कोही छोरा नपाएर पूजापाठ गर्छन्, महायज्ञ र सप्ताह सम्पन्न गर्छन् । कोही छोरी पाउनलाई ब्रत बस्छन् । कोही सन्तान नै नपाएर बैराग बन्छन् । घरभरि सन्तान भएर पनि आफ्नो भन्ने कोही नहुँदाको पीडा बेग्लै छ । कसैलाई कोही नहुनुको चिन्ता, कसैलाई सबै भएरै पनि पिरलो । त्यसैले उनलाई लाग्दो हो, आफ्नै भन्ने त संसारमा आफैँबाहेक अरु कोही रहेनछ ।
पोखरा एयरपोर्टको पछिल्लो बाटो हुँदै माउन्टेन म्युजियम पुगिन्छ । बाटैमा सडकछेउमा सानो त्रिपालको छाप्रो देखिन्छ । त्यहीँ छाप्रोभित्र एक तमासले कराइमा धुवाँ पुत्ताइरहेकी हुन्छिन् एक बुढी आमा । दमको रोगी हुनु पर्छ उनी, धुवाँले झन् सास फुल्लेर आउँछ । त्यसैले विश्राम लिन्छिन् एकछिन । बल्लतल्ल आगो बल्न थालेपछि कराइमा हरिया मकै राख्छिन् अनि पोल्न थाल्छिन् पटपट । बाटामा हिँड्नेहरुलाई मकै खुवाउने, यहीँ उनको दिनचर्या हो । खाना खाएर कोठाबाट निस्किएकी उनी झिस्मिसे साँझमा मात्र डेरा फर्किन्छिन् । अनि अर्को दिन उहीँ दैनिकी दोहोरिन्छ ।
साहारा क्षेत्री । उमेरले उनी नब्बे लागिन् । उमेर अनुसार त घरमै आराम गर्नु पर्ने बेला हो । आँखाले राम्रोसँग मेसो पाउँदिनन्, कान कम सुन्छिन् अनि आफ्नै शरीर भारी लाग्दो हो उनलाई । रहरले हैन, बाध्यताले उनी दिनभर त्यहीँ बस्छिन् । बाटामा हिड्नेले एक घोका मकै किनिदिन्छन् कि भनेर नजर फ्याक्छिन् हिँड्नेहरुमाथि । कोही अगाडि आएर अडिन्छन्, मकैको मूल्य सोध्छन् । चालिस रुपैयाँ सुन्दा जिब्रो टोक्छन् अनि हुइकिन्छन् बाइकमा वा गाडीमा । धनी भनाउँदाहरु महंगा महंगा होटलमा हजारौंको बिलमात्र तिर्दैनन्, टिप्स पनि दिन हिच्किदैनन्, उनी थप्छिन्, ‘यहाँ चालिस रुपैँयामा मकै बेच्दा उनीहरु जिब्रो टोक्छन् । मलाई मकै किन्नै पच्चिस रुपैँया लाग्छ । दाउरा किन्नु पर्यो । यहाँ दिनभरि बसेको ज्याला अनि म बुढीको दुःख, कसले हिसाब गर्ने ? यहाँ दिनभर मकै पोलेर कहिलेकाहीँ त कोठामा गएर राति भोकै सुत्नु पर्ने परिस्थिति पनि आईपर्छ ।’
जन्म घर उनको भोजपुर जिल्ला । आमा सानैमा बितिन् । बा रुखबाट लडेर बिते । अनि उनी टुहुरी बनिन् । बा आमाले सिलाएको भोटो लगाएको सम्झना छैन उनमा । सम्झना होस् पनि कसरी, धमिलो यादहरु प्नि छैनन् बा आमाका । धन्कुटातिरका एक जना महिलाले छोरी बनाएर उनलाई पालिन् । उनैले हुर्काइन् । धरान, सुनसरी हुँदै समयले उनलाई राजधानी ल्याइपु¥यायो । अनि सुरु भयो जीवनको संघर्षको अर्को अध्याय ।
हात मुख जोर्न उनले के के गरिनन् । होटलमा साससब्जी केलाउनेदेखि सरसफाई गर्ने काम गरिन् । डोकाभरि साग बोकेर सहर चहारिन् । सिन्धुपाल्चोकतिरको एक जना केटासँग उनको बिहे भयो । जेनतेन दुःख सुखले परिवार चल्थ्यो । परिवारमा खुसीका पोथ्राहरु थपिदै गए । दुई छोरा र दुई छोरीहरु जन्मिए । घर ढाकियो । अनि सँगै ढाकियो खुसीले मन पनि । चार सन्तानलाई हुर्काउन र बढाउन पछिको संघर्ष त उनलाई मात्र थाहा छ ।
समय बित्दै गयो । पखेटा पलाएपछि छोराछोरीले आ–आफ्नो बाटो ततारे । कोही बुटवल त कोही चितवनका विभिन्न ठाउँहरुमा पुगे । आखिर बुढाबुढी मात्र बाँकी भए राजधानीमा । समयले डोहो¥याउँदै उनीहरुलाई पोखरासम्म ल्यायो । ठाउँ छाडेपनि उनीहरुलाई दुःखले कहिल्यै छाडेन, सधैँ पछ्याइरह्यो । बरु दुःखका पलहरु थपिदै गए । उमेर ढल्किदै गएपछि झन् समय कष्टकर बन्दै गयो ।
श्रीमान विरामी भए । घरको एक सदस्य थलिनु सिंगो घर थलिनु हो । रोग नै पत्ता लगाउन सकेनन् डाक्टरले । खाइ नखाई बचाएर राखेको सम्पति पनि श्रीमानकै उपचारमा सकियो । दुई वर्ष बिस्तारमा थलिएको श्रीमानले उनलाई एकदिन एक्लै बनाएर गए । बिरानो शहरमा उनी एक्ली बनिन् ।

दिवश गुरुङ
छोराछोरी कहिलेकाहीँ उनलाई भेट्न पोखरासम्म आउँथे । कमाउन सकुञ्जेल त आइरहन्थे नि, अब कमाउन सक्दिन किन आउँथे र, उनले थपिन्, ‘नाति नातिना, पनाति पनातिनाहरु पनि जन्मिसकेका छन् । घरै ढकमक्क हुँदो हो उता । तर उनीहरुले कहिल्यै मलाई सभ्झेनन्÷बोलाएनन् । म बुढीले कति पो खान्थे र ? दोष उनीहरुको हैन, मेरै हो । मै अभागी रहेछु ।’
श्रीमान बितेको पनि वर्षले १५ लाग्छ अब आउने जेठमा । यतिका वर्ष उनले एक्लै काटिन् डेरामा । ज्यानमा तागत हुन्जेल क्रेटभरि अण्डा बोकेर घरघर लगेर बेच्थिन् । उतिबेला राम्रै कमाइ हुन्थ्यो । जेनतेन कोठा भाडा र खाना खर्च छुट्याउन मिल्थ्यो । विस्तारै शरीर कमजोर भएपछि तरकारी बेचेर पनि गुजारा चलाइन् ।
एमेर ढल्किएसँगे झन् शरीर कमजोर भएपछि त्यो पनि गर्न नसक्ने भइन् तर त्यसै साँझ बिहान चुलो बल्नेवाला थिएन । प्रेसर, दम र ग्यास्टिककै औषधीको खर्च मासिक तीन चार हजार हुन जान्छ । कोठा भाडा, मट्टितेल र खानाको खर्च पनि जोड्दा मासिक दस हजार खर्च हुन्छ । दिनभर मकै र बदाम बेचेर कहाँ त्यति उठाउन सक्नु ?
कोठा भाडा तिर्न नसकेको पनि तीन महिना भइसक्यो । घरबेटीले समयसमयमा भाडाको कुरा झिकिरहन्छिन् उनीसँग । दैनिक पचास सय रुपैँया जम्मा गरेको पैसा दुई महिनामा बल्ल एक महिनाको कोठा भाडा तिर्ने पैसा बन्छ । कति रात भोकभोकै सुतेका क्षणहरु छन् उनीसँग । कोठा भाडा र औषधीको खर्च त जुटाउनै पर्यो, उनी थप्छिन्, ‘दिनमा एक छाक खाएर भएपनि बाच्न सकिन्छ तर एकदिन औषधी छुटाएमा सासै जाला जस्तो हुन्छ । घरबेटीले डेराबाट निकालिदिए, म बुढी मान्छे अब कता जाऊ ?’
सम्पतिमा सबैको हाइहाइ, विपत्तिमा कोही छैनन् दाजुभाई, उनी यहीँ वाक्य बारम्बार दोहो¥याइरहन्छन् । खाईनखाई उनले सन्तानलाई हुर्काए, बढाए र उमेर पुगेपछि उनीहरुले आ–आफ्नो बाटो रोजे । अलिअलि जम्मा भएको सम्पत्ति पनि श्रीमानकै उपचारमा सकियो । उनलाई बोझ ठानेर नै छोराछोरीले उनलाई लिन पोखरासम्म लिन आएनन् । सन्तानसँग नभेटेको पनि वर्षले पाँच लागिसक्यो । कता छन्, अत्तोपत्तो छैन उनलाई ।
उनलाई सन्तान कहाँ गएर बस्न मन पनि छैन । अर्कालाई दुःख दिन उनलाई कत्ति मन छैन । कम्तीमा आमाको हालखबर बुझिदिन यहाँसम्म आइदिए, उनले गुनासो पोखिन् तर सन्तानलाई आमा सम्झिन कहाँ फुर्सद हुँदो हो र ?
शहरमा बरु कुकुरले बढी सुख पाएका छन् मैले भन्दा, उनी भावुक भएर बोल्न थालिन्, ‘घरबेटीकी छोरीले काखमा कुकुर च्यापेर दिनभर स्कुटरमा डुलाउँछिन् । त्यसलाई कौसीमा दुध र भात राखिदिएको हुन्छ तर यता मेरो चुलो नबलेको कैयौं रातहरु हुन्छन् । मैले कुकुरको सुखसँग आरिस र डाहा गरेको हैन, कुकुरजतिको माया र सुख पाउन पनि नसक्दा आफैप्रति दया जागेर आउँछ ।’
पाँच वर्ष अघि शरीरको देब्रेपट्टि दुखेर अस्पताल जाँदा डाक्टरले पत्थरी भएको बताएका थिए । अप्रेसन गरेर उपचार गर्ने न उनीसँग पर्याप्त पैसा थियो न औषधी किन्ने पैसा नै । पर्याप्त पानी पिएर केही बिषेक हुन्छ भनेदेखि उनले बढी मात्रामा पानी पिउन थालेकी थिइन् । आखिर गरिबको उपचार भनेकै पानी नै रहेछ, उनलाई लाग्छ ।
तीन महिनाको कोठा भाडा पो कसरी तिर्ने ? उनलाई यसैको चिन्ताले रातदिन पिरोलिरहन्छ । महंगीले आकाश छुँदा चामल र स्टोभमा भर्ने मट्टितेल किन्ने पैसा हुँदैन पटुकीमा । दिनभर त्यहीँ छाप्रोमा बस्दा पनि चार पाँच सयको भन्दा बढी व्यापार हुँदैन । कति मान्छेहरु त भोलि पैसा दिन्छु भन्दै आउँदै नआउनेहरु पनि हुन्छन् । उनीहरुलाई म बुढीको पसिना खाएरै पुग्छ भने पुगोस्, उनले पैसा नदिदाँ पनि गुनासो गर्दिनन् ।
सडक विस्तारको क्रममा उनले व्यापार गर्ने छाप्रो पनि भत्किने पक्का छ । गरिबलाई केही गरेर खान पनि सुख छैन, न्यास्रो मुहारमा उनी भन्छिन् । अब कसरी कोठा भाडा र हात मुख जोड्ने पैसा जम्मा गर्ने ? मागेर खाऊ भने हातखुट्टा छन् भन्छन्, काम गरेर खानै दिदैनन् यहाँ, उनको मनको पीडा बुझिदिने कोही छैनन् । उनी एक्लै बर्बराइरहन्छिन् ।
उनको नामै साहारा । सबैको साहारा । पोलेको मकै र बदाम बेचेर उनी हिँडिरहेका बटुवाहरुलाई खुवाउँछन् । थकान मार्छन् अनि अघाएर आफ्नो बाटो लाग्छन् । सबैको साहारा बनेकी उनी आफै भने
दिनप्रति दिन एक्लिदै गएकी उनैलाई पत्तो छैन ।




