बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

भविष्य खोज्दै आफ्नै थातथलोमा…

भविष्य खोज्दै आफ्नै थातथलोमा…


  • दिवस गुरुङ
  • असार २० २०७९, सोमबार

कोकर । अर्थात फरेष्ट क्याम्प । कोकर पुरानो नाम । फरेष्ट क्याम्प नयाँ न्वारन गरिएको नाम ।जंगलबीचको अलिकति सम्म परेको ठाउँ । केही दशक अघि यही पाँखोमा नजिक–नजिक गाउँका गोठालाहरु बर्खामा वस्तुभाउ ल्याएर गोठ बसाल्थे । बेसीमा अन्नबाली हुल्ने बेला भएपछि भने उनीहरु गोठै बोकेर गाउँ फिर्थे । आज त्यहाँ गाउँलेहरुले गोठ हैन, होटल बसाले । गाइबस्तु हैन, पाहुनाहरुको स्याहार–सुसार र खानपानको व्यवस्था गर्छन् । दिउँसै स्याल कराउने पाखो आज हराभरा भएको छ । त्यही हराभरा कोकरमा अलिकति रंग थपिन आइपुगेका थिए हिमाल केसी ।

सरकारले सन् २०२० मा बीस लाख भित्र्याउने महत्वाकांक्षी सपनासहित भिजिट नेपाल २०२० घोषणा ग¥यो । त्यति नै लक्ष्य पूरा नभएपनि अन्य वर्षहरुभन्दा पर्यटकको आगमन बढ्ने निश्चित थियो । तिनताका पर्यटकको रोजाइमा परेको गन्तव्य थियो मर्दी हिमाल पदयात्रा । करिब ४÷५ दिनको छोटो समयमै काठमाडौं वा पोखरा शहरबाटै हिमालको काखैमा पुगेर हिमालसँगै भलाकुसारी गर्न मिल्ने उपयुक्त गन्तव्य मर्दीबाहेक अरु कमै थियो । यहीपदयात्राको बीच भागमा पर्दछ फरेष्ट क्याम्प । हिमालको काखसम्म पुग्न आउने पाहुनाको स्वागत सत्कारमा आतुर हुलमा एक थिए, उनै हिमाल ।

बाध्यताले परदेशिएका उनले विदेशमा कस्ता कस्ता हन्डारहरु खाएनन् र ? दुबईमा पाँच वर्ष लेबर काम गरे । अनि ६ वर्ष बिताए साउदीको हपहपी गर्मीमा । गाउँ पाखाको हरियाली र मर्दी र माछापुच्छ«ेको सुन्दरता साँझ बिहान नियाल्दै रमाउँदै बाल्यकाल बिताएका उनलाई मरुभूमि र कंक्रिट विदेश ननिको लाग्यो । अनि उनले रोजे स्वदेशको बाटो । ‘जति उर्जा, मिहिनेत र पसिना मैले खाडी मुलुकमा बगाएँ, त्यति नै मात्राले यहाँ आफ्नै माटो सिञ्चित गरेको भए, प्रतिफल दोब्बर हुन्थ्यो,’ उनी थप्छन्, ‘ढिलै भए पनि बुद्धि फि¥यो । आफ्नै गाउँठाउँको कुनाकन्दराको अक्करमा सम्भावनाहरु लुकेर रहेका हुन्छन् । मैले त्यही सम्भावनाहरुलाई बुझ्दै लागेँ, पर्यटन क्षेत्रमा ।’

पर्यटकको मात्रा ह्वात्तै ओइरिएसँगै कोकरका होटलहरुले पर्यटकलाई थेक्न सक्दैनन् भन्ने उनलाई लाग्यो । आउने पाहुनालाई खाना बस्न नदिई रित्तै फर्काउने कुरा पनि भएन । विदेशमा पसिना बगाएर जम्मा गरेको केही धन र बाँकी ऋण खोजेर नयाँ होटल खोल्ने आँट गरे । पहिलो टार्गेट थियो, भिटिज नेपाल २०२० । आएका पर्यटकलाई सुख सुविधामा कुनै कमी महसुस गराउन सके, पर्यटन वर्ष मात्र हैन, आगामी दिनको नेपालकै पर्यटन पनि सफल हुन्छ, उनी सोच्थे ।सोचे र भनेजस्तो त जीवन कहाँ हुँदो हो र ?त्यही हुँदैन र सोचेजस्तै बनाउनलाई कसरत गर्दाको मज्जा बेग्लै हुन्छ, उनी मुसुक्क मुस्कुराउँछन् । उनलाई फलामको चिउरा चपाएजस्तै भयो ।

उनले नयाँ होटलको जग बसाल्नु र कोरोना महामारी फैलनु करिब उहीसमय नै थियो । महामारीको मारमा मात्र परेनन् उनी, महंगी र कामको ढिलासुस्तीको मारमा परे । ऋणको ब्याजले मज्जाले ढाड सेकियो । हिमालकै काखमा जन्मे, हुर्केका उनी हिमालझैं अटल थिए । कति पनि डगमगिएनन् । आशा मारेनन्, मनमा थप आँट र काँधमा जिम्मेवारी भिरेर उनी निरन्तर खटिरहे । अनि बिट मारेरै छाडे आँटेको सपना, मनमा फूलेको सपना । करिब १ करोड लगानीमा आठ सुविधा सम्पन्न कोठाहरु, डाइनिङ, किचन र बगैँचासहितको होटल तयार भयो । होटलको न्वारन गरिदिए, ‘होटल मर्दी गेट एण्ड रेष्टुरेन्ट’ ।

करोडौंको लगानी गरेको त्यहीँ पाखामा बाल्यकाल बिताएका उनै हिमाल एक्कासी बिगतमा फर्कन्छन् । ठूलो परिवार उनको । फेरि परिवारको जेठोबाठो भएको नाताले घरको जिम्मेवार उनको काँधमा उहिले नै थुप्रिएको थियो । सामान्य किसान परिवारमा जन्मे हुर्केका उनी । घरमा आम्दानीको स्रोत त्यहीँ वस्तुपालन अनि खेतीपाती थियो । पाखोभरि खेत अनि गोठभरि गाईवस्तु । हरेक वर्ष असार सकेपछि वस्तुभाउ धपाउँदै सिदिङ गाउँबाट यहीँ कोकर÷फरेष्ट क्याम्प आएको सम्झना उनमा अझै बाँकी छ ।
कोकरमा बितेको बाल्यकालः
विगतको गोठाला जीवनमा उनी यसरी फर्कन्छन्, ‘उमेरले त्यही ११÷१२ वर्षको हुँदादेखि नै मलाई घरकाले यहाँको जिम्मा मलाई सुम्पिदिएका थिए । वनपाखा, खोल्सा र झ्याङहरु छिचोल्दै वस्तुभाउ धपाउँदै यहाँसम्म आइपुग्दाको संघर्ष शब्दमा वर्णन गर्न सकिने खालको छैन । गाउँका तीन÷चार घरका गोठहरु हुन्थे । जंगलबाट स्याउला र पातहरु बटुलेर गोठ बनाउनु पथ्र्यो । करिब चार महिना यहीँ जंगलमा बस्दा म पनि जंगली नै बनिसकेको हुन्थे । बिहानदेखि साँझसम्म गाई भैँसीको धन्दा ग¥यो, बस्यो । जीवन एकदमै कष्टकर थियो ।’

तिनताका भर्खर क्याम्पिङ ट्रेकिङ सुरु भएको थियो । सहरका पर्यटनएजेन्सीले नै टेन्ट, खानपिन, सुत्ने बस्ने सबै व्यवस्था सहरबाटै मिलाएर पर्यटकहरु लिएर आउँथे । त्यहीँ गोठहरुमा चकलेट, कोक र बिस्कुट पाइन्छ भन्दै पर्यटकहरु गोठभित्र पस्थे । कहाँ पाइनु गोठमा त्यस्ता चीजहरु ? रित्तै फर्किन्थे उनीहरु । समयसँगे यो माग बढ्दै गएपछि भने पोखराबाट डोकामा चकलेट, बियर, कोक आदि बोकेर उनी पनि बुबासँगै कोकर उक्लन्थे । अनि बेच्थे पर्यटकहरुलाई । विस्तारै फलेकले बारेको सानो टि हाउस पनि उनका बुबाले सञ्चालनमा ल्याए ।

बाध्यताले रोजेको विदेशको बाटोः

भाइबहिनीको हेरचाह र घरको कामधन्दा गर्नु पर्ने जिम्मेवार थपिएकाले सानैमा उनले स्कुल जान छाडिदिए तर जीवनमा नयाँ नयाँ कुराहरु सिक्न भने कहिले पछि परेनन् । विदेशमा रोजगारका शिलशिलामा पुग्दा पनि उनी फुुर्सदमा नयाँ केही सिकिरहन्थे । साउदीमा त झन् एक्साभेटर चलाउने सीप बटुले । यही सीपले उनलाई पछि नेपालमा पनि चिनायो ।

१०–१२ वर्ष विदेशमा बिताएका उनी नेपाल फर्किएलगत्तै जोडिए, एक्साभेटर चालकका रुपमा । पेशाकै शिलशिलामा नेपालका कुनाकन्दरा पुगे । भीरपाखा र डाँडाकाडामा आफ्नो कौशलता र सीप लगाएर गाउँगाउँमा बाटो पु¥याए । उनले यसलाई पेशाका रुपमा मात्र लिएनन्, अनकन्टार गाउँमा बाटो पु¥याउन पाउँदा त्यहाँको जनताको मुहारमा खुसी भेट्दा उनको मनमा सन्तुष्टि भरिन्थ्यो । अरु अप्रेटर डरले पछि परेको अक्कर भीर पाखामा एक्साभेटर चलाउन उनी नै अघि हुन्थे ।

भाग्यले बाँचेको त्यो दिनः

भीरपाखा छिचोल्दै एक्साभेटर चलाउने उनको पेशा । कुरा २०१७ तिरको थियो । खोरामुखदेखि माथि धम्पुस शाखाबाट हडौले पुग्ने सडक खण्ड विस्तार कार्य भइरहेको थियो । उनी सडक विस्तार शाखामा एक्साभेटर अप्रेटर थिए । भीर पहरा फोर्दै अघि बढ्नु त्यति सहज त कहाँ थियो र ? तर उनले हात कमाएनन् । हिम्मत हारेनन् । तल छ्याङ्ग भीर । माथि पहरै पहरा । माथिबाट बगेको पानीले लेदो माटो तल बग्दै थियो । निर्जीव मेसिन न थियो । मेसिन अडिन सकेन हिलोमा । विस्तारै मेसिनसँगै उनी पनि तल भीरतिर बग्दै गए । उनी हाम्फालेर आफ्नो ज्यान बचाउन सक्थे तर उनले यस्तो गरेनन् । साहुको करोडौं लगानीको मसिन पनि बचाउनु पर्छ, उनले आफ्नो धर्म सम्झे । करिब ६ वर्ष साउदीमा सिकेको सीप उनलाई फ्ल्यासब्याक भयो । विदेशमा सिकेको सीप र दशकौंको अनुभवले उनले आफ्नो ज्यान मात्र बचाएनन्, एक्साभेटर पनि सकुशल ल्याए । गाउँलेहरु सब जम्मा भइसकेका थिए । आफ्नै ज्यानको बाजी थापेर गाउँसम्म बाटो पु¥याएको भन्दै उनलाई फूलमाला र पुरस्कारले सम्मानित भए । गर्वले उनको छाती ढक्क फूल्यो ।

फर्किए फरेष्ट क्याम्पको काखमाः

कैयौं पटक मृत्यु जितेर आएका उनी कोरोना महामारी र यसले पु¥याएको क्षतिबाट कति विचलित बनेनन् । बरु लकडाउनको समयमा पनि एक्साभेटर सञ्चालक कै रुपमा काम गरिरहे । समयमै सीप सिके अफ्ठ्यारोमा जरुर काम लाग्छ, उनलाई जीवनले सिकायो । महामारीको समयमा पनि उनी कामबाट हात धुन परेनन् । घरखर्च जेनतेन चल्यो । यता होटल निमार्णको काम पनि चलिरह्यो ।

लकडाउन अनि कोरोना महामारी केही साम्य भएसँगै फेरि पर्यटकहरु मर्दी हिमाल पदयात्रामा उक्लिन थाले । भर्खर तयार भएको नयाँ होटलमा पाहुनाहरुलाई स्वागत गर्न आतुर थिए उनी । अरु होटलका भन्दा फरक स्वाद पस्काउँछन् उनी । आफ्नै गाउँ सिदिङमा उब्जेको अर्गानिक सागसब्जी र तरकारी पाहुनालाई चखाउँछन् । ढकाईको गुन्द्रुक, निउरोको अचार र लोकल च्याउ भान्छामा पाकिरहन्छ । पाहुनाका रहर र चाहना अनुसार कोदाको ढिडो र लोकल कुखुराको मासुसमेत तयार हुन्छ । उनी अर्गानिक खान्कीलाई नै बढी प्राथमिकता दिन्छन् अनि चाहन्छन् स्थानीय परिकारलाई पाहुनालाई सधैं पस्कन पाऊ । बर्गर, थुक्पा र मःम हैन, ढिडो, गुन्दु्रक र लोकल कुखुराको मासु पाहुनालाई पस्काउनुपर्छ, उनलाई लाग्छ ।

यस क्षेत्रमा व्यवसाय सञ्चालन गर्न बढी स्थानीयलाई प्राथमिकता दिइनुपर्छ उनलाई लाग्छ । उनी थप्छन्, ‘अहिले यसै क्षेत्रभित्र कति बाहिरी लगानीमा होटल र चियापसलहरु सञ्चालनमा आएका छन् । पहिलो प्राथमिकता स्थानीयलाई दिइयो भने यसले यहाँको जीवनस्तर मात्र उकास्दैन, सँगै संरक्षण हुन्छन् यहाँको रैथाने संस्कृति र खानपान । त्यसैले बाहिरी लगानीलाई निरुत्साहित गर्नुपर्नेछ ।’

मर्दी पदमार्गमा मात्र होटल र टि हाउसको संख्या ७० नाघिसकेको छ जुन यस क्षेत्रको थ्रेसहोल्डभन्दा बढी नै हो । अव्यवस्थित रुपमा जंगल फडानी गरेर रातारात नयाँनयाँ संरचनाहरु खडा भएको देख्दा भने उनलाई निको लाग्दैन । एक्याप र स्थानीय सरकारबीचको किचलोको मारमा परेका छन् होटल व्यवसायीहरु । यसैका एक पात्र उनी पनि हुन् । ‘हामी सरकार वा संस्थालाई वार्षिक कर तिर्न तयार छौं । विधान र नीतिनियम अनुरुप अघि बढ्न तयार पनि छौं तर हामीलाई आधिकारिक मान्यता दिएर ढुक्कसँग व्यापार व्यवसाय सञ्चालन गर्ने माहोल तयार गरिनुपर्छ । यसले अव्यवस्थित संरचना निमार्णलाई मात्र निरुत्साहित गर्दैन, अहिले सञ्चालित होटलहरुलाई पनि नियम र कानुनको दायरामा ल्याउँदछ । अनि मात्र सरकार, व्यवसायी र पर्यटक सबैले उत्तिकै मात्रामा फाइदा लिन सक्दछ ।’

अब यस क्षेत्रमा पर्यटकको क्वान्टिटीभन्दा पनि क्वालिटीलाई प्राथमिकता दिइनुपर्छ । उहिले क्याम्पिङ पर्यटक र आजको पर्यटकमाझ गुणस्तरमा धेरै नै खस्किएको उनी भेट्छन् । त्यसैले अहिले सञ्चालनमा आएका होटलहरुलाई व्यवस्थित गरी ए लेबलको सर्फिस पर्यटकहरुलाई दिइनुपर्नेमा उनी जोड दिन्छन् ।

भिजिट नेपाल २०२० महामारीले सफल हुन नसकेपनि सरकारले यस्तै ठूल्ठूला योजनाहरु आगामी वर्षमा तर्जुमा गनुपर्छ । पर्यटकको कर र शुल्कबाट उठेको रकम बाटोघाटो, सञ्चार र बिजुली बत्तीमा लगानी गरिनुपर्छ ।

अन्त्यमा,

सानो सोतारले बारेको गोठ, फलेकले बारेको टि हाउस हुँदै आजको सुविधा सम्पन्न होटलसम्म आइपुग्दाका उनका संघर्षका खुड्किलाहरु कति छन् कति । जीवन सिकाइ हो । कहिले सिकेर सकिँदैन, उनलाई लाग्छ । बाध्यताले विदेशिन बाध्य युवाहरुलाई केही सीप सिकेर नेपालमै पनि केही गर्न सकिन्छ भन्ने ज्वालन्त उदाहरणमध्ये उनी एक हुन् । मर्दीको काखमा यस्तै युवाहरुले रगत, पसिना र सीप सिञ्चित भएमा पक्कै मदी पर्यटनको भविष्य चम्किलो बन्नेछ ।उनलाई व्यावसायिक जीवनको अनगिन्ती शुभकामना ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->