विपी कोइरालाले नेपाली कांग्रेसको स्थापना गर्दा जम्मा ३३ वर्षका मात्र थिए । त्यो उमेरमै नेपालबाट राणा शासनजस्तो निरंकुश शासनको अन्त्य गरेर नेपाली जनतालाई प्रजातन्त्र दिनुपर्छ भन्ने सोचेका थिए । काम त के त्यसबेला के त्यो कल्पनायोग्य कुरा थियो त ?
मलाला युशुफजाइले १६ वर्षको उमेरमा नै नोबल शान्ति पुरस्कार प्राप्त गरिन् । पाकिस्तानी उनलाई विद्यालय जाने क्रममा तालिवानहरुले गोली हानेका थिए । टाउकामा गोली लागेपछि उनको उपचार देशमा सम्भव नभएर लन्डनमा भयो । उनी निको भइन् र पछि पुस्तकसमेत लेखिन् । अहिले २५ वर्षमात्र पुगेकी उनले सन् २०१४ को नोबल पुरस्कार प्राप्त गरेकी हुन् । उनी नोबल पुरस्कार प्राप्त गर्ने अहिलेसम्मकै सबैभन्दा कम उमेरकी नागरिक समेत बनिन् । अहिलेसम्म पनि उनको उमेरमा संसारको कुनै व्यक्तिले विश्वकै प्रतिष्ठिन मानिने यो पुरस्कार प्राप्त गर्न सकेको थिएन ।
खोजी पसे हाम्रै पुस्ताका यस्ता कैयौं व्यक्तिले कम उमेरमै यस्तो प्रगति गरेका धेरै छन् । आफ्ना क्षेत्रमा विशिष्टता हासिल गरेका र आफ्ना क्षेत्रमा उल्लेखनीय काम गरेका कैयौं व्यक्ति छन् यो संसारमा, अनुसन्धान गर्न सके भेटिन्छ ।
हामीभन्दा अघिल्लो पुस्तामा हाम्रै देशका प्रतिभामा जाँदा पनि सानै उमेरमा यस्तै प्रगति गरेका मानिस धेरै छन् । जस्तो कि विपी कोइरालाले नेपाली कांग्रेसको स्थापना गर्दा जम्मा ३३ वर्षका मात्र थिए । उनले नै सो पार्टीको स्थापना गरेका हुन् । त्यो उमेरमै उनले नेपालबाट राणा शासनजस्तो निरंकुश शासनको अन्त्य गरेर नेपाली जनतालाई प्रजातन्त्र दिनुपर्छ भन्ने सोचेका थिए । काम त के त्यसबेला के त्यो कल्पनायोग्य कुरा थियो त ? बोल्यो या विरोध ग¥यो कि मृत्युदण्ड नै दिने त्यो शासनको अन्त्यका लागि एउटा ३३ वर्षको केटोले पार्टी गठन गरेको खबर सुन्दा त्यस समयका कति मानिसले त्यसलाई सम्भव काम भने होलान् ? कति त उनको त्यो पहल सुन्दा हाँसे पनि होलान् ।
तर सम्भव भयो । पछि राणा शासनको अन्त्य भयो, देशमा जनताले बोल्न र चित्त नबुझेका कुराको विरोध गर्न पाउने शासन व्यवस्था आयो । पछि उनी गृहमन्त्री नै भए । देशको गृहमन्त्री हुँदा उनी ३६ वर्षका मात्र थिए । त्यो मन्त्रिमण्डल राणा शासन गएपछिको थियो । पछि वि.सं. २०१६ मा उनी प्रधानमन्त्री नै भए । त्यस बेला उनको उमेर ४५ वर्ष मात्र पार भएको थियो । यसरी यो उमेरमै उनी मुलुकको प्रधानमन्त्री बनेका थिए ।
त्यस्तै हत्या हुँदा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको उमेर पनि ४५ वर्षको हाराहारीमै थियो । उनले त्यतिबेला सम्म जनताको बहुदलीय जनवादको व्याख्या गरिसकेका थिए । कम्युनिस्ट शासन विश्वमा एक किसिमले भन्दा जडसुत्रवादी नै मानिन्छ । यसको व्याख्या देश र भूगोल अनुकुल गर्न सम्भव थिएन र अझै पनि कतै कतै छैन । सिद्धान्त त्यागेको बात लाग्छ र स्वदेश तथा विदेशी कम्युनिजमबाट एक्लिने त्रास रहन्छ ।
तर, मदन भण्डारीले भने त्यसलाई नेपाली माटोमा सरलीकृत गरिदिए । जसले गर्दा कम्युनिस्टहरुलाई पनि बहुदलीय प्रतिस्पर्धात्मक निर्वाचनमा गएर सत्तामा उक्लिन सजिलो भयो । यो युगका राजनीतिक पार्टी सिद्धान्तको व्याख्या र रटानले होइन कि जनताको मतबाट राज्य सत्तामा जानुपर्छ र सरकार चलाउनुपर्छ । यो नै जनअनुमोदित शासन व्यवस्था हो ।
यसरी जनताबाट अनुमोदन हुन पाउने गरी कम्युनिष्टहरु पनि बहुदलीय रुपमा प्रतिस्पर्धात्मक संसदीय निर्वाचनमा सहभागी हुने र बहुमतका आधारमा सत्ता सञ्चालन गर्न सकिने व्याख्या जबजमा छ । यही व्याख्याले नै नेपालमा एमाले निर्वाचनमा गयो, समयसमयमा बहुमत ल्यायो र सत्तामा पनि पुग्यो ।
तर, त्यस समयका कतिपय कम्युनिष्टहरुले यो ब्याख्याको विरोध गरे र निर्वाचनमा नजाने पनि भने । तर त्यो नेपाली माटोमा सम्भव थिएन । त्यसैले त उनीहरु पनि पछि निर्वाचनकै बाटोमा आए । अहिले अरु त अरु सशस्त्र जनयुद्धबाट देशमा साम्यवाद र जनवाद ल्याउने बताएको माओवादी पनि जनताको मतकै आधारमा सत्तामा छ ।
आम निर्वाचनमा भाग लिएर बुर्जुवाहरुको सत्तामा जानुहुँदैन भन्ने कम्युनिस्ट पार्टी नेपालमा अब लगभग छैनन् । राजनीति बाहेकका अरु क्षेत्रमा पनि नेपालमा प्रतिभाहरु थिए । जस्तो कि ३१ वर्षको उमेरमा निधन हुँदा मोतिराम भट्ट राष्ट्रिय कविका रुपमा चिनिइसकेका थिए । उनले नै भानुभक्तलाई चिनाइसकेका थिए भने विदेशी भूमिमा रहेर नेपाली भाषाको अर्थात् नेपालको पहिलो पत्रिका गोर्खाभारत जीवन प्रकाशन गर्न सकेका थिए । त्यसैले भानुभक्तलाई नेपाली भाषाका आदिकवि भनेजस्तै भट्टलाई नेपालका आदि पत्रकार भन्दा गल्ती हँुदैन ।
सन् १८४८ मा कम्युनिस्ट मेनिफेस्टो जारी गर्दा कार्ल माक्र्स ३१ वर्षका मात्र थिए । आज त्यही कम्युनिष्ट मेनिफेस्टो नै संसारका कम्युनिस्टहरुको साझा दस्तावेज बनेको छ । कुनै एक ३१ वर्षीय युवाले अनुसन्धान गरेर सार्वजनिक गरेको एउटा घोषणापत्र आज झन्डै दुई शतक लाग्न खोज्दासम्म पनि संसारकै दस्तावेज बन्न सक्छ भने त्यसलाई कुन स्वरुपको उपलब्धि मान्ने ? सहजै अनुमान गर्न सकिन्छ ।
कुनै पनि सिद्धान्तप्रतिका मानिसका आआफ्ना दृष्टिकोणहरु त रहन्छन् नै । त्यसैले यसप्रति समर्थन आलोचना आदि रहलान् । हुन त संसारका कम्युनिस्टहरुले त्यसको पालना गर्न नसकेका होलान्, तर पनि यो कम्युनिष्ट मेनिफेस्टोको वैज्ञानिकता आजका दिनसम्म पनि व्यवहारिक नै छ ।
गौतम बुद्धले बुद्धत्व प्राप्त गर्दा उनको उमेर कति थियो ? यो अर्काे प्रश्न छ आजका युवाले सोच्नुपर्ने । उनी ३० वर्षका मात्र थिए । तर आज उनको दर्शन झन्भन्दा झन् व्यावहारिक बन्दैछ । संसारले त्यसलाई पछ्याउँदैछ । हुन त हामीले यो कुरालाई संसारव्यापी बनाउन सकेका छैनौं ।
तर, पनि हाम्रै लुम्बिनीमा जन्मिएका बुद्धलाई आज विश्वको कम्तीमा पनि एक तिहाई भूगोलले भगवान मान्दैछ । अब हामी सोचौं यो पृथ्वीका हामी नेपाली कति भाग्यमानी ? यो प्रसंग अर्कै हो र यसमा हामीले अलग्गै विषय र प्रसंगमा थप बहस गर्न सकौंला ।
यी माथिका दृष्टान्तले के देखाउँछ भने मानिसले गर्ने उमेर भनेको युवामै हो । युवा छँदा गरेको शिलान्यासमा जीवनका वर्षहरुका थप इट्टा बसाल्दै जाने हो । त्यो गन्तव्य आफैंले तय गर्ने हो र समयमै गर्ने हो । तर यो युवा भन्ने उमेर कुन हो त ? युवा को हुन् ? कुन उमेरकालाई युवा भन्ने ? विभिन्न देशमा फरक फरक परिभाषा छन् ।
खासगरी उमेरका आधारमा नै युवाको परिभाषा दिइएको हुन्छ । हामीले पनि नेपालका नीति तथा कानुनहरुमा हाम्रो उमेरका आधारमा युवाको परिभाषा राखेका हौँला । तर त्यो पक्षको व्याख्यातिर म अहिले जान चाहन्न । यो आलेखको आसय यो हो कि, आफ्नो जीवनको र त्यससँगै देशको उन्नतिका लागि युवा उमेर नै स्वर्ण हो, यो उमेरले कोरेको नक्सा नै उत्तम हो ।
अहिले नेपालमा यो युवा भन्ने शब्द र विषयको बहस खासमा राजनीतिक दलमा देखिन्छ । दलका नेता असी लाग्दा या लाग्नेबेलासम्म पनि पदमै रहने चाहनाले युवा को हुन् र कहिलेसम्म हुन् भन्ने बहस समय समयमा बाहिर आइरहन्छ ।
तर, मेरो मान्यता यो छ कि राजनीतिमा मात्र नभएर अन्यत्र अर्थात् आफ्नो आफ्नो पेशा या क्षेत्रमा आफू सफल हुनुपर्छ र त्यो समयमै गर्नुपर्छ भन्ने लाग्छ । यी माथिका दृष्टान्तहरुले पनि त्यही भन्छन् । त्यो कसरी हुन्छ ? त्यो आफ्नो काम, लगाव र मेहनतले हुन्छ ।
निरन्तर र इमान्दारिताका साथ नलागेका भए यी माथिका हामीले नाम लिएका कैयौँ व्यक्तित्व सफल नै हुँदैनथे । पाकिस्तानजस्तो अतिवादी तालिवान रहेका ठाउँमा बालिका शिक्षाको निरन्तर र निस्वार्थ बहस नगरेका भए मलाला जन्मिन्न्थिन् होला । उबेला गौतम बुद्धलाई मानिसहरु बहुलाहा भनेको पनि केही पौराणिक कथामा सुनिन्छ । तर, उनी यसरी लागे कि त्यसबाट न उनी र न उनका शिष्य नै बाहिर आउन सके । जसले गर्दा उनी सफल भए ।
त्यसैले आफ्ना काममा सफलता प्राप्त गर्नका लागि कामको पूजा गर्नुपर्छ । जो व्यक्ति कामको पुजारी हुन्छ, उसलाई ईश्वरले पनि साथ दिन्छन् । त्यसैले त भाग्य निधारमा होइन हत्केलामा लेखिएको हुन्छ भनिएको हो । त्यसैले युवाहरुलाई राजनीतिमा मात्र किन सबै क्षेत्रमा नै नेतृत्वमा आउन दिनुपर्छ ।
तर, नेतृत्वमा आउने स्थान भने युवाहरुकै कामले सिर्जना गर्ने हो । यदि कोही मेहनती छैन भने उसले सफलता प्राप्त गर्न सक्दैन । यसलाई राजनीतिसँग तुलना गर्ने, राजनीतिमा दुःख गरेकाहरु तल परे, पछि भित्रिएका र पैसावाल सत्तामा पुगे भनेर मात्र तुलना गर्यौँ भने यसले अरु क्षेत्रका मानिसलाई पनि संघर्ष र मेहनत गर्न नसक्नेगरी निराशा भरिदिने खतरा रहन्छ ।
तर, हामीले नै गर्ने हो, हामीले नगरे कसले गर्ने हो भन्ने सोचले युवाहरुले नै सबै क्षेत्र र बर्गहरुको नेतृत्व गर्दै आए भने राजनीतिक क्षेत्रको नेतृत्व फेर्न पनि असम्भव हुँदैन । अब हामीले पनि विश्वका अरुतिर जस्तै देश युवाहरुकै काँधमा छ भन्ने सोचबाट अघि बढ्नुपर्छ ।
(पाठक राससका प्रधानसम्पादक हुन् ।)





