नेपालको सुन्दर नगरी पोखराको सुन्दरताले मलाई पहिलोपटक मोहित बनायो । जुन दिन मैले पोखरालाई कर्म घर बनाएकी थिएँ । २०५२ साल वैशाखको महिनाको अन्त्यतिर हो, मैले पहिलो पटक पोखरा देखेको । तराइमै जम्मे–हुर्केको मैले झापाको हरियाली फाँटमात्रै देखेकी थिएँ । त्यसो त तराइका जिल्लाहरुमध्ये झापा सुन्दर, शान्त, हरियाली र वातावरणीय हिसावले पनि मानव अनुकुल छ । पोखरा प्रथम दृष्टिमै मन लोभ्याउने हरियाली सहर थियो, त्यतिबेला । फेवातालमा सेताम्यै भएर उभिएका हिमालको चित्र देखिँदा जो कसैको पनि मन लोभ्याउँथ्यो । जस्तोसुकै परिस्थिति र तनाव भए पनि पोखराको सुन्दरताले मानिसको तनाव कम गर्नसक्थ्यो भन्ने मेरो बुझाई रहन्थ्यो । सायद संसारमा कहीँ पनि त्यस्तो ठाउँ छैन होला जहाँ सहज रुपले हिमाल देख्न पाइयोस् । उठ्नेबित्तिकै ओछ्यानबाट, झ्यालबाट घरको छतबाट, हिँड्दाहिँड्दै स्कुटरको, गाडीको लुकिङ ग्लासबाट समेत हिमाल देख्न पाइन्यो त्यो पनि बाह्रै महिना । तर, केही वर्षयता हिमाल देख्न पाइन छोड्यो ।
वर्षमा आक्कलझुक्लल देख्न पाइन्छ । धेरै प्रतीक्षा गर्नुपर्छ । बाक्लो तुवाँलो लाग्ने गरेको छ । आकास खुल्दैन, जहाज चलाउन समेत रिस्क छ । यो सबैको मुख्य कारण वातावरणीय प्रदूषण नै हो । वायु प्रदूषण, आकास प्रदूषण बढेको छ त्यसो त पोखराको मौसम मात्रै बिग्रिएको होइन । मुलुकभर नै पर्यावरणिय प्रदुषणको चपेटामा परेको छ । यस वर्ष ५ जुनका दिन संसारभर नै वातावरण दिवस मनाइन्छ । हाम्रो वरीपरीको वातावरण कति धेरै नै प्रदूषित बनेको छ । यति धेरै मात्रामा वातावरण प्रदुषित हुदा पनि अझै मानव समुदायमा चेतना आएको छैन । वातावरणीय स्वच्छता कायम गर्न सबै समुदायमा जनचेतना प्रवद्र्धन गर्नुपर्ने देखिन्छ ।
नेपालको संविधान २०७२ मा हरेक नेपालीले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको ग्यारेन्टी गरेको छ । तीनतहको सरकारले छन् तर वातावरण संरक्षणमा कुनै पनि सरकारले चासो वा सरोकार राख्दैन । बरु विकासका नाममा वातावरण प्रभाव मूल्याङ्कन नै नगरी विकास आयोजनाहरु संचालन गरिन्छ । विकासका नाममा गरिने आयोजनाले वातारणमा क्षति पु¥याएको छ । सहरी तथा ग्रामीण क्षेत्रमा सडक निमार्णका क्रममा हुने वायूमण्डलको प्रदूषण र लामो समयसम्म सडक निर्माण नभएको कारण प्रदूषण बढेको छ । विकासले विनाश निम्त्याएको छ । वन, वातावरण, जैविक विविधता, मानवीय अस्तित्व संकट, जलवायू परिवर्तन, वन्यजन्तुको संरक्षण गर्नुपर्ने छ । ५० वर्षदेखि वातावरण संरक्षणमा विश्वको ध्यान गएको बेला नेपालमा भने सरकारी तथा जनस्तरबाट समेत वातारण संरक्षण प्रति बेवास्ता गरिएको देखिन्छ । अहिले मानव समुदायले १५ प्रतिशत पृथ्वीको दोहन गरेको छ । खाद्यान्न उत्पादन बढाउन, खेतबारीमा ३ सय प्रतिशत हानिकारक विषादीको प्रयोग गरेको पाइन्छ । सहरी क्षेत्रमा बसोबास गर्नेको संख्या अहिले दोब्बरले बृद्धि भएको छ । मानवीय अतिक्रमणका कारण प्राकृतिक श्रोतहरु माथिको दोहन बढेको छ । वन फडानी ४५ प्रतिशतले बढेको छ ।
जनसंख्या बृद्धिका कारण पृथ्वीको १ अर्ब हेक्टर वन नष्ट भएको तथ्याङ्कले देखाउछ । पृथ्वीको उत्पति भएको तीन सय वर्षयता सिमसार क्षेत्रको ८५ प्रतिशत भूभाग नष्ट भइसकेको तथ्याङ्कले देखाउँछ । पृथ्वीको झन्डै ७५ प्रतिशत भाग मानिसले ओगटेका छन् । पृथ्वीका जल र स्थलमा जिवित जीवजन्तु, किराहरू, वनस्पति, गम्भीर संकटमा परेका छन् । अहिलेको विश्वले भोग्नु परेको सबै भन्दा ठूलो समस्या भनेको खाद्यान्न संकट नै हो । अब यस्तै अवस्था रहेमा वा चरम प्राकृतिक सम्पदाको दोहन यसैगरी भएमा भावी दिनमा विश्व संकटग्रस्त हुने देखिन्छ । प्राकृतिक श्रोत साधको दोहनले अतिवृष्टि अनावृष्टि, बाढीपहिरो भूक्षयलगायतले कृषि र पशुपालनको क्षेत्रमा असर परेको छ ।
मानव समुदायले नै जीवजन्तुको बासस्थानलाई विस्थापित गरिरहेका छन् । वनस्पति र जीवजन्तुको चोरी शिकारी अत्याधिक दोहन बढेको छ । पृथ्वीको तापक्रम पनि बढेको छ । यहि रफ्तारमा पृथ्वीको तापक्रम बढ्ने हो मानव हित गर्ने वन्यजन्तु र वनस्पतिका प्रजाति लोप हुने अवस्था आउँछ । संसारमा केही वर्षयता प्लास्टिकको प्रयोग १० प्रतिशतले बढेको छ । हामीले प्रयोग गर्ने हरेक सामान प्लास्टिकबाट बनेका हुन्छन् । प्लास्टिकको प्रयोग पछि विर्सजनको ठूलो समस्या बढ्दै गएको छ । उत्पादकत्व बृद्धि गर्न रासायनिक र हानिकारक मलको प्रयोग धेरै बढेको छ । त्यही रासायनिक मल र विषादी बगेर हाम्रा खोलानाला र समुद्रसम्म पुग्छन् । रासायनिक मल र विषादी मिश्रित पानीले समुद्रमा भएका जीवजन्तु नास हँुदै गएको अवस्था देखिन्छ । केही वर्षयता नेपाल, वायु प्रदूषणमा विश्वकै सबैभन्दा प्रदूषित देश भएको तथ्याङ्कले देखाउछ ।
विश्वमा मानव गतिविधि र विकासका कारण कार्बन उत्सर्जनको मात्रा बढेको छ । प्रकृतिले कार्बन लिन्छ, अक्सिजन दिन्छ तर हामीले प्रकृतिलाई जोगाउन नसक्दा स्वयं मानव जाती नै संकटमा पर्दैएको छ । जसले खानेपानीका श्रोतहरु सुक्दै गएको छ । खानेपानीको हाहाकार बढेदै गएको छ । उत्पादकत्व घटेको छ । विश्वका विकसित मुुलुकहरुले गरेको प्राकृतिक दोहनको मारमा हामी जस्ता विकासशिल राष्ट्रहरुमा परेको छ । प्राकृतिक संम्पदा जोगाउन रुख रोप्नका लागि विकसित मुलुकहरुले अनुदानसमेत दिने गरेको छ । तर, यसमा सरकारकोे ध्यान कहिल्यै गएको देखिँदैन । सरकारले प्राकृतिक सम्पदा जोगाउन समुदायलाई जनचेतनाका साथै सक्रिय सहभागिता गराउनु पर्ने हुन्छ ।




