बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

घुम्ने अनि घुमाउने : रहर अनि प्यासन

घुम्ने अनि घुमाउने : रहर अनि प्यासन


  • दिवस गुरुङ
  • साउन १६ २०७९, सोमबार

माघ महिनाको ठिहिराउँदो जाँडो । डाँडाकाडा हिउँले सेताम्या देखिन्थे । मर्दी हिमालको सेरोफेरो त हिउँकै साम्राज्य झैं बनेको थियो । पैदलमार्ग भरि हिउँ नै हिउँ, रुखैका पात अनि हाँगाभरि हिउँ नै हिउँ । लाग्थ्यो हिउँ बाहेक अरुथोक केही थिएन त्यहाँ । हिउँसँगको सानिध्यताले कोही देशी तथा विदेशी पर्यटकहरुलाई यस्तो याममा पनि मर्दी काखसम्म दो¥याएको थियो । सुर्योदयका लागि मर्दी हाइ क्याम्पबाट भ्यु प्वाइन्टसम्म बिहानै उक्लिने पर्यटकहरु थिए । हिउँकै रासमाझ बाटो पैलाउनु चानचुने कुरा थिएन । एक्कासि ठुलो खाल्डोमा पसे एक जना अमेरिकी पर्यटक । त्यहीँ पदयात्रामा थिए गाइड सुरेन्द्र बराल । उनैले त्यस अन्जान पर्यटकलाई खाडलबाट निकाले । अनि उनैले दो¥याउँदै सकुशल तल हाइ क्याम्प ल्याए ।
उनै बरालले मर्दीका उकाला ओरालाहरु कैयौं पटक पैदलमै नापिसकेका छन् । कहिले नेपाली पर्यटकलाई लिएर त कहिले विदेशीको साथमा । नेपालका कुनाकन्दरा पैदलयात्रा गरिसकेका उनै बराल देश दौडाहामा भेटिन्छन् । अफ सिजनमा आफैं घुम्छन् अनि सिजनमा आफूले देखेको देश पर्यटकलाई घुमाउँछन् । प्रकृतिको काखमा रमाइरहने आदत परेका उनलाई प्राय हिमालकै काखमा भेटिन्छन् । शहरमा त कहिलेकाहीँ, आकलझुक्कल देखिन्छन् । शहरको होहल्ला, भागदौड र प्रदूषणबाट टाढै भागिरहन्छन् उनी । अर्थात हिमालकै काखमा । मनसुन मर्दी पदयात्रामा उनीसँग फरेष्ट क्याम्पमा भेट्ने अवसर मिल्यो । उनी केही नेपाली पर्यटकहरु लिएर मर्दी उक्लदै थिए ।
पर्यटनसँगको उनको प्रेम उनी यसरी पोख्न थाल्छन्, ‘म निम्न परिवारमा गाउँमा हुर्किएको मान्छे । गाउँमा त्यतिबेला खानेपानीको एकदमै समस्या थियो । हामी घण्टौं लगाएर तल खोलाबाट पानी ओसारेर पिउने गथ्यौं । दुःख र अभावले सानैदेखि मिहिनेत र संघर्ष गर्न सिकायो । पढेरभन्दा परेर जीवनमा धेरै सिकेँ र बुझेँ । म सानैबाट चञ्चले स्वभावको थिए । एकछिन घरमा बस्दिनथेँ । फुर्सद मिल्यो कि म घरबाट कुदिहाल्थँे । स्कुले जीवनमै म बिदाको मौका छोपी नजिकनजिकका गाउँहरु पुग्थेँ । डाँडाकाडा उक्लिन्थँे । टाढाटाढा देखिने डाँडाहरु पछाडिको भुगोलले मलाई सधैं कौतुहलता जगाउँथ्यो । त्यसैले कलेज पढ्दा पढ्दै मलाई घुम्ने लत लागिसकेको थियो ।’
प्यासन इन्टु प्रोफेसनः
उनी आपूm घुमेका, पुगेका र देखेका ठाउँहरुमा अरुलाई पनि घुमाउन चाहन्थे । नेपालको सुन्दरताबारे अरुलाई पनि महसुस गराउने उनको चाहना थियो । त्यसैले प्लस टु पढ्दा पढ्दै उनले ट्रेकिङ गाइडको लाइसन्स निकाले । अब उनले निर्धक्क देशी तथा विदेशी पर्यटकहरुलाई देश घुमाउन पाउन भए ।
देश देखाउने अर्को माध्यम हो, कैद गरिएका फोटा र भिडियोहरु । एउटै फोटोले हजारौं शब्दले वर्णन गर्ने विषयलाई वर्णन गरिदिन्छ । त्यहीँ फोटोले कैयौंलाई त्यो ठाउँसम्म पुग्न लालयित बनाउन सक्छ । त्यसैले उनले साथीभाईसँग पैसा सापटी मागेर एउटा राम्रो क्यामरा किने । अनि लिए दुई महिने फोटोग्राफी कोर्स । आज उनी जहाँ जहाँ पुग्छन्, त्यहाँका सुन्दर फोटाहरु कैद गर्छन् । विभिन्न वेभसाइड र अनलाइनमा भेटिने उनका फोटाहरुले नेपालको यर्थाथता झल्काउँछ ।
नेपालीमा घुम्ने कल्चरको विकासः
उनले सुरुका दिनका विदेशी पर्यटकहरुलाई मात्र देश घुमाउँथे । पछिल्लो समय त नेपालीमा घुम्ने संस्कारको विकास हुँदा मलाई पनि खुसी लागेको छ, उनी थप्छन्, ‘आजकल नेपाली पर्यटकहरु पनि डाँडाकाडा उक्लिन थालेका छन् । दसैंको विदामा कोही तिलिचो त कोही कपुचे ताल उक्लन्छन् । कोही मर्दीको काखमा बर्थ डे मनाउन पुग्छन् त कोही एनिभरसरी मनाउन राराको किनार । नेपालीमा पनि देश घुम्ने र देश विचिरण गर्ने संस्कृति विकास हुनु आफैंमा सुखद पक्ष हो ।’
उनी प्रायः नेपाली पर्यटकहरुलाई लिएर कहिले कपुचे तालमा भेटिन्छन् त कहिले मर्दीको काखमा । काठमाडौं र पोखराका विभिन्न ट्राभलिङ कम्पनीमा आबद्ध उनी दुई चारको समूहदेखि चालिस पचास जनाको विद्यार्थीको टोलीलाई पनि निश्चित ठाउँहरु घुमाएर फर्काउँछन् । उनी ती ठाउँहरु घुमाउँदैनन् मात्र, त्यहाँका प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक विविधता सगँसगैँ त्यहाँको इतिहास बारेमा पनि उनी वृतान्तमा सुनाउँछन् । त्यसैले उनकै गाइडिङमा घुम्न रुचाउनेहरु धेरै हुन्छन् । कोही कोही पर्यटकहरु त फेरि फेरि पनि उनलाई नै खोजेर घुम्नलाई नेपालसम्म आइपुग्छन् ।
कपुचे कोरीले तानेको उनको मनः
पछिल्लो समयमा नेपाली पर्यटकको रोजाइमा परेको गन्तव्य हो, कपुचे र कोरी । मादी गाउँपालिकामा अवस्थित यी नयाँ पर्यटकीय गन्तव्यको खोज, प्रचारप्रसार र प्रवद्धनको सुरुवाती दिनमा उनी पनि जोडिएका थिए । पर्यटकीय गुरुङ गाउँ सिक्लेसको नमस्ते गेष्ट हाउसमा उनी करिव एक वर्ष गाइडका रुपमा पनि काम गरे । गुरुङ संस्कृति, परम्परा र भाषासँग घुलमिल भइसकेका उनी सिक्लेस, ताङतिङ, कर्पु, क्वलासोथर हुँदै भुजुङ भएर घलेगाउँसम्म गुरुङ हेरिटेज ट्रेलका रुपमा प्रवद्धन गरिनु पर्नेमा उनको जोड छ । हिउँ पर्दाको समयमा होस् वा मनसुनमा पूmलमय रंगीन याममा, मादी गाउँपालिकाको कोरी पुग्ने पर्यटकको संख्या बढ्दो छ । यसलाई नेपालकै पर्यटनको हब बनाउन सकिन्छ ।
नेपालमै भविष्य खोज्दै उनीः
पर्यटन वर्ष २०२० मा नेपाल सरकारले बीस लाख पर्यटक भित्र्याउने सपना बुनेको थियो । कोरोना माहामारीले पर्यटन वर्ष सफल पार्न नसकेपनि आगानी वर्षहरुमा सरकारले यस्तै ठूल्ठूला कार्यक्रमहरु ल्याउनु पर्नेमा उनको जोड छ । क्वान्टिटी पर्यटनमा भन्दा क्वालिटी पर्यटनमा बढी प्राथमिकता दिनुपर्छ, उनी थप्छन्, ‘पछिल्लो समयमा नेपालमा घुम्न आउने पर्यटकहरुको स्तर खस्कदो छ । त्यसैले सम्बन्धित सरोकारवालाहरुले नेपालको पर्यटनको स्तर कायम गराउन राम्रो भूमिका खेल्नु पर्नेछ ।’
अझै पनि उनी आफूलाई सिकाइको पहिलो चरणमै रहेको स्वीकार्छन् । अझै नेपालका कति धेरै गुमनाम पर्यटकीय गन्तव्यहरु रहेका छन् । तिनीहरुको खोज, अध्ययन र प्रवर्धनमा लाग्ने उनको भागी सपना रहेको छ । घुम्दै, सिक्दै र जान्दै उनी यसै पर्यटन क्षेत्रमा पोख्त भएर नामी ट्रेकिङ गाइड बन्न चाहन्छन् । नेपालमै सुनौलो भविष्य खोज्दै नेपालकै पर्यटन क्षेत्रमा लागिपरेका उनी कैयौं विदेशिएका युवाहरुका लागि प्रेरणाको स्रोत बन्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->