समयसँगै परिवर्तन अपिरहार्य छ । न परिवर्तन रोक्न सकिन्छ नत नकार्न नै । यति भनिरहँदा चुपचाप मानव विकास र आधुनिक प्रविधिले निम्त्याएका वातावरणमा जलवायु परिवर्तनका बाछिटाहरुलाई बेवास्ता गर्नु आफ्नै खुट्टामा बन्चरो प्रहार गर्नुसरह हो । आजको एक्काइसौं शताब्दीमा नेपालजस्तो हिमाली देशमा जलवायू परिवर्तनका असरहरु अतुलनीय रुपमा देखा परेका छन् । हुन त विकसित देशहरुले उत्सर्जन गर्ने कार्बोनको असरको भागिदार नेपाल पनि बन्न पुगेको छ । यसको प्रष्ट असर देखिएका छन् हिमाली भेगमा रहेका हिमतालहरुमा ।
हरदिन पृथ्वीको तापक्रम बढिरहेको छ । हरितगृह ग्यासको उत्सर्जन, जंगल फडानी एवं आगलागी, बढ्दो शहरीकरण र औद्योकीकरण, जनसंख्या वृद्धिजस्ता कारक तत्वहरुका असर देखिएका छन्, जलवायू परिवर्तनमा । यसैलाई मध्यनजर गर्दै विश्वका ठूलाठूला वातावरण संरक्षण र जलवायू परिवर्तन न्यूनीकरणमा लाग्ने संस्थाहरुको प्रयास जारी नै छ । संयुक्त राष्ट्र संघ (युएन) ले सन् २०१५ मा पेरिसमा आयोजित विश्वव्यापी जलवायू परिवर्तनको सम्मेलन कोप २१ मा पृथ्वीको तापक्रम सन् २०५० सम्म १ दशमलब ५ डिग्रीसम्म वृद्धि कायम गर्ने सहमति भएको थियो । तैपनि पृथ्वीको तापक्रम योभन्दा बढ्ने पक्का छ । यति सजिलै औद्योगिक राष्ट्रहरु लचिलो बन्ने पक्कै देखिँदैनन् । तिनीहरुलाई त विकासको क्षेत्रमा अरुभन्दा बढी छलाङ मार्नुछ । पृथ्वीको तापक्रम १ दशमलब ५ डिग्रीले बढेपनि हिमाली क्षेत्रको तापक्रम भने १ दशमलब ८ डिग्रीले बढ्ने अध्ययनले देखाएको छ ।
यता अध्ययनले यो पनि देखाउँछ कि, हरितगृह ग्यासको उत्सर्जन यही दरले विश्वमा बढ्दै जाने हो भने सन् २१०० सम्म पृथ्वीका हिमाली क्षेत्रमा रहेकाहिमालका तीन भागको दुई भाग हिउँहरु पग्लेर जानेछन् । यसले हिमालहरु मात्र नांगिदैनन्, सँगै पानीका लागि हिमालमा आश्रित विश्वभरका करिब १ बिलियन मानिसहरुलाई प्रत्यक्ष असर पर्नेछ । अनि यसले नेपालमा पनि निम्त्याउनेछ, हिमतालहरुको क्षति ।
कुरा गरौं तस्विर कै । अर्थात गंगापूर्ण हिमतालको । माथिल्लो तस्वीर फोटोग्राफर तासी राज घलेले सन् २०१९ मा कैद गरेका हुन् । हिमाली जिल्ला मनाङको ङिस्याँङ गाउँपालिका ६ अन्तगर्त ३५४० मिटर उचाइमा रहेको यस हिमतालले मनाङ जिल्लाको सुन्दरता मात्र थपिदिएको छैन, सँगै यसैमा आश्रित छन् यहाँका स्थानीयहरु । अन्नपूर्ण फेरो पदयात्रा गर्ने पर्यटकहरु यहाँ पुगेर विचरण गर्न छुटाउँदैनथे । हुन पनि २१ दशमलब शुन्य आठ हेक्टरमा फैलिएको यस सुन्दर ताल हेर्दा को लोभिदैनथे र ?तालको निराकार रंग, माथि गंगापूर्ण हिमाल अनि पारि मनाङ बजार । यति नै काफी थियो मन बहकिन । तर, आज यही सुन्दर हिमतालको अस्तित्व भने संकटमा छ । निर्मल पानी हैन, गेग्रान नै गेग्रानले भरिएको छ ताल । कुरुप । हेर्दै मन अमिलो बन्छ, तालको नाजुक अवस्था देख्दा ।
२०७८ साल असार र साउन महिनामा पहिरो र बाढीले धेरै क्षति पु¥याएको जिल्ला हो मनाङ । यसैको शिकार बन्यो गंगापूर्ण ताल । ताल वरपरका क्षेत्रमा कैयौं साना तथा ठूला पहिरोहरु आए र पहिरोले ल्याएको गेग्रान र ढुंगामाटो तालमा थुप्रिएसँगै तालको गहिराइ घट्यो । अनि निराकर सुन्दर ताल एकाएक मरुभूमि सरह बन्यो । अनि हिमताल ताल रहेन । यो त केवल ढुंगा, माटो र गेग्रानको थुप्रो बन्यो ।
हिमाल पारिको जिल्ला मनाङ । यसअघि यति ठूलो मनसुन वर्षा मनाङबासीले बिरलै थाहा पाएका थिए । वास्तवमै भन्नुपर्दा मनाङको वार्षिक वर्षा नै ३०० मिलिमिटर भन्दा कम हुन्थ्यो । तर, पोहोर साल भने जुनको पहिलो हप्तामै यसको दोब्बर मात्रामा वर्षा भएको अध्ययनले देखाउँछ ।
कारक मनसुन वर्षा मात्र नभएर अर्को कारक तत्व हो जलवायू परिवर्तन । गंगापुर्ण हिमालको हिउँ पग्लिनुमा पनि हिमतालको क्षेत्रफल खुम्जिनुको अर्को कारण मानिन्छ । इसीमोडको अध्ययन अनुसार हिमालको हिउँ तीव्र गतिमा पग्लिएर गएसँगै तालमा पानीको सतह घटेको देखाउँछ ।
हिमतालकै विषयमा गरिएको अर्को खोजपत्र अनुसार सन् १९८८ देखि २०१९ को अन्तरालमा तालको क्षेत्रफल १ दशमलव ३५ प्रतिशतले घटेको र तालको लम्बाइ १० दशमलव ५६ प्रतिशतले घटेको देखिन्छ । कुनैदिन तालकै अस्तित्व मेट्ने पो हो कि भन्ने पक्का छ ।
हुन त हिमताल क्षणिक ताल मानिन्छन् । यसको अस्तित्व सधैंभर भइहन्छ भन्ने पनि हुँदैन किनकि ग्लेसियरको अवस्थासँगै यो हराउने र देखा पर्नसक्छ । हिमताल सुक्नु अप्राकृतिक नै भने हैन । यो हिमालय पारिस्थितिक प्रणालीको यथार्थता हो । तर अहिले भने प्राकृतिक कारणसँगै मानवीय कारणले तालको अस्तित्व संकटमा रहेको देखिन्छ ।
अनुसन्धानकर्ता शालिकराम सिग्देलको अध्ययनका अनुसार स्वीस भूगर्भविद टोनी हेगनले सन् १९५७ मा कैद गरेको तस्वीर र उनले सन् २०१० मा कैद गरेको मनाङ र गंगापूर्ण तालको तस्विरलाई तुलना गर्दा हिमरेखा ९०० मिटर माथि सरेको देखिन्छ । अर्थात ९०० मिटरको क्षेत्रमा अहिले हिउँ नरहेर हरियाली छाएको देखिन्छ । ९०० मिटर माथिसम्म ससाना रुखविरुवा पलाउनु भनेको वनजंगलले बढी सूर्यको ताप सोस्नु पनि हो । यसले अन्ततः वातावरणको तापक्रम बढाउने अध्ययनले देखाउँछ ।
गंगापुर्ण तालमा पानीको मात्रा घट्नु भनेको मस्र्याङ्दी नदीमा पानीको मात्रा घट्नु पनि हो । यस नदीको पानीमा आश्रित तल्लो भेगका हजारौं मानिसको जनजीवन, जलविद्युत परियोजना एवं सिंचाइमा यसले असर पार्ने निश्चित छ ।
इन्डियन स्पेश रिसर्च अर्गनाइजेशन (आइ. एस. आर. ओ) ले गरेको अध्ययन अनसार ७५ प्रतिशत हिमालय ग्लेसियरहरु अस्तित्व संकटमा रहेका छन् । यता नेपालमा ३५०० मिटर र त्यसभन्दा बढी उचाइमा रहेका २ हजार ३ सय २३ हिमनदीहरु जोखिममा रहेका छन् । यसमध्ये तीन वटा हिमताल फुटेको इतिहास हामीसँगै छ । यस अर्थमा पनि हिमताल फुटेसँगै यसले तल्लो भेगको जनजीवन, खेतीपाती र वनजंगलमा पु¥याउने क्षति पुर्व अध्ययन गर्नु जरुरत देखिन्छ ।
विश्वकै अग्लो उचाइमा रहेको तिलिचो ताल पुग्न आएका सबै पर्यटकहरु गन्तव्यसम्म पुग्न सक्दैनथे । अनि गंगापुर्ण ताल घुमेर तिलिचो पुग्ने प्यास मेट्दथे । मनाङका स्थानीय एवं पर्यटन व्यवसायी विनोद गुरुङ थप्छन्, ‘यस ताल मनाङको मात्रा गहना नभएर सिंगो देशकै सम्पदा हो । तालको अस्तित्व जोगाउनु स्थानीय सरकारदेखि केन्द्रीय सरकारको कर्तव्य र जिम्मेवारी रहनेछ । सरकारको योजनामा हामी स्थानीय एवं होटल व्यवसायीहरुको सदैव साथ रहनेछ ।’
जिल्लाकै मात्र नभएर नेपालकै पर्यटकीय गन्तव्यको अस्तित्व संकटमा रहेको भन्दै यसको संरक्षण र जर्गेना गर्नका लागि आवश्यक गुरुयोजना तयार गरिएको जनप्रतिनिधिहरुको भनाइ रहेको छ । यसका लागि तालको यथावत सुन्दरता र अस्तित्वलाई नखल्बलाउने हिसाबले बार लगाउने, ताल भित्रको थुप्रिएको ढुंगा र गेग्रान निकाल्ने र पहिरो सम्भावित क्षेत्रमा पर्खाल एवं चेक ड्याम बनाउनु आवश्यक देखिन्छ । समयमै सही कदम चलाउन सकिएमा गंगापुर्ण तालको अस्तित्व जोगाएर पर्यावरण, पर्यटन र जनजीवनलाई प्रत्यक्ष र अप्रत्यक्ष फाइदा पु¥याउन सकिन्छ ।
यो त रह्यो अस्थायी रणनीति । यसरी सबै हिमतालहरुलाई पर्खाल र तारबार लगाएर यसको संरक्षण एवं ताल फुटेर पुग्ने क्षतिपुर्तिलाई न्यूनीकरण गर्न सकिँदैन । विस्फोटको खतरामा पुगेका कैयौं हिमतालको जोखिम घटाउन त्यसको सतह घटाउनु हो । यता नेपालकै परिपेक्ष्यमा च्छो रोल्पा र इम्जाको पानीको सतह घटाइएको थियो । च्छो रोल्पाको सन् २००० मा ३ मिटर सतह घटाइएको थियो भने खुम्बु क्षेधमा अवस्थित इम्जाको सतह सन् २०१६ मा करिब तीन मिटर घटाइएको थियो । विभिन्न विदेशी संघसंस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा यस्ता कार्यहरु भइरहेको नेपालजस्तो विकासोन्मुख देशमा सरकारले भने यस विषयलाई खासै प्राथमिकता दिएको छैन । सरकारले आगामी दशकमा हिउँपहिरो, हिमताल विस्फोटका घटना एवं मनसुनी वा जुनैसमय आउनसक्ने बाढीपहिरोको अध्ययन, अनुसन्धान एवं पूर्व सतर्कता अपाउने प्रविधि एवं पद्धतिको विकास एवं प्रयोग गरिनुपर्नेछ ।
यसको एउटै विकल्प हो, जलवायुू परिवर्तनको न्युनीकरण । यसका लागि कुनै संस्था, जिल्ला वा देशले चाल्ने कदमले मात्र सम्भव हुँदैन । जरुरत छ त विश्व समुदायको एकजुट अनि एकता । विश्व नै एक ढिक्का भएर हरितगृह ग्यासको कटौटी, वृक्षरोपणको वृद्धि र वैकल्पिक उर्जाको प्रयोगलाई प्राथमिकता दिनुपर्छ । विश्वका औद्योगिक र विकासका क्षेत्रमा छलाङ मारेका देशहरुले कुनै पनि हालतमा हरितगृह ग्यास कटौटी गर्ने पक्षमा हुँदैनन् । त्यसैले जलवायू परिवर्तनको मारमा पर्ने हामीजस्ता हिमाली देशहरु हुन् ।
जलवायु परिवर्तनका मुद्दामा अहिले पनि धेरै देशहरु पेरिस सम्झौता विपरीत कार्बोन उत्सर्जन गरिरहेका छन् । विश्व बैंकको पछिल्लो तथ्यांकअनुरुप प्रत्येक नेपालीले गर्नै कार्बोन उत्सर्जनको तुलनमा एउटा अमेरिकीले करिब ३० गुणा र जर्मन नागरिकले करिब१७ गुणा बढी कार्बोन उत्सर्जन गर्छ । हामीले गर्दै नगरेको गल्तीको भार भने हामी हिमाली देशहरुले जलवायु परिवर्तनले पार्ने असरहरुबाट भोग्नु परेको छ ।
त्यसैले आजको युगमा कार्बोन ट्रेडिङ राम्रो विकल्प बन्न सक्छ । विकसित देशहरुले उत्सर्जन गरेको कार्बोनको मात्रा हाम्रा देशमा रहेका वनजंगलले खपत गर्ने भएकाले हामीले रुखबिरुवा संरक्षण गरेबापत ती विकसित देशहरुले नेपाललाई आर्थिक सहयोग गर्नुपर्ने हुन्छ । नेपालले सन् २०२५ को अन्त्यसम्म विकसित देशहरुले उत्सर्जन गरेको हरितगृह ग्यासको मात्रा न्युनीकरण गराउन मद्धत गराए बापत पाँच विलियन नेपाली रुपैँया पाउन सक्छ । हो , यस्तै विभिन्न स्रोतबाट प्राप्त आम्दानीले हिमनदी एवं हिमताल विस्फोट, यसले पु¥याउने क्षति र यसै विषयमा केन्द्रित रहेको खोज र अनुसन्धानको दायरालाई बढाउन नितान्त आवश्यक देखिन्छ ।




