटै उनी त्यसै पसलमा जोडिए ।
पोखरामै काम गर्ने भए भनेर उनले धरानमा खबर गरिदिए । केही समयमै श्रीमती र छोरा पनि पोखरा नै आए । सानो कोठामा तीन जनाको परिवार अडियो । साइकल ल्यान्ड र प्रोपाइटर प्रकाश बज्रचार्यलाई उनी धन्यवाद नदिइरहन सक्दैनन् । करिब पाँच वर्ष उनी त्यहीँ पसलमा काम गरे । काम मात्र सिकेनन् यहाँ उनले, मान्छेहरु चिने । पोखराभर विशाल नाम फैलिन साइकल ल्यान्डको ठूलो भूमिका रह्यो ।
त्यसपछि नजिकै रहेको के.जीे साइकल पसलमा डेढ वर्ष काम गरे । उनी पोखराको माटोमा भिजिसकेका थिए । पोखरामा राम्रो साइकल मेकानिकमा उनी पनि गनिन थालेका थिए । यो सब उनको मिहिनेत र लगावले नै सम्भव भएको थियो ।
अनि सुरु गरे आफ्नै व्यवसाय :
साइकलसँग नजिकिएको पनि वर्षले १७ नाघिसकेको थियो । यतिका वर्ष उनले साइकलको मन मुटु छामिसकेका थिए । हेरेरै उनले साइकलको समस्या पत्ता लगाइदिन्थे अनि तुरुन्तै मर्मत गरिदिन्थे । यतिका लामो समय अनुभव अनि ज्ञान आर्जेपछि आफ्नै व्यवसाय सुरुवात गर्ने मनमा रहर जाग्यो, उनी थप्छन्, ‘हातमा सीप र मनमा रहर भएर मात्र व्यवसाय गर्न सम्भव हुने कुरै थिएन । मुख्य कुरा त थियो, लगानी । कमाएको पैसा परिवारलाई खुवाउन, पाल्न र सन्तानलाई पढाउनै ठिक्क हुन्थ्यो । आटिहाँले उनले । बैँकबाट ऋण लिए अनि सुरुवात गरे आफ्नै सानो व्यवसाय ।’
उनले व्यवसाय सुरु गर्नु र कोरोना महामारी फैलिनु एकै समय थियो । सुरुका दिनमा कोठाका भाडा तिर्न समेत धौ धौ मात्र भएन, बैँकको किस्ताले उनी रातभर सुतेनन् । शहर लकडाउनमा थियो, उनी डेरामै लगेर साइकल मर्मत गरिदिन्थे । जेनतेन दुःखका दिनहरु टरे ।
आज उनले आफ्नै व्यवसाय गरेको पनि वर्षले दुई लागे । उनीसँगै उनले स्टाफहरु पनि राखेका छन् पसलमा । स्टाफहरुले पनि उत्सुकता देखाएर काम सिकून्, उनलाई लाग्छ । सधैँभरि मेरै पसलमा काम गर्नुपर्छ भन्ने छैन, उनी थप्छन्, ‘केही वर्ष यहाँ काम सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्छन् । यहीँका ८÷१० वटा साइकल लगेर व्यवसाय सुरु गर्दा पनि हुन्छ ।’
हरेक वर्ष सुनौला भविष्यका सपना बुनेर विदेश लाग्ने युवाहरुलाई उनको एउटै सुझाव छ, गर्ने देशैमा हो । पसिना गरेर पौरख गरेमा यहीँ धान मात्र हैन, सुन पनि फल्छ । काम सानो र तलब थोरै किन नहोस्, सुरुवात आफ्नै माटोमा गर्नुपर्छ ।
विशाल पोखरामा साइकल मेकानिक क्षेत्रका ब्रान्ड हुन् । साइकल बनाउन पोखराका साइकलेहरु मात्र आउँदैनन् उनी कहाँ, स्याङ्जा, गोरखाका साइकलेहरु पनि विशाल खोज्दै पोखरा आइपुग्छन् । यो सब त्यसै सम्भव भने भएको हैन, उनले आर्जेको दुई दशकको कामप्रतिको लगनशीलता र इमान्दारिता । त्यसैले उनी कैयौं अल्लारे युवाहरुका लागि गतिलो मार्गदर्शक बन्न सक्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->