पोखरा/ अक्सर क्रिकेटमा जित या हार हुन्छ । कहिलेकाहिँ भने त्यो हुँदैन र खेल बराबरीमा रोकिन्छ । नकआउट चरणमा बराबरी रन भएमा खेल सुपर सिक्समा जान्छ । तर, लिगमा भने त्यसो हुँदैन । नेपाली क्रिकेटको इतिहासमा अन्तर्राष्ट्रिय खेलमा बराबरी गरेको भने विरलै भेटिने गरेको छ ।
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले अमेरिकासँग बराबरी रन गरेको छ । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिका ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनायो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बल अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा अमेरिकालाई जितका लागि अन्तिम ६ बलमा ६ रन चाहिएको थियो ।
सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी लगायतका अनुभवी तथा प्रमुख बलरहरु बाकिँ नै थिए । तर, नेपालका कप्तान सन्दीप लामिछानेले ती बलरलाई छाडेर आदिल अन्सारीलाई जिम्मा दिए ।
अमेरिकाले ४९ औं ओभरसम्म ४ विकेट गुमाउँदै २ सय ६९ रन जोडेको थियो । अन्तिम ओभरबाकिँ रहँदा सम्म मात्रै ६ रन चाहिएको थियो भने ६ विकेट बाकिँनै थियो । तर, कप्तान लामिछानेले जसलाई रोजे उसको (आदिल) लय थियो । उनले ८ ओभरमा ४० रन मात्रै खर्चेका थिए भने १ विकेट लिएका थिए ।
अन्तिम ओभर ६ बल ६ रन उनको मनको ढुकढुकी पनि उत्तिकै बढेको उनलाई हौसला दिँदै थिए, कप्तान सन्दीपले । ‘अन्तिम ओभरमा दबाब त थियो । दाइले (सन्दीप) मेरो धेरै हौसला बढाउनु भयो । मलाई धेरै विश्वास गर्नु भयो । मैले पनि जतिसक्यो राम्रो गर्न खोजेँ, राम्रो भयो’, आदिलले भने ।
आदिल आफू सुरुमा निकै डराएको बताउँछन् । ‘नो बलको समयमा म नर्भस भएँ । तर, सन्दीप दाइले धेरै सहयोग गर्नुभयो । मैले अर्को बलमा ध्यान दिएर ठ्याक्कै राम्रो भयो’, उनले भने ।
नेपालले आदिललाई पाँचौं नम्बरमा पठाएको थियो । नेपालले दीपेन्द्रसिंह ऐरी भन्दा पहिला आदिललाई पठाएको थियो । ‘सर (पुबुदु) ले मलाई आफ्नो स्वभावको खेल खेल्न भन्नु भएको थियो । अरु त्यस्तो केही थिएन । म आफ्नो जुन खेल छ त्यहि खेल्न प्रयास गरेको थिएँ’, आदिलले भने ।
अन्तिम दुई बलमा एक रन चाहिएको अवस्थामा आदिल भाग्यले दुवै बल राम्रो फिल्डरमा पुगेको बताउँछन् । आदिलले पहिलो बलमा आरोन जोन्स र दोस्रो बलमा राहुल जरिवालालाई एक एक रन खर्चिए । तेस्रो बलमा पनि एक रन नै खर्चेका थिए । तर चौथो नो बल हुन पुग्यो । लगत्तै एक रन खर्चिए । जुन अवस्थामा अमेरिकालाई दुई बलमा जितका लागि एक रन चाहिएको थियो । पाँचौं बलमा फाइन लेगमा आरोन जोन्सलाई आदिलले रोहित पौडेलबाट २६ रनमा उत्कृष्ट क्याच गराएपछि अन्तिम बलमा एक रन चाहिएको थियो ।
अन्तिम बलमा करणको थ्रो मा दीपेन्द्रले जरिवालालाई रन आउट गराएपछि खेल टाई भएको हो । आदिल खेलको प्लेयर अफ द म्याच घोषित भए । उनको यो पहिलो अन्तर्राष्ट्रिय प्लेयर अफ द म्याचसमेत हो ।
अमेरिकाका स्टिभन टेलरले १ सय २३ बलमा ११ चौका र ३ छक्कासहित १ सय १४ रनको शतकीय इनिङ खेले । कप्तान मोनांक पटेल १ सय १५ बलमा ४ चौका र २ छक्कासहित ८५ रनमा आउट भए । दोस्रो विकेटका लागि पटेल र टेलरले २ सय रनको शतकीय साझेदारी गर्दै अमेरिकालाई जित नजिक पु¥याएका थिए । आदिल अन्सारीले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले १० विकेटमा ३७ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ५ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । करण केसीले ९ ओभरमा १ मेडन राख्दै ४२ रन खर्चिए । दिपेन्द्र सिंह ऐरीले ८ ओभरमा १ मेडन राख्दै ५५ रन खर्चिए, अरिफ शेखले ६ ओभरमा ३७ रन र सुशान भारीले ३ ओभरमा २४ रन खर्चिए ।
त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २ सय ७४ रनमा अल आउट भयो । नेपालका रोहित पौडेलले ७२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ६२ रनको इनिङ खेले । विकेटकिपर तथा ओपनर आसिफ शेख ७० बलमा ६ चौकासहित ६१ रनमा क्याच आउट भए । देव खनाल ६९ बलमा ३ चौकासहित ५४ रनमा क्याच भए । कुशल भुर्तेल १९ रनमा, मोहम्मल अदिल अलम ३६, दिपेन्द्र सिंह एरी १ रनमा, आरिफ शेख ८ रनमा, सन्दिप लामिछाने १० रनमा, सोमपाल कामी १ रनमा आउट भए भने करण केसी शुन्यमै आउट भए । शुसान भारी १ रनमा नटआउट रहे ।
अमेरिकाका रस्टी थेरनले ९.२ ओभरमा ५६ रन खर्चेर ४ विकेट लिए । अलिखान र सौरभा नेत्राभालाकरले २–२ तथा निसार्ग पटेल र यासर मोहम्मदले १–१ विकेट लिए ।





