पोखरा/ पोखरा हेम्जामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइजले संघर्षपूर्ण जित निकालेको छ । हेम्जा युनाइटेड क्लबको आयोजनामा आइतबार भएको क्वाटरफाइनल खेलमा चर्च ब्वाइजले कालिका स्पोट्र्स एकेडेमीलाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
चर्च ब्वाइजलाई गोलका लागि दोस्रो हाफ कुर्नु परेको थियो । खेलको सुरुवातदेखि नै कालिकालाई दबाबमा राखेपनि कुनै गोल गर्न सकेन । पहिलो हाफ बराबरीमा सकिएको थियो ।
गौरीशंकर खेल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो मिनेटमा नै चर्चब्वाइजका कप्तान मिलन राईको पासमा आसिष चौधरीले गरेको उत्कृष्ट प्रहार पहिलो बारमा लाग्दै बाहिरियो । १५ औं मिनेटमा कप्तान मिलनको लामो प्रहार क्रसबार नजिकैबाट बाहिरिदा अर्को अवसर खेर गयो । खेलको २५ औ मिनेटमा निशान खड्काको लामो प्रहारलाई कालिकाका गोलरक्षक प्रदिप भण्डारीले उत्कृष्ट बचाउ गर्दा रिफ्लेक्ट बलमा आशिषको पासमा हेमन्तले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार समेत बचाउ गर्दै खतरा टारे । कालिकाले भने पोष्टमा कुनै प्रहार गर्न सकेन ।
खेलको ५० औं मिनेटमा विवेक पौडेलले निशान्त खड्काकालाई दिएको पासमा निशान्त पुनः विवेकलाई वानटच पास र विवेकले पुनः निशान्तलाई दिएको वान टचपासमा गेको प्रहार क्रसबारदेखि केही इन्च फरक पर्दै बाहिरियो । खेलको ५३ औं मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए । अशोक खवासको लामो पासलाई आशिषले नियन्त्रणमा लिदैं गरेको चिफ प्रहार गोलरक्षक प्रदिप भण्डारीलाई नाघ्दै क्रसबारमा लागेर जालि चुमेको थियो । ५५ औं मिनेटमा फो फानाले भेटेको बललाई जालीको दिशा दिन नसक्दा कालिका बराबरी गर्नबाट चुक्यो । ६२ औं मिनेटमा नितिन थापाले डि एरिया सामु तयारी अवस्थामा रहेका सुरेश कुमाललाई निकालिदिएको उत्कृष्ट पासमा चर्च ब्वाइजका गोलरक्षक किशोर गिरी बाधक बने । उनले निकै चलाखीपुर्ण तरिकाले अघि बढ्दै बचाउ गरे ।
६४ औं मिनेटमा आशिषले सेन्टरबाट लगेको बल कप्नात मिलन राईलाई दिएको पासमा मिलनले हेमन्त थापा मगरलाई दिएको पासमा हेमन्तले ब्याक फ्लिक गरेको बल पोस्ट नजिकैबाट बाहिरियो । खेलको ६५ औं मिनेटमा कालिकाका सुरेशको निकै लामो प्रहार क्रसबार नजिकैबाट बाहिरियो । खेलको ८० औं मिनेट कालिकाका फोफानाको पासमा सुरेशले प्रहार गरेको बल गोलरक्षक किशोरले उत्कृष्ट बचाउ गर्दै अग्रता कायमै राख्न सफल भए । खेलको ८७ औं मिनेटमा चर्च ब्वाइजको अग्रता दोब्बर गर्ने अवसरमा गोलरक्षक प्रदिप बाधक बने । हेमन्त थापाको पासमा निशान्त खड्काको उत्कृष्ट प्रहार बचाउ गर्दा बल रिबाउन्ड हुँदै पुनः निशान्तले नै पाएका थिए । अग्रता दोब्बर बनाउने उक्त अवसरलाई समेत गोरलक्षक प्रदिपले उत्कृष्ट बचाउ गर्दै संकट टारे । खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका गोलकर्ता आशिष चौधरी घोषित भए । प्रतियोगिता अन्तरगत सोमबार (आज) खुमलटार युथ क्लब र बागमती युथ क्लब बीच तेस्रो क्वाटरफाइनल खेल हुँदैछ । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ ।





