शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रिङजीनको कृषि सपना

रिङजीनको कृषि सपना

रैथाने बालीको संरक्षण र प्रवद्र्धन तथा स्याउ बालीको आधुनिकीकरणसँगै पर्यटनको विकास एवं सामाजिक सेवा प्रवाहमा सरलता नै उनका लक्ष्य हुन् ।


  • तारानाथ आचार्य
  • भाद्र २ २०७९, बिहिबार

हिमालपारीको जिल्ला मुस्ताङ ! धार्मिक पर्यटन, स्याउ पर्यटन, आलु, फापर र च्याङ्ग्राको व्यापारले प्रसिद्ध छ । जिल्लाभर रहेका पाँच स्थानीय तहकै आ–आफ्नै विषेशताहरु छन् । चीनसँग सिमा जोडिएको लोमान्थाङ गाउँपालिका माटोको सहरका रुपमा परिचित छ भने म्याग्दीसँग सिमा जोडिएको थासाङ गाउँपालिका स्याउको उत्पादन र व्यापारले परिचित छ । हिन्दु र बौद्ध धर्म मान्नेहरुको आस्थाको केन्द्र मानिने मुक्तिनाथ मन्दिर रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आफ्नै विषेशता र चिनारी छ ।

वर्षमा तीन महिनामात्रै काम गर्न सकिने मुस्ताङका गाउँपालिकालेहरुले आफ्नै तौरतरिकाबाट आफ्नो परिचय बनाउने र बिकासका काम गर्ने गरेका छन् । यहाँ नत वर्षाको समयमा काम गर्न सकिन्छ नत हिउँदमा नै ! हिउँदका ६ महिना त अत्याधिक चिसोका कारण यहाँ घर कुर्नेबाहेक कोही बाहिर निस्किँदैनन् । चुनौतीका बीचमा पनि यहाँका स्थानीय तहले देशभरका ७५३ स्थानीय तहले जस्तै आफ्नो गति बढाएका छन् ।

मुस्ताङका गाउँपालिकाहरु मध्ये देशभर तथा बिदेशबाट समेत घुम्न जानेहरुको आँखा अडिने गाउँपालिका हो वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका । देशमा गणतन्त्र आउनुपूर्व यहाँ राजाको शासन थियो । मुस्ताङी राजाले नेपाल एकीकरणपछि पनि लामो समय राज्य सत्ता सञ्चालन गरेको इतिहाँस छ । देश संघीय संरचनामा गए यता वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकाले दुई जना जुझारु नेतृत्व पाएको छ । हिजोको पौराणिक नेतृत्व शैली, विकासका गतिविधि र काम गर्ने तरिकाहरु वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकाले बिस्तारै परिवर्तन गर्दैछ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुहार फेर्नकै लागि पछिल्लो पटक कस्सिएका युवा नेता हुन् रिङजीन नामगेल गुरुङ । यातायात व्यवसायबाट एकाएक राजनीतिमा आएका गुरुङ समाजसेवी थिए । लामो समय ट्रकमार्फत् ढुवानीको क्षेत्रमा काम गरेका गुरुङको होटल व्यवसाय पनि छ । २०५८ सालमा एसएलसी परीक्षा पास गरेपछि गुरुङ राजनीतिमा चासो राख्न थाले । २०६२÷०६३ को जनआन्दोलनमा सक्रियताका साथ लागेका गुरुङ गणतन्त्र प्राप्तिपछि भने व्यवसायमा नै तल्लीन रहे । ‘बीचमा व्यवसायमा लागियो तर राजनीतिबाट टाढा थिइन’, गुरुङ भन्छन् ‘हामी किसान हो, कृषि, पशुपालन र पर्यटनको
विकास बिना वारागुङ मुक्तिक्षेत्रको विकास सम्भव छैन भन्ने लागेर त्यहि कुरा स्थापित गराउन राजनीतिमा फेरि आएँ ।’

उनी मुस्ताङको परम्परागत शैलीलाई जोगाउने र भत्काउने दुवै कामका लागि नेतृत्वमा आएका नेता हुन् । भन्छन्,‘संस्कृति बिगार्नु हुँदैन्, जनताका लागि काम गर्ने भनेपछि जनताको सेवक हुनुपर्छ,उत्पादन बढाउन आधुनिकता पनि अपनाउन जरुरी छ ।’

२०७९ साल बैशाख ३१ गते गुरुङका लागि ऐतिहासिक दिन बन्यो । वारागुङ मुक्तिक्षेत्रको अध्यक्षमा निर्वाचित भएपछि उनको काँधमा अव परीवर्तनको जिम्मेवारी आएको छ । तर हिजोका राजा महाराजाले गरेको शासन भन्दा फरक हिसावले पालिका सञ्चालन गर्ने उनको योजना छ । जनस्तरबाट आएका गुरुङले जनताकै हितमा शासन गर्ने योजना बनाएका छन् । ‘हामीसँग पहिचानसहितका उत्पादन छन्, आधुनिकतामा पनि जानुपर्ने नै छ’, उनी भन्छन् ‘अब कृषि र पशुपालनबाट वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले केही गरेर देखाउँछ ।’

पूर्वाधार विकासलाई मात्रै बिकास मान्ने परिपाटीको अन्त्यका लागि आफ्नो ध्यान केन्द्रीत हुने गुरुङ बताउँछन् । उनका सामु गाउँपालिकाका जनतालाई मात्रै चित्त बुझाएर नपुग्ने चुनौती छ । मुक्तिनाथ मन्दिर र कागवेनीको श्राद्धस्थलमा पुग्ने नेपाली र भारतीय पर्यटकको चित्त बुझाउनुपर्ने उनको अर्को चुनौती हो । ‘हाम्रो आम्दानीको मुख्य स्रोत हो पर्यटन, त्यो भित्र पनि मुक्तिनाथ र कागबेनी ।,’ गुरुङ भन्छन् ‘हिजो के भयो त्योतर्फ हामी जाँदैनौं, यी दुई क्षेत्रको बिकासका लागि गाउँपालिका स्तरीय गौरवका योजना बनाएका छौं ।’

डोल्पा जोड्ने सडकमा बनेको पुलमा पहुँचमार्ग, कागवेनी र मुक्तिनाथमा संरचना निर्माणलगायतका पाँच वडामा गौरवका योजना सञ्चालन गर्ने योजनामा उनी छन् । सामाजिक विकासको क्षेत्रमा पनि गुरुङले हस्तक्षेपकारी योजना बनाएका छन् । लक्षित वर्गका लागि स्वास्थ्य र शिक्षामा पहुँच बिस्तार गर्ने योजना छ । न्युन आय भएकालाई निशुल्क औषधि उपचार गर्ने योजना उनीसँग छ । ‘हाम्रोमा कतिसम्म छ भने, न्युन आय भएका परिवारका विद्यार्थीले एसइई पास गरेपछि पढाइनै छोड्नुपर्ने अवस्था छ,’, गुरुङ भन्छन् ‘उच्च शिक्षा आर्जन गर्न चाहनेलाई एक लाखसम्म सहयोग गर्ने योजना छ ।’

गाउँपालिकाले अब आलु, स्याउ, सिमि, फापर र उवा तथा च्याङ्ग्राको निकासीको समेत तथ्यांक संकलन गर्नेछ । ‘हामीले सामान्य निकासी कर लगाएर तथ्यांक तयार गर्नका लागि कार्यविधि बनाएका छौं, एक्लैले गरेर हुँदैन् वडाध्यक्षहरुको सहायतामा यो काम हुनेछ,’ गुरुङले भने ‘हामी करोडौंको उत्पादन बाहिरी बजारमा पठाउने योजना अनुसार कृषि र पशुपालनका क्षेत्रमा लगानी गर्दैछौं । रैथाने बालीको संरक्षण र प्रबद्र्धन तथा स्याउ बालीको आधुनिकीकरण गरिनेछ ।

‘अब वारागुङ मुक्तिक्षेत्रका खेतबारीमा झोपाले जोत्न महंगो भैसक्यो, मिनिटेलरको प्रयोग आवश्यक छ’, उनले भने ‘कृषिमा उपकरणको प्रयोग, च्याङ्ग्रा पालेर मल र त्यही मलको सहायतामा कृषि उत्पादन बृद्धि गर्नुछ ।’ गाउँपालिकाले समयमा काम र समयमै भुक्तानीलाई जोड दिनेगरी गुरुङले योजना तयार पारेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->