३० को दशक । अन्नपूर्ण आरोहणले चर्चामा आएको पोखरामा इतिहासकै पहिलोपटक नगर गुरुयोजना बन्दै थियो । त्यो गुरुयोजना बनाउने श्रेय तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई जान्छ । पोखरा औद्योगिक क्षेत्रको सोच पनि त्यही गुरुयोजनाकै अंश हो ।
चीनले बनाइदिएको पृथ्वी राजमार्गमार्फत् २०३१ मा राजधानी काठमाण्डौ जोडिएपछि पोखरामा बल्ल उद्योग, कलकाखाना र व्यवसायको चेत विस्तार भयो । पोखरा गुरुयोजनामार्फत् औद्योगिक क्षेत्रको योजनाले यसलाई अगाडि बढायो । नयाँनयाँ उद्योगहरु पोखरामा खुल्न थाले, उद्योग खुल्न थालेपछि रोजगारी सिर्जना भयो, अर्थतन्त्र बढ्दै गयो ।
मानिसकहरुको चहलपहल बढ्दै गएपछि पोखराको आवादी बढ्दै जान थाल्यो । मान्छेहरुले विविधता खोज्न थाले । गाउँबाट पोखरा सहर बन्दै गयो ।
चार दशकको पोखराको आर्थिक इतिहासको सुरुवात चाहिँ त्यही औद्योगिक क्षेत्रबाट भयो । औद्योगिक क्षेत्रमा तत्कालीन खोलिएको एउटा चाउचाउ कम्पनी थियो, जुन पहिलो आहारारा र अहिले राराबाट चर्चित छ । हिमश्री फुड्स प्रालिको यो उत्पादनसँग सुरु हुन्छ, केसी ग्रुपको व्यावसायिक उदय । चार दशकमा तेश्रो पुस्तासम्म आइपुग्दा यसले विविधता थपेको छ, र कीर्ति कायम राखेको छ । कीर्तिबहादुर केसी नै यसका संस्थापक रहे ।
……………….
कीर्तिबहादुर कोलकत्ता गएका थिए । त्यहाँ उनले जुत्ताको व्यवसाय गरे । तर, हिन्दु मुसलमानको दंगाको कारण व्यवसायलाई निरन्तरता दिन कठिन बन्यो । सन् १९४६ को कुरा हो । भारत स्वतन्त्र हुँदै थियो । भारतको स्वतन्त्रतालाई लिएर मुस्लिम लिगले सीधा कारवाहीको घोषणा ग¥यो । १५ अगस्तमा भारत स्वतन्त्र भएपछि त्यसको भोलिपल्टदेखि कोलकत्तामा भीषण दंगा चल्यो । ७२ घण्टाभित्र २० हजार नागरिक मारिएको उक्त दंगापछि कोलकत्ता व्यवसाय गर्न गएका कीर्तिबहादुर केसी पोखरा नै फर्किए । उनी फर्केपछि सुरु भयो, केसी ग्रुपको व्यावसायिक पाइला । नेपाल फर्केपछि केसीले सुरुमा राइस मिल र काठमिल खोले । निर्माणका क्षेत्रमा चाहिँ कीर्तिबहादुरले पछि हात हाले । त्यसको पनि कारण छ । पोखरामा त्यतिबेला एकजना बंगाली निर्माण व्यवसायीले ठेक्का लिइरहेका थिए । ठेक्का लिएपछि पनि उनले काम गर्न सकेनन ।त्यसपछि नै कीर्तिबहादुरले निर्माणको काममा हात हाले । केसी कनस्ट्रक्सन जन्मियो ।
सुरुवाति समयमा सिँचाईका योजनाहरु सुरु भए । सरकारी काममा हात हाले । भारतीय पेन्सन क्याम्पदेखि लिएर जोमसोमका सरकारी कार्यालयहरु, बेनी, भालुवाङ, सिद्धार्थ राजमार्ग, फेवातालको बाँधहरु कीर्तिबहादुर केसीले निर्माण गरे ।उनको एउटा सिद्धान्त थियो, ‘जति कमाइन्छ, सामाजिक सेवामा पनि खर्चिनुपर्छ । अर्को कुरा, केसी ग्रुपले समाजलाई टेवा पुग्ने काम गर्छ, हानी हुने क्षेत्रमा हात नै हाल्दैन ।’ केसी ग्रुपले अहिलेसम्म सूर्तीजन्य र मदिराजन्य व्यवसाय नगर्नुमा उनै कीर्तिबहादुर सिद्धान्त उनको नातिपुस्ताले संस्कारका रुपमा लिएकै कारण सफल भएको हो ।
आफ्नो अन्त्यसम्म कीर्तिबहादुरले आफ्नो नाम अनुसारको काम गरे । शब्दकोषले भने, ‘असल तथा ठूलो काम र बहादुरी आदिबाट प्राप्त हुने र धेरै समयसम्म टिकिरहने सुनाम वा प्रसिद्धि, ख्याति; जस; नेकनामी’ नै कीर्तिको अर्थ हो । कीर्तिबहादुरले आफ्नो समयमा आफ्नो नामको अर्थलाई प्रमाणित गरे ।
सूर्यबहादुरको उदय
उनी स्वर्गीय भइसके, २०७७ कात्तिक १८ गते । एउटा व्यक्तिका अनेकौँ परिचय बनाएका सूर्यबहादुर अन्तिम दिनमा चाहिँ राजनीतिमा थिए । नेपाली कांग्रेसका बहालवाला सांसद रहँदै उनको निधन भयो । तर, केसी ग्रुपलाई, एउटा दह्रो व्यावसायिक घराना हो भनेर चिनाउन उनी आफ्नो अन्तिम समयसम्म लागिरहे । र, केसी ग्रुप भनेकै सूर्यबहादुर केसी हो भन्ने मानक स्थापित गर्न सफल पनि भए ।
……..
केसीको अध्ययन तत्कालीन नेपाली आदर्श विद्यालयबाट अध्ययन सुरु भयो । त्यतिबेला पोखरामा बयलगाडा चल्थे । सम्पन्न बुवाका छोरा केसीले कलेज पढ्दाताका बाइक लिएर जान्थे । सूर्यबहादुर केसीले १४ वर्षको उमेरदेखि नै हो बुवाले गरेको काममा चासो राख्न थालेको । बुवाले कन्स्ट्रक्सनबाट सुरु गरेको केसी साम्राज्यलाई उनलै आफ्नो समयमा निकै विस्तार गरे ।
३० को दशकको कुरा हो । पोखरामा चाउचाउ उद्योग स्थापना भयो । जुन दक्षिण एसियाकै पहिलोसमेत हो । अहिले जसरी रारा चाउचाउ सबैको मुखमा झुन्डिएको छ, त्यसलाई स्थापना गर्न उनले फलामकै च्यूरा चपाउन परेको थियो । पोखरामा चाउचाउ पाइँदैनथ्यो । लाहुरेको सहर पोखरामा छुट्टीमा आएका लाहुरेहरुले विदेशबाट चाउचाउ बोकेर आउँथे । त्यसको स्वादमा केसी पनि लट्ठिए । सँधै नपाइने भएपछि पोखरामै किन उत्पादन नगर्ने भन्ने सोच आयो । पूँजी थिएन । उद्योग खोल्छु भन्दा पत्याउने पनि कोही भएनन् । आफ्ना सहपाठीसँग कुरा गरे । कुरा मिल्यो व्यवसायी फणिन्द्रमान श्रेष्ठ, कृष्ण आचार्यले गण्डकी नूडल्समार्फत् सिन्के चाउचाउ उत्पादन गर्ने भए । तर, उद्योग घाटामा गयो ।
केसीले सोही समूहसँग साझेदारीमा २०३९ साल माघ २३ मा उत्पादन भयो रारा चाउचाउ । यो बेला केसीको राइसमिल पनि सञ्चालनमा आएको थियो । गण्डकी नूडल्सबाट रारा चाउचाउ हिमश्री फुड्समार्फत् उत्पादन हुन थाल्यो । चाउचाउ उत्पादनका लागि कम्पनीले नेपाल औद्योगिक विकास निगमबाट ३५ लाख रुपैयाँ ऋण लिएको थियो । १५ लाख रुपैयाँ केसीसहितको समूहले जुटाएको थियो । त्यतिखेर रारा चाउचाउमा ३० जनाको सेयर रहेको थियो । २०५८ सालसम्म आइपुग्दा उनीसँग रहेका अरु साझेदारहरु सबै बाहिरिए । ५० लाख रुपैयाँबाट सुरु भएको चाउचाउ उद्योगमा अहिले एक अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ ।
रारा चाउचाउ स्थापित भैसकेपछि भारतको म्यागी चाउचाउले रारा चाउचाउ खरिदका लागि प्रस्ताव गरेको थियो । तर, केसीले उद्योग बेच्न मानेनन् । त्यो बेला अरु साझेदारले बेच्न चाहिरहेका थिए । यहि विषयमा मतभिन्नता हुँदा त्यही बेला केही साझेदारले कम्पनी छाडिसकेका थिए ।
सूर्यबहादुरले भन्ने गर्थे, ‘विनोद चौधरीले पनि रारा चाउचाउ खरिद गर्न चाहेका थिए ।’ उनले बिक्री नगरेपछि चौधरीले वाइवाइ चाउचाउ नेपालमा भित्र्याए । केसीले चाउचाउ उद्योगलाई मात्र स्थापित गरेनन् । जलविद्युत्, निर्माण व्यवसाय, हाउजिङ्ग, बैंक, हस्पिटालिटी क्षेत्रलाई पनि स्थापित गराए ।
केसीले सन् २००५ मा हाइड्रोपावर क्षेत्रमा लगानी गरेका थिए । ४.८ मेगावाटको गण्डकी हाइड्रोपावरबाट सुरु गरेर १ मेगावाटको टास्क हाइड्रोपवार,१३ मेगावाटको सिकलेस हाइड्रोपावर, ४.५ मेगावाटको भगवती हाइड्रोपावरमा लगानी गरेका छन् । अप्पर मादी, अप्पर सेती, विजयपुर–२ जलविद्युत आयोजनामा समेत उनको लगानी छ । केसी ग्रुपअन्तर्गत हिमालयन गल्फ कोर्स, केसी हाउजिङ्ग, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट, नेपाल इन्जिनियरिङ्ग कलेज, कालिका मल्टिप्रपोज कलेजमा लगानी छ ।
नेपाल टुरिजम एन्ड होटेल म्यानेजमेन्ट नेपालको पहिलो पर्यटन अध्यापन गराउने कलेज हो । सूर्यबहादुरले पोखरालाई नै आधार मानेर राष्ट्रिय स्तरको बाणिज्य बैंक माछापुच्छ्रे बैंकलाई स्थापना गरेका थिए । माछापुच्छ्रे अहिले नेपालको बलियो बैंकमध्ये एक हो । केसी ग्रुपको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा पनि लगानी रहेको छ ।
……………….
राजा र राजनीतिसँग पनि उनको सम्पर्क घनिष्ठ रह्यो । सुरुमा राजनीतिमा उनको रुचि थिएन, तर, जसरी राजनीतिमा छिर्नुप¥यो, राजकीय सम्बन्ध पनि उनको विस्तार हुँदै गयो ।घरजग्गाको नक्सापासले राजनीतिमा छिरेका केसीलाई राजा वीरेन्द्रले मेरो सट्टा आफै उद्घाटन गर समेत भनेका थिए ।
‘त्यतिबेलाका प्रधानपञ्चले केसीको हालको वडा नं. १५ मा पर्ने घरको नक्सापासको काम रोकिदिए । बाटोमा पर्छ भनेर । त्यसपछि केसीले जवाफ फर्काए, भोलि म यही पदमा आउन सक्छु । मेरो नक्सापास नगर्ने ?’, यही इगोबाट उनी राजनीतिमा प्रवेश गरे । यो २०४१ सालको कुरा हो । वडा नं. १५ मा घर बनाउन लागेका थिए । तत्कालीन प्रधानपञ्चले नक्सापास गरिदिएनन ।
पछि कारणवश उपनिर्वाचन हुन पुग्यो । प्रतिष्पर्धी चाहिँ उनै प्रधानपञ्च थिए । उक्त निर्वाचन केसीले ४२ सय मतान्तरले जिते । पुन चाहिँ राष्ट्रिय पञ्चायत सदस्यतर्फ लागे । त्यसको दुई वर्षपछि फेरि पूर्ण कार्यकाल नगर पञ्चायतको चुनाव भयो । उनले २०४३ को चुनावमा काजीमानलाई भारी मतान्तरले पराजित गर्दै दुई कार्यकाल प्रधानपञ्च बने । त्यो पनि कम उमेरको इतिहासका सहित । २७ वर्षमा उनी नगरपञ्चायतको प्रधानपञ्च बन्ने कान्छो उम्मेदवार थिए । प्रधानपञ्च बनेपछि वडा कार्यालय, मुखिया राख्ने काम उनैले सुरु गरेका हुन् । २०४१ को उपनिर्वाचन र २०४३ मा गरि दुई कार्यकाल केसी प्रधानपञ्च भए । २०४६ सालमा पञ्चायत सकियो ।
पञ्चायतकालमा आन्दोलन चल्दै थियो, केसी बहुदलतिर खुलिसकेका थिए । पञ्चायत चुनाव जितेपनि केसीले आफ्नै कार्यकालबाट बहुदलको पक्षमा लाग्ने क्रान्तिकारी निर्णय गरे । त्यसपछि उनी लागे प्रतिनिधिसभा निर्वाचनतर्फ । बहुदलमा गइसकेपछि भने उनले प्रत्यक्षतर्फका चुनाव जितेनन् । २०५१ मा भने उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचनमा उठे ।
तत्कालीन कास्की २ बाट प्रत्यक्ष चुनाव लडेका केसी त्यतिबेला भने ११ हजार मतसहित तेस्रो बने । त्यसपछि भने उनले प्रत्यक्षतर्फको चुनाव लडेनन् । तर, दुई–दुईपटक समानुपातिक सांसद बने । राप्रपाकै तर्फबाट २०६४ सालमा उनी समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका थिए ।पछिल्लोपटक उनी २०७३ सालमा राप्रपाबाट बाहिरिएर कांग्रेस प्रवेश गरेर समानुपातिक सांसद बनेका थिए ।
……………………
कांग्रेसमा प्रवेश नगर्दासम्म उनी राप्रपामा थिए । राप्रपाका केन्द्रीय कोषाध्यक्ष समेत रहेका केसीलाई राजावादी भन्थे । हुन पनि उनको राजासँगै पारिवारिक सम्बन्ध थियो । निकट सम्बन्धका कारण तत्कालीन राजा वीरेन्द्रले यतिसम्म भनेका थिए,‘उद्घाटन कार्यक्रममा म आउँदिन मेरो तर्फबाट तिमीले नै गर ।’
माओवादीसँग उनको सँधै विपरीत सम्बन्ध रह्यो । त्यतिबेला क्षेत्रबहादुर केसीलाई माओवादीले गोली प्रहार गरेका थिए । २०६२–०६३ मा क्षेत्रबहादुरको निधन भएपछि उनलाई ज्यानको धम्की आयो । जेठा छोराको विवाहको पार्टी कार्यक्रममा उनी उपस्थित नै भएनन ।
………………….
सूर्यबहादुर केसी जहिल्यै एउटा कुरामा डराउँथे । त्यो थियो, यत्रो व्यावसायिक साम्राज्य छाडेर छोराहरु अन्तै लाग्छन कि भन्ने । कुराकानीको दौरानामा केसी ग्रुपका डाइरेक्टर किरण केसीले बुबासँगको सम्झना सुनाए, ‘बुवाले जहिले हामीलाई आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्नुहुन्थ्यो । उहाँको मतलब पोखरा नै रहेर व्यवसाय सम्हाल्ने भन्ने थियो । नेपालका सबै ठुला व्यावसायिक घरानाहरु काठमाडौं केन्द्रित रहेको हुँदा पोखराबाटै व्यवसाय चलाउने बारेमा उहाँको अडान थियो । हामीलाई जहिले पनि आफ्नै ठाउँबाट केही गर्नुपर्छ भनेर उत्प्रेरित गरिरहनुभयो ।’
हुनपनि पोखराबाट सञ्चालन हुने देशकै प्रख्यातमध्येको एक व्यावसायिक घराना नै केसी गु्रप हो भन्दा पनि फरक पर्दैन ।चाउचाउबाट सुरु भएको केसी ग्रुपको साम्राज्य निर्माण, जलविद्युत, बैंक, शिक्षा हुँदै अब अपार्टमेन्टतर्फ लागेको छ । केसी ग्रुपको स्थापनाको चार दशकमा उसका विविधतायुक्त साम्राज्य झनै फैलिँदै गइरहेको छ ।पाँचभन्दा बढी क्षेत्र, तीन दर्जनजति आयोजनाको केसी ग्रुपको विशाल साम्राज्य सूर्यबहादुर केसीले दोश्रो पुस्तामा बनाए ।
क्रान्ति गर्दैछ, तेश्रो पुस्ता
केसी ग्रुपको साम्राज्य सूर्यबहादुरको निधनपछि के गर्छ त ? यो चासो आम नागरिकको भन्दा बढि व्यावसायिक घरानाकै रह्यो, र रहिरहेछ । सूर्यबहादुरका तीन छोराहरु, प्रकाश, किरण र रोशनले कसरी विरासतलाई अगाडि बढाएका छन त ?निर्माणबाट जलविद्युतसम्म आइपुगेको केसी साम्राज्य अब के गर्छ त ? विविधता रुचाउने केसी ग्रुपको लक्ष्य के हो ?तेश्रो पुस्तामा यो प्रश्न र चुनौती दुवै छ ।उनीहरुलाई हजुरबुबाले अघि सारेको सिद्धान्त थाहा त । त्यो भनेको, सामाजिक क्षेत्रमा पनि सेवा पुग्ने व्यवसायलाई अगाडि बढाऔँ ।किरण केसी भन्छन,‘हजुरबुबाले सुरु गर्नुभयो, बुवाले रफ्तार बढाउनुभयो ।’
उनलाई थाहा छ, अहिले रारा चाउचाउको मासिक बजार मात्रै ६० अर्बको छ । त्यसलाई कसरी अगाडि बढाउने भन्ने सोचमा उनी लागिरहेका छन ।चाउचाउ पश्चात नयाँ क्षेत्रमा लगानीको विषयमा सूर्यबहादुरले छोराहरुसँग छलफल गरेका थिए । बाबु र तीन छोराले निष्कर्ष निकाले, अब जलविद्युतमा लगानी गर्नुपर्छ ।
त्यो किन ?
केसी भन्छन, ‘देशको अर्थतन्त्रलाई के टर्निङ पोइन्ट हुन सक्छ भन्ने कुरा आयो । हामीले हाइड्रोपावर भन्यौँ । बुवाले सार्वजनिक कार्यक्रममा पनि के भन्नुहुन्थ्यो भने, १० हजार मेगावाट जलविद्युत उत्पादन भयो भने एकजना नेपालीले मासिक ३÷४ लाख खर्च गर्न सक्ने क्षमता बन्न सक्छ । यसले अर्थतन्त्र सुदृढ हुन्छ ।नेपालले अहिले भारतमा विद्युत बेचेर आम्दानी लिएको अहिले नजीर पनि छ ।बुवापश्चात हाम्रो पुस्तामा आउने बेलामा हाइड्रोपावर, बैंकदेखि लिएर सबै पब्लिक लिमिटेड कम्पनीमार्फत गर्न थाल्यौँ । हजुरबुबाले केसी ग्रुपबाट सु्रु गर्नुभयो । हामीले चाहिँ हाम्रोमात्र नभई सबैको हुनुपर्छ भन्ने सोचेर पब्लिक लिमिटेडमा जाने भन्ने सोच्यौँ ।युनाइटेड इदि मर्दि पब्लिक कम्पनीमा गइसक्यो । बैंकहरु त भइहाले । सिक्लेस , भगवती हाइड्रोपावरको शेयर खुला गरेका छौँ । इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स पनि भइहाले ।’
बर्दियामा रारा चाउचाउकै नयाँ प्लान्ट बनेर उत्पादन सुरु भएको छ । ८ महिनादेखि उत्पादन सुरु भएको बर्दियाको प्लान्ट पोखराको भन्दा पनि ठूलो छ । त्यसलाई पनि छिटै पब्लिक कम्पनीमा जाने सोच छ । यो प्लान्ट पनि सूर्यबहादुर केसीले नै सुरु गरेका थिए ।रारा चाउचाउ मात्रै क्यानडा, अमेरिका, बेलायत, इटली, पोर्चुगल, जापान, तिब्बत निर्यात हुँदैछ । चाउचाउको निर्यातको मात्रा बढेको उनले बताए ।हाउजिङ अपार्टमेन्टसँगै केसी ग्रुपले काठमाण्डौ विशालबजारमा पनि अपार्टमेन्ट बनाउने तयारीमा छ । निर्माणको क्षेत्रमा चाहिँ देशको टप पाँचमा केसी कन्स्ट्रक्सन पनि पर्दछ ।
……………..
उनीहरुले कहिल्यै काठमाडौं रोजेनन ।
२०० वर्षदेखि हामी पोखरमा छौँ । बुवाले पनि ‘जहाँ जन्म्यौँ, त्यहीँ गर्नुपर्छ’ भन्नुहुन्थ्यो । हाइड्रो पनि हामीले पोखरामा नै सुरु गरेका हौँ । कसैले सुरु नगर्दा, संकटकालमा सुरु भएको हो । हामीले पनि काम गर्ने क्षमता त्यही बेला विकास गरेका हौँ ।बुवा राप्रपाको हुनुहुन्थ्यो, संकटकालमा माओवादी चाहिँ छ्यापछ्याप्ति थिए । डोजरहरु जलाइदिए पनि । धेरै कुराहरु कब्जा पनि गरे । संकटकालका समयमा धेरै गाह्रो थियो । तर, बुवाले संघर्ष गर्न चाहिँ छाड्नुहुन्न भन्नुहुन्थ्यो । र, पोखरा छाड्नुहुन्न भन्ने कुरा उहाँले सम्झाइरहनुहुन्थ्यो ।
काठमाडौंमा चाहिँ तीन भाइमध्ये १ जना काठमाडौंमा बसेतापनि पोखरा चाहिँ छाड्नुहुँदैन भन्ने थियो ।अर्को कुरा, समाजलाई बलियो बनाउने, फाइदा हुने काम मात्र हामीले गर्नुपर्छ भनेर भन्नुहुन्थ्यो । हजुरबुवाले बुवालाई, बुवाले हामीलाई त्यही शिक्षा दिनुभयो । आउँदो दिनमा चाहिँ हामी अब होटेलमा पनि अगाडि बढ्छौँ ।
काठमाडौं राजधानी त हो, तर हामीलाई काठमाडौं नै बस्नुपर्छ भन्ने लागेन । हामीले पोखरालाई नै आधार बनायौँ । कान्छो भाइ चाहिँ काठमाडौं नै छ । हामी दुई दाजुभाई चाहिँ पोखरा नै छौँ । अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ, त्यसले पनि पोखरा अझै ओपन बन्छ भन्ने लागेको छ । हामीले सेक्टर बाँडेर हेरेका छौँ । व्यावसायिक काम हामी मिलेर नै गरेका छौँ, यो उदाहरण पनि हो ।मैले हाइड्रोपावर र पोखराको रनिङ अपार्टमेन्ट, सनलाइफ हेरेको छु । दाइले हिमश्री फुड्स र हेभी इक्वेपमेन्टको काम हेर्नुभएको छ । भाइले चाहिँ केसी कन्स्ट्रक्सनको गभर्मेन्ट प्रोजेक्ट, बैंकिङ सेक्टर हेर्ने गरेको छ ।
चिरानी, कुटानी हुँदै सुरु भएको केसी ग्रुप
कीर्तिबहादुर र उनका छोरा सूर्यबहादुरले केसी ग्रुपको स्थापना गरे । सुरुवाती दिन केसी ग्रुपले सबैभन्दा पहिले काठमिलको काम ग¥यो । भर्खरै आवादी विस्तार हुन थालेको तीसको दशकमा काठमा भविष्य देखेका उनीहरुले त्यसपछि नै हो उद्योगमा हात हालेको ।
२०३९ माघ २३ मा उत्पादन भयो रारा चाउको उत्पादन सुरु भएपछि उद्योग क्षेत्रमा केसी ग्रुप प्रवेश ग¥यो । निर्माण क्षेत्रमा भने त्यसअगावै केसी कन्स्ट्रक्सन नामी कम्पनी भइसकेको थियो ।अहिलेको पोखरा क्षेत्रीय विमानस्थलको टर्मिनल भवन जोइन्ट भेन्चरमा निर्माण गरेपछि केसी ग्रुप अन्तर्गको केसी कन्सट्रक्सन निर्माणमा होमिएको थियो । सन १९९५ मा सुरु भई १९९७ मा उक्त भवन निर्माण सम्पन्न भएको थियो । त्यसयता केसी कन्स्ट्रक्सनले निर्माणका क्षेत्रमा पछाडि फर्किनु परेन ।
सोही वर्ष उसले पुल्चोक इन्जिनियरिङ कलेजको होस्टेल भवनमा पनि हात हाल्यो र तीन वर्षमा सम्पन्न ग¥यो । केसी गु्रप जलविद्युतमा लागेको चाहिँ सन् १९९५ मा नै हो । ४.५ मेगावाटको मर्दीखोला जलविद्युत आयोजना केसी गु्रपको जलविद्युत क्षेत्रमा लागि पहिलो आयोजना हो । तत्कालीन समयमा ३९ करोड ५८ लाख लागतमा बनेको यो आयोजना सन् २००० मा सम्पन्न भएको थियो ।
यो आयोजनाबाट अहिले निरन्तर विद्युत उत्पादन भइरहेको छ ।टास्क हाइड्रोपावर, मड्क्या खोला जलविद्युत आयोजना, अपरमादी जलविद्युत परियोजना सम्पन्न भइसकेका छन । करुवा सेती, अपर सेती, विजयपुर खोला (दोश्रो) जलविद्युत आयोजना पनि केसी ग्रुपकै हुन ।निर्माणका क्षेत्रमा आर्मी हेर्डक्वार्टरको पुनर्निमार्णदेखि सिन्धुलीमा विद्यालय भवन निर्माण, भक्तपुर जिल्ला अदालत, सिटी हल, मुख्यमन्त्रीहरुको निवास बनाउने काम पनि केसी कन्स्ट्रक्सनले गर्दैछ ।
सराङकोटमा सूर्योत्थान रिसोर्ट
केसी ग्रुपको अनगोइङ प्रोजेक्ट हो, “सूर्योत्थान रिसोर्ट ।” निर्माण नसकिँदै यसको बुकिङ पनि सुरु भइसकेको छ । यो प्रोजेक्ट केसी ग्रुपका डाइरेक्टर किरण केसीले हेरिरहेका छन । हिमाल, फेवाताल, पोखरासहित बजार क्षेत्र, वरपरको सुन्दर हरियाली दृश्य एक साथ अवलोकन गर्न पाउनु नै यहाँको मज्जा हो ।सराङकोटमा अत्याधुनिक सुविधासम्पन्न अपार्टमेन्ट निर्माण भइरहेको छ । नेपालका दुई प्रतिष्ठित व्यावसायिक घराना केसी ग्रुप र केयल ग्रुपको संयुक्त लगाानीमा ‘सूर्योत्थान लक्जरी अपार्टमेन्ट’ निर्माण भइरहेको छ । ३ वटा ब्लकमा १ सय ४१ वटा अपार्टमेन्ट रहने गरी अहिले अपार्टमेन्टको निर्माणकार्य भइरहेको छ । १८ रोपनी जग्गामा निर्माण भइरहेको अपार्टमेन्टको बुकिङ जारी रहेको उनले बताए ।
अबको लक्ष्य, होटेलमा लगानी हाइड्रो इनर्जीमा क्रान्ति
केसी ग्रुपले अब नयाँ के गर्नेछ र गर्दैछ त ? निर्माण, उद्योग, जलविद्युतमा नाम अजमाइसकेपछि केसी ग्रुपले अब के चाहेको छ त ?किरण भन्छन, ‘सबैभन्दा ठुलो चाहिँ हामीले देखेको इनर्जी सेक्टरमा नै हो । हाइड्रोपावर सुरु गर्नेमध्येमा हामी अगाडि नै पर्र्छौँ । अहिले हाइड्रोजन इनर्जी (ग्रीन हाइड्रोजन) को कुरा आइरहेको छ ।’
हाइड्रोजन ऊर्जा, जैविक उर्जा र ब्याट्रीमा–आधारित यातायात प्रणालीहरूको प्रतिस्पर्धी समाधानको रूपमा आउँदैछ । हरित हाइड्रोजन नेपालको यातायात क्षेत्रको लागि भविष्यको इन्धन हुन सक्छ, जसले आयातित जैविक उर्जाको निर्भरता र यसद्वारा प्रेरित प्रदुषण कम गर्दछ । यही उर्जा नेपालमा उत्पादन गर्ने उद्धेश्यमा केसी ग्रुपको तेश्रो पुस्ता लागिपरेको छ । हाइड्रोपावरबाट निस्केको पानीलाई वाफ बनाउने, हाइड्रोजन छुट्याउने र त्यसबाट उर्जा निकाल्ने प्रविधी हो । यसको अध्ययन नेपाली वैज्ञानिकहरुले पनि गरिरहेका छन र तीनै वैज्ञानिकसँग केसी ग्रुप निरन्तर समन्वयमा छ ।
यसको अध्ययन सूर्यबहादुर आफैले सुरु गरेका थिए । यही सोचलाई उनका छोराहरुले अगाडि बढाउन खोजेका छन । अमेरिकामा यो प्रविधीबाट उर्जा उत्पादन भइसकेको छ । यसले नेपालको अर्थतन्त्रलाई बढाउन र उर्जा उत्पादनमा पनि सम्भावित देश रहेको अध्ययनले देखाएको छ ।यही प्रविधिबाट उर्जा निकाल्ने र त्यसको लागि पोखरा उपयुक्त हुने भएपछि केसी ग्रुपले यसलाई विशेष चासो दिएको छ ।
केसी ग्रुपका तीन डाइरेक्टर
केसी ग्रुप अहिले तीन दाजुभाईले हाँकिरहेका छन । हजुरबुबाले स्थापना गरेको, बुवाले फैलाएको केसी ग्रुपका कामहरु उनीहरुले बाँडेर हेर्ने गरेका छन । केसी ग्रुपका तीन डाइरेक्टरले अहिले सम्हालेको क्षेत्र :
प्रकाश केसी
सूर्यबहादुरका जेठा छोरा हुन प्रकाश केसी । उनी पोखरामा नै रहेर ग्रुपको काम सम्हालिरहेका छन । ग्रुपअन्तर्गत उनले चाउचाउ उत्पादन गर्ने हिमश्री फुड्स प्रालि हेर्ने गरेका छन । त्यसबाहेक केसी कन्स्ट्रक्सनको हेभी इक्विपमेन्टको काम पनि उनले नै हेर्ने गरेका छन ।
किरण केसी
किरण केसीले जलविद्युत, बिमा, अपार्टमेन्टको काम हेरिरहेका छन । निर्माण भइसकेका देखि निर्माणाधीन आयोजनामा किरण खटिइरहन्छन । केसी ग्रुपले बनाएका जलविद्युत, पोखराको सराङकोटमा निर्माणाधीन अपार्टमेन्ट, सनलाइफ इन्स्योरेन्स कम्पनी उनले हेर्ने गरेका छन ।
रोशन केसी
जलविद्युतमा बढि फोकस भएपछि केही समय केसी कन्स्ट्रक्सको काम केही सुस्तायो । निर्माण क्ष्ोत्रमा नेपालकै नामी कम्पनीलाई गति दिन सूर्यबहादुरका कान्छा छोरा रोशन अगाडि बढेका छन । देशभरि नै भवन देखि सडकसम्म, सिँचाइ, आवास गृहका काम गरिरहेको केसी कन्स्ट्रक्सन रोशनले हेर्ने गरेका छन । गभर्मेन्ट प्रोजेक्टसहित उनले बैंकिङ सेक्टर हेर्ने गरेका छन ।





