पुस्ताको अर्थ उमेरको भिन्नता हो । व्यक्तिको सोच, चिन्तन, कार्यशैली र नेतृत्वमा रुपान्तरण हुनु पुस्तान्तरण हो । मानवीय विकासक्रमको गति ज्ञान–विज्ञान र चेतनाको गतिसँग जोडिएको छ ।
प्राचीन कालदेखि आजसम्म आइपुग्दा यो हजारौं वर्षको इतिहाससँग हाम्रा पुर्खाहरुको चेतना, संघर्ष र अनुभव जोडिएको छ । आज सिंगो पृथ्वीको भविष्य र यहाँ रहेका करोडौं प्रजातिको अस्तित्व एउटा प्रजातिको निर्णयले प्रभावित बन्ने अवस्था छ ।
कुनै बेला वनजंगल र नदी किनारामा निरिह जीवन बिताएको एउटा प्रजाति आज अथाह शक्ति आर्जन गरेर सिंगो पृथ्वीको मालिक बन्न पुगेको छ । मानव अन्य प्रजातिको अस्तित्वलाई अवमूल्यन गर्ने वा कुल्चिनसम्म सक्ने गरी शक्तिशाली बनेको छ ।
अर्कोतिर, यो संसारमा सबैभन्दा असन्तुष्ट र दुःखी प्राणी भनेको पनि मानिस नै हो । सबैभन्दा बढी हतार छ भने त्यो मानिसलाई नै छ । जति कुकर्महरु हुन्छन् त्यो मानिसद्वारा नै हुन्छन् । जति अध्ययन र आविष्कार भए त्यो मानिसले नै ग¥यो । त्यसैले, मानवका सन्दर्भमा बोल्न र बुझ्न त्यति सजिलो छैन । यो एक जटिल विषय हो ।
यसै सन्दर्भमा मानव पुस्ताका केही निश्चित सवालहरु जन्मछन् । मानवको उद्धविकास कसरी भयो ? यो दुनियाँमा जति प्रगति भए त्यो भौतिक प्रगतिमा चेतनाको विस्तार कसरी भयो ? मानिसले सिर्जना गरेको दर्शन कतै मानिसकै लागि अभिसाप बन्दै गइरहेको त छैन ? सामाजिक सवालका यी भिमकाय प्रश्नहरुको जवाफ खोज्ने पुस्ता आजको ‘काँध थाप्ने’ पुस्ता हो ।
उद्धविकास र चेतनाको विस्तारमा मानव पुस्ताः
मानव उद्धविकासको सन्र्दभमा चाल्र्स डार्बिनले गरेको खोज र प्रतिपादित सिद्धान्त निकै प्रसिद्ध मानिन्छ । उनका अनुसार प्राणीको मूल आधार ‘प्रोटोप्लाज्म’ नामक तत्व हो । प्रोटोजोवा र मेटोजोवा हुँदै आज भन्दा करिब १ करोड ४० लाख वर्ष अगाडि विकसित भएको नरवानर (रामापिथेकस)बाट मानवको उद्धविकास भएको हो ।
रामापिथेकसबाट अस्ट्रेलोपिथेकस्, होमो ह्याविलिस, होमो इरेक्टस, होमो नियन्डरथलेन्सिस हुँदै होमो सेपियन्ससम्म आइपुग्दा मानव पुस्ताले विकासक्रमका हरेक कालखण्डमा युग अनुसारको चेतना विस्तार गरेको छ । होमो सेपियन्स आधुनिक मानव जातिको पुर्खा हो । पाषाण युग, धातु युग, कृषि युग हुँदै आधुनिक युगमा प्रवेश गरेको मानव जातिले समाजको आवश्यकता अनुसार विज्ञानको आविस्कार समेत गर्दै आएको छ ।
प्राचीन मानवहरु लाखौँ वर्ष पृथ्वीमा ढुंगा खोपेर बिताए । धातु युगका मानिसहरुले ढुंगाको सट्टा हात हतियारको प्रयोग गरेसँगै राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा नयाँ सभ्यताको सुरुआत भयो । कृषि युगका मानिसहरु कृषि क्रान्तिसँगै इतिहास रचे । आफ्नो आवश्यकता अनुसार वस्तुहरु छनोट गर्न थाले र वस्तु विनिमय प्रणालीको सुरुआत गरे ।
कृषि क्रान्तिपछि मानवले आफ्नो अज्ञानतालाई स्वीकार गरी चेतना हासिल ग¥यो । त्यही प्रगतिवादी अवधारणा आर्थिक अवधारणामा रुपान्तरण भयो । उत्पादन, व्यापार र पुँजीको वृद्धिले स्थान पाउन थाल्यो र पुँजीवादी अवधारणा जन्मियो । १५ औं शताब्दीतिर वैज्ञानिक क्रान्तिको चरण सुरु भयो ।
मानव विकासको पछिल्लो ५ सय वर्ष यता एकातिर, अज्ञानताबाट ज्ञानको खोजी गर्ने, अध्ययन अनुसन्धान गर्ने, आविश्कार गर्ने काम भयो अर्कोतिर, खनिज सम्पदामाथि आधिपत्य जमाउँदै वस्तुहरुको उत्पादन वृद्धि गर्ने र व्यापार गरि साम्राज्य विस्तार गर्ने प्रयास भए ।
नयाँ खोजले प्रगति जन्माउँछ भन्ने अवधारणाले औद्योगिक क्रान्तिको सुरुआत भयो । यसले जैविक इन्धनको प्रयोग बढाउँदै गयो । प्रागःऐतिहासिक युगमा मानव सिर्जित मिथक र उक्त मिथकका रुपमा निर्माण भएका राज्य, धन र धर्मजस्ता दैविक शक्तिका स्वरुपहरु मानव चेतनाको विकासले फेरिँदै गए ।
मानवीय आवश्यकताहरु एक पछि अर्को पूरा हुँदै गए । लाखौँ वर्षदेखि वाधक बनेको सामन्तवादको अवशेषलाई पुँजीवादले पराजित गर्दै रोग, भोक र शोकको युद्धमाथि विजय प्राप्त ग¥यो र विश्वभर फँैलदै गयो ।
समाजशास्त्री युवल नोआ हरारीले आफ्नो पुस्तक सेपियन्स अ व्रिफ हिस्ट्री अफ ह्युमन काइन्डमा उल्लेख गरे अनुसार मानिसको जैविक प्रक्रियामा हुने आनुवांशिक उत्परिवर्तनको कारण मानिसमा कल्पना शक्तिको विकास भयो । त्यही कल्पनाशक्तिबाट विभिन्न मिथक सुरु भए ।
तिनै मिथकबाट धर्म, राज्य, पैसा र अधिकारजस्ता अवधारणा जन्मे । तिनै अवधारणाहरु आज मानवको सिंगो अस्तित्वसँग जेलिएका छन् । स्वरुपहरु बद्लिएका छन् । तर, सार फेरिएको छैन । मिथकका रुपमा निर्माण भएका साम्राज्य, पैसा र धर्मबाट आज कुनै पनि मानवपुस्ता अछुतो छैन ।
मान्छेले सिर्जना गरेका तत्वहरु आज मानवकै लागि प्रगतिका सारथी मात्र बनिरहेका छैनन्, बरु घातक बन्दै गइरहेका छन् । यसकै लागि मानिसले आपसमा सौदाबाजी गरेका छन् । तँछाडमछाड गरेका छन् । सत्ता र शक्तिको लागि अप्राकृतिक कर्महरु गरेका छन् भने लाखौं वर्ष पृथ्वीमा बिताएका मानवका प्रजाति चेतनाको विस्तार कै कारण आज चन्द्रमामा पुगेर बास खोज्ने पनि भएका छन् ।
पुँजीवादको अवसानमा मानव पुस्ता :
पृथ्वीको मालिक बनेको मानव पृथ्वीकै लागि आज घातक बन्दै गइरहेको छ । नैतिक मूल्य हराउँदै गएको छ । चरम असन्तुष्टि, अन्यौलता र व्यभिचार बढ्दै गएको छ ।
हामी पुँजीवादको जगजगी भएको जीवनद्वेषी पर्यावरणमा बाँचिरहेका छौं । जसले हामीलाई मान्छेभन्दा बढी उपभोक्तामुखी बनाइदिएको छ । राजनीतिक सत्ता बजारवादको सिन्डिकेट, दलाल पुँजीवाद, पश्चगामी चेतनासँग आजका मानवपुस्ताको आलोचनात्मक चेत छैन । यस्ता समस्यासँग पैँठेजोरी खेल्ने वैचारिक हतियार छैन ।
सामाजिक मूल्य मान्यताहरु बद्लिएका छन् । पुँजीवादका नांैला मान्यताहरुको अतिक्रमणले मानव जीवन थप जटिल र असहज बन्दै गएको छ । मानिस अभावले भन्दा लोभ, भोग, संग्रह र इष्र्याको कारण दरिद्र बन्दै गएको छ । मान्छेहरु कम खाएर होइन, बढी खाएर रोगी हुने गरेका छन् । प्राकृतिक मृत्युभन्दा आत्महत्या बढ्दै गइरहेको छ । बारुद, बमभन्दा चिनी खतरानाक हुन पुगेको छ । पँुजीवादले सिर्जना गरेका तमाम समस्याहरुले वर्तमान मानव पुस्तालाई गिज्याइरहेको छ ।
उत्पादनको उद्देश्य नाफा कमाउनुमात्र होइन, आत्मनिर्भरता र स्वतन्त्रता प्राप्तिको लागि हुनुपर्छ । आत्मनिर्भरताको उद्देश्य चेतनाको समृद्धि हो । उक्त चेतनाको समृद्धिमार्फत पुँजीवादलाई परास्त गर्न सकिन्छ । त्यसका लागि उत्पादनको उद्देश्य बदल्नुपर्छ भन्ने तर्क अध्ययनशील युवा दिनेश सापकोटाले आफ्नो पुस्तक प्रबुद्ध समाजवादको घोषणापत्रमा उल्लेख गरेका छन् । उनको यस तर्कले राष्ट्रिय राजनीतिमा बहसको नयाँ तरंग पैदा गर्दैछ ।
विश्वपुँजीवादले सिर्जना गरेका तमाम समस्याहरुमाथि वैज्ञानिक चेतनासहितको काँध थाप्ने पुस्ता आजको आवश्यकता हो । विज्ञान कहिल्यै पुरानो हुँदैन तर विज्ञानसम्मत विवेक हामीले युग अनुसार बदल्न सक्नुपर्छ ।
मानिसले अब, प्राकृतिक छनोटको सिद्धान्त बदल्नुपर्ने बेला आएको छ । प्रकृतिको छनोट होइन, विवेकशिलताको छनोटको समय आएको छ । पृथ्वीको दोहन मात्र होइन यसको संरक्षण गर्ने मानव पुस्ताको खाँचो छ । पृथ्वीको सुन्दरतालाई जोगाउने गरी अबका पुस्ताहरुको चेतना विस्तार हुन जरुरी छ । त्यसकारण राजनीतिक नेतृत्वमा वैचारिक परिवर्तन सही मार्ग हो । पुरातन सोच र चेतनालाई नेतृत्वको भारबाट मूक्त गरी काँध थाप्ने नयाँ पुस्ताबाट सामूहिक हस्तक्षेपको खाँचो छ ।
नयाँ शताब्दीको सुरुआतमा मायर र जेरोम विन्डले आफ्नो पुस्तक अघिल्तिरको विश्वमा यस शताब्दीका मुख्य ४ चुनौतीहरु उल्लेख गरेका थिए । पहिलो, विश्व शान्ति स्थापना गर्नु । दोस्रो, विश्वव्यापी रुपमा गरिबी न्यूनीकरण गर्नु । तेस्रो हो, प्राकृतिक स्रोत र साधनको विवेक सम्मत प्रयोग गर्नु र चौथो चुनौती हो सही गन्तव्य पहिचान गर्नु । उल्लेखित चुनौतीहरुलाई सामना गर्ने पुस्ता आजको काँध थाप्ने पुस्ता हो । यो समाजले खोजेको पुस्ता हो ।
राष्ट्रिय समस्या र भावी नेतृत्वमा मानव पुस्ताः
विश्व पुँजीवादको वर्तमान सन्दर्भमा हाम्रो देश यसबाट अछुतो रहने कुरै भएन । मुलुकमा समस्या नै समस्याका चाङ छन् । ७ दशकदेखि मुलुकको नेतृत्व सम्हाल्दै आएका राजनीतिक दलहरु पुँजीवादको दलदलमा फस्दै गएका छन् । विचारमा खिया लागेको पुरानो नेतृत्वले यस समस्याबाट पार लगाउन सम्भव पनि छैन । उनीहरुले आफ्नो कालखण्डमा गरेको राजनीतिक आन्दोलन र युगान्तकारी परिवर्तनप्रति उच्च कदर गर्दै अबको बाँकी समस्याको समाधान गर्न नयाँ पुस्ताले काध थाप्ने आँट गर्नुपर्छ ।
युवा समृद्धिको संवाहक हो । युवाहरुको जोश जाँगर र उत्साहलाई सीप र कौशलतामा परिवर्तन गरी राज्यको संयन्त्रमा युवा परिचालन गर्न जरुरी छ । युवाले राजनीतिमा जिम्मेवारी लिन जरुरी छ । युवा नेतृत्व निर्माणमा लगानी गर्नुपर्छ । युवाहरुलाई क्षमता परीक्षण गर्ने अवसर दिनुपर्छ ।
कतिपय अवस्थामा अवसरको अभाव तथा उद्देश्य छनोटमा रहेको अस्पष्टताका कारण युवाहरु लगामबिनाका घोडाजस्तै बन्दै गइरहेका छन् । राजनीतिलाई सबैभन्दा छिटो पैसा कमाउने पेशाको रुपमा अंगाल्न थालेका छन् ।
भिडको पछि लाग्ने युवापुस्ताको ठूलो जमात छ । अनुभवी नेतृत्व र ऊर्जावान युवाहरुबीच सेतुको काम गर्ने युवा पुस्ता छैन । युवाहरुको प्रतिभा डरलाग्दो रुपमा पलायन भएको छ । उचित मार्गदर्शनको अभावमा जाँडरक्सी, लागुऔषध, वेश्यावृत्तिजस्ता सामाजिक विकृतिहरु मौलाउँदो छ । यसले समाजलाई कुरुप बनाउँदै लगेको छ ।
समाज दिनहुँ अशान्ति र अराजक बन्दै गइरहेको छ । परिपक्व युवा नेतृत्वको अभाव छ । नेतृत्वमा पुस्तान्तरण छैन । पहिलो पुस्ताको अवसानपछि आउने पछिल्लो पुस्ता पनि आफ्नो सहि विकल्प नदेखी आउँदैछ । यो सिंगो समाजको गम्भीर समस्या हो ।
भविष्य निरन्तर निर्माणको क्रममा रहन्छ । यसको अनुमान गर्न सकिँदैन । तर, यसको तयारी गर्न सकिन्छ । यो वर्तमानको हातमा हुन्छ । नोबल पुरस्कार विजेता इल्या प्रिगोजिनको तर्क छ, ‘भविष्यलाई अनुमान नगरौं । बरु त्यसका लागि तयारी गरौं ।’
आज मुलुकको वर्तमान स्थिति बिगँ्रदो छ । निर्वाचन स्वतन्त्र छैन । युवाहरुमा सम्मानजनक रोजगार छैन । प्रेस स्वतन्त्र छैन । न्यायपालिका निष्पक्ष छैन । लोकतन्त्र लुटतन्त्रमा परिणत हुँदैछ । शिक्षा प्रणाली अराजक र पतनोन्मुख बन्दै गएको छ । अर्थतन्त्र परनिर्भर बन्दै गइरहेको छ ।
दिनहँु विदेशिएको प्रतिभा पलायनले मुलुक ‘विदेशिएको देश’मा परिणत हुँदै गएको छ । भूराजनीतिक जटिलता, जलवायु परिवर्तनले सिर्जित समस्या, दीगो विकास, मानव पुँजी निर्माण, अन्तराष्ट्रिय सम्बन्ध, राष्ट्रिय पुँजीको विकास जस्ता समस्याहरुको समाधान गर्नका लागि राष्ट्रियस्तरदेखि नै काँध थाप्ने पुस्ताको आवश्यक छ ।





